Saturday, March 13

गल्तिप्रति छमायाचना गर्दै गिरिजा


 नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अहिले गम्भीर अस्वस्थ हुनुहुन्छ। 

अहिले उहाँ विगतका गल्तीप्रति क्षमायाचना गर्दै हुनुहोला वा नहोला तर बिहीबार सार्वजनिक भएको एक पुस्तकमा कोइरालाले भन्नुभएको छ- ‘सुत्ने बेलामा हरेक दिन आफूले गरेका गल्तीलाई लिएर आफैसँग माफी माग्छु।’ उहाँले पुस्तकमा आफूले अझै चुरोट खाइरहेको भन्ने मजाक पनि गर्नुभएको छ। तर, त्यो चुरोट खुवाइ बिपनामा होइन, सपनामा रे ! 


चुरोट प्रसंगमा उहाँले थप्नुभएको छ- ‘शेरबहादुरजीहरू यहाँ (आफ्नो निवास) बैठक भएको बेला तल्तिर गएर लुकेर खान्छन् तर म यहाँसम्म गन्ध अनुभव गर्छु । ‘क्रोधमा पनि शक्ति हुन्छ तर त्यसलाई सकारात्मक रूपमा प्रयोग गर्नुपर्छ’ -८६ वर्षको कोइरालाले भन्नुभएको छ। आफूले रक्सी खान छाडे पनि अरूलाई खुवाएर आनन्द लिने गरेको रोचक प्रस• पनि कोइरालाले पुस्तकमा खोल्नुभएको छ। 

नेपाल समाचारपत्रका समाचार सम्पादक व्याकुल पाठकद्वारा लिखित पुस्तक ‘चर्चित व्यक्तित्व’ मा कोइरालासमेत वर्तमानका २२ चर्चित व्यक्तित्वसँगका अन्तरंग संवाद समावेश गरिएका छन्। 
‘विवाद टुंगिएर सर्वमान्य राष्ट्रपति बन्ने इच्छा छ’, मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भन्नुभएको छ- ‘पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटा, विद्यापति, रामनारायण मिश्र आदिले इँटा थपेर गएको ठाउँमा आफ्नो इतिहास बनाउने अवसर पाएको छु। यो अवसरको सदुपयोग गर्छु ।

पुस्तकमा राष्ट्रपति पूर्वपहलमान पनि भएको कुरा उल्लेख छ। यी पूर्वपहलमानको गाउँले जीवन गाई-भैंसीलाई घाँसपरालले सन्तुष्ट पार्नु र जोरी खोज्न आउनेलाई धूलो चटाउनुमा बितेछ। राष्ट्रपतिले पशुपतिनाथसँग तुलना गर्दै एक ठाउँमा भन्नुभएको छ- ‘मेरा लागि गिरिजाबाबू पनि नाथ नै हो नि !’

एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले पुस्तकको एक प्रसंगमा भन्नुभएको छ- ‘देशको यो स्थिति अब लामो समय रहँदैन।’ उहाँले अगाडि भन्नुभएको छ- ‘अब देशले नयाँ गति लिन्छ।’ उहाँले नयाँ संविधान बनेपछि वा तेस्रो जनआन्दोलनपछि मात्र मुलुक साँच्चिकै स्वतन्त्र हुने कुरा पनि बताउनुभएको छ। 

‘चमत्कार’ भन्न रुचाउने प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिँदा अन्तिम अनुच्छेदमा मात्रै त्यससम्बन्धी प्रसंग राखेर आर्श्चर्यमा पारेको कुरा पुस्तकका लेखकले गर्दा उहाँलाई पनि मजाले घत् परेछ र हाँस्नुभएछ । ‘पुराना विचारका केही मान्छे जम्मा भएर यसलाई अब प्रचण्ड भन्नु भएन पुष्पकमल दाहाल भन्नुपर्यो भनेर निर्णयगरेछन्। दाहाल-दाहाल भन्दा मेरो क्रान्तिकारी छवि तेजोवध हुने उनीहरूको मूल्यांकन रहेछ, मलाई पुष्पकमलभन्दा प्रचण्ड नै मन पर्छ’ -आफ्नो नामबारे प्रचण्डको कथन छ। 

