Saturday, March 13

सेनाको गोली ले ३ को मृत्यु


गुलरिया, फाल्गुन २७ -
बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा बुधबार राति निकुञ्ज सुरक्षार्थ खटिएको ज्वालादल गणका सेनाले गोली चलाउँदा १२ वषर्ीया बालिकासहित तीन महिलाको मृत्यु भएको छ ।

गोली लागी सुर्खेत हरिहरपुर-२ बस्ने १२ वषर्ीया बालिका चन्द्रकला विक, ३३ वषर्ीया अमृत विक र ३५ वषर्ीया देवीसरा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । घटनास्थलबाट सोही ठाउँ बस्ने कृष्णबहादुर विक पक्राउ परेका छन् । 





सेनाले चोरी सिकारीबीच भिडन्त भएको बताए पनि घाँस काट्न गएका महिलामाथि गोली प्रहार भएको स्रोतले दाबी गरेको छ