Wednesday, March 17

गिरिजा बाबु को स्वास्थ्यमा सुधार

काठमाडौ, चैत्र २ - 
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा केही सुधार आएको छ । अचानक छाती र पिसाबमा संक्रमण बढेर कमजोर भएपछि चिकित्सकहरूकै सल्लाहमा उनलाई आइतबार भर्ना गरिएको थियो ।

'आइतबार स्थिति गम्भीर थियो, सोमबार सुधार भएको छ,' कोइरालापुत्री  परराष्ट्रमन्त्री सुजाताले कान्तिपुरसँग भनिन्, 'केही बोल्न सक्ने हुनुभएको छ, घर जानुपर्छ भन्न थाल्नु भएको छ ।'

कोइरालाको स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेता बाबुराम भट्टराईलगायत वरिष्ठ नेता, मन्त्री, कार्यकर्ताको बिहानदेखि बेलुकासम्म अस्पतालमा भीड लागेको थियो । राष्ट्रपति यादव बिहानै पुगेका थिए भने प्रधानमन्त्री नेपाल अपराह्न । 

चिकित्सकसमेत रहेका राष्ट्रपतिले सुरुमै अस्पतालका रिपोर्टहरू अध्ययन गरेका थिए । त्यसपछि उनले उपचार प्रक्रिया बुझे । 

'सबै ठीक छ' भन्दै कोइरालाको स्वास्थ्यलाभको कामना गरे । एक सहयोगीका अनुसार नेताहरूबाट स्वास्थ्यलाभको कामना गरिराख्दा कतिपय बेला कोइरालाले 'मलाई अहिल्यै केही हुँदैन' भनेर आत्मविश्वाससमेत बढाएका थिए । 

प्रधानमन्त्री नेपाल अपराह्न ५ बजे पुगेर करिब पन्ध्र मिनेट बसेर निस्केका थिए । जानासाथ उनले कोइरालालाई फूलको गुच्छा दिँदै स्वास्थ्यलाभको कामना गरे । 'गिरिजाबाबु तपाईंको स्वास्थ्यमा चाँडो सुधार आओस्,' उनले थपे, 'उपचारका लागि विदेशबाट चिकित्सक झिकाउनुपरे पनि, विदेश लान परे पनि सहयोगमा सरकारले कुनै कसर बाँकी राख्दैन ।' भेटेर फर्केपछि प्रधानमन्त्रीले कोइरालामा सुधारोन्मुख भएको छोटो प्रतिक्रिया दिए । 

सुजाताका अनुसार कोइरालाले आफूलाई सहज अनुभव गरेपछि दिउँसो पत्रपत्रिकामा छापिएका समाचार सुनाउन भने । 'प्रमुख केही पत्रिकाका मुख्य समाचार मैले पढेर सुनाइदिएँ,' उनले भनिन्, 'चिकित्सकले बोल्न नदिएकाले उहाँले समाचारको कुनै प्रतिक्रिया जनाउनु भएन ।' 

कार्यवाहक सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भएको छलफल 'बि्रफिङ' गरेका थिए ।  

चिकित्सकहरूका अनुसार स्वास्थ्य सुधारोन्मुख छ । रगतमा 'हेमोग्लोबिन' को मात्रै बढेको छ । उनलाई सोमबार पनि रगत दिइएको थियो । उपचारमा संलग्न चिकित्सक मनबहादुर केसीले दसग्राम होमोग्लोबिन पुग्नासाथ घर पठाउन सकिने बताएका छन् । सुजाताले भने केही दिन अस्पतालमै राख्ने बताइन् । कोइरालाले सोमबार साँझ 'प्राउन' खान इच्छा व्यक्त गरेका थिए । 

'औषधि र पानी आफैं खान सक्नुहुन्छ,' उनले भनिन्, 'सुप, जाउलो त दिउँसोदेखि नै खाना सुरु गर्नुभएको छ । बेलुका त आफैंले प्राउन ल्याइदेऊ भन्नुभयो । उहाँले प्राउन पहिल्यैदेखि मन पराउनु हुन्छ ।'

go up