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ व्यवस्थापिका प्रमुखको पदमा ³याटि्रक गरेको भन्दा मजैले हाँस्नुभएको प्रसंग पुस्तकमा उल्लेख छ। प्रायः गम्भीर मुद्रामा देखिने उहाँ ’भर्खरको हुँदा राष्ट्रिय सभामा लगिएको र बूढो भएपछि प्रतिनिधिसभामा लगिएको’ सम्झिएर पनि खितखिताउनुभएछ। 

श्रीमती लौका बोकेर भर्याङ चढ्दै गर्दा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल जोसिनुभयो- ‘अन्तरजातीय विवाह गरे पनि परिवारमा खुसी नै छ।’ उहाँले स्वाभिमानी मानिसले मुलुकको नेतृत्व नगरेसम्म देशमा विदेशी हस्तक्षेप कायम रहने भन्दै एक प्रसंगमा भन्नुभएको छ- ‘लेखेर राख्नुस्, राज्यको प्रमुख पदमा पुगेपछि पनि अहिलेका कुनै विचार फेर्दिनँ।’ मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमाओवादीको भ्रातृ संगठनजस्तो भन्ने आरोपको प्रतिवाद गर्दै बीसौं करोड लगानी गरेर आफ्नो पार्टी फुटाइएको र अवसरवादी केहीबाहेक अरू आफ्नै पार्टी र्फकने बताउनुभएको छ। मधेसी भएर पनि भारतविरोधी हुनुभित्रको रहस्यको पोकोसमेत उहाँले यसै पुस्तकमा खोल्नुभएको छ । 

उद्योगी तथा सभासद् विनोद चौधरीको सफल हुने सूत्र रहेछ- ‘कुनै पनि कामलाई सानो मान्नु हुँदैन।’ गैरआवासीय नेपालीका प्रभावशाली नेता डा. उपेन्द्र महतोको धन कमाउने सूत्र रहेछ- ‘ठूलो मन।’ 

मुलुकमा ऐतिहासिक संविधानसभाको निर्वाचन हुँदा प्रमुख निर्वाचन आयुक्त रहनुभएका भोजराज पोखरेलले संविधानसभाको चुनाव दुई पटक स्थगित गर्दा निर्वाचन आयोगमा दलका कार्यकर्ताले तोडफोड गर्लान् भनेको त खुसी व्यक्त गरेकोमा आर्श्चर्य लागेको बताउँदै सो निर्वाचनबारेका थुप्रै अनुद्घाटित रहस्य पुस्तकमा खोल्नुभएको छ।

२०६५ सालको सेरोफेरोमा चर्चित रहेका २२ पात्रलाई समेटेर पत्रकार पाठकले ‘चर्चित व्यक्तित्व’ नाममा निबन्धात्मक जीवनी प्रकाशनमा ल्याएका छन्, जसलाई लेखक पाठक तथा प्रकाशक रत्न पुस्तक भण्डारका प्रबन्धक गोविन्द श्रेष्ठले बिहीबार केही लेखक तथा पत्रकारसामु सार्वजनिक गरेका हुन् । कुनै पनि तथ्यलाई नबिगारी तर इतिहासजस्तो नीरस पनि नबनाई प्रस्तुत गर्नु नै यो पुस्तकको विशेषता रहेको लेखक पाठकले विमोचन कार्यक्रममा बताए। यो पुस्तकको अर्को खण्ड पनि प्रकाशनको तयारी भइरहेको प्रकाशक श्रेष्ठले जानकारी दिए। 

पुस्तकमा भागवतवाचनबाट समाजका लागि सहयोग जुटाउने पण्डित दीनबन्धु पोखरेल, साहित्यकार जगदीश घिमिरे, चित्रकार किरण मानन्धर, अधिकारकर्मी सपना मल्ल प्रधान, जुझारू नेत्री रामकुमारी झाँक्री, गायिक अञ्जु पन्त, खेलाडी नेरी थापा, कानुनव्यवसायी विश्वकान्त मैनाली, वृद्ध उमेरमा सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने मीनबहादुर शेरचन, नेपालमा विमान बनाउने विकास पराजुली र गणेशराम सिंकेमन, सेतीपुलको खोंचमा खसेकी बालिकाको उद्धार गर्ने साहसी बालक कमल नेपाली तथा नेपाली चलचित्र इतिहास नै बनिसकेका भुवन केसीसमेत अटाएका छन्।

go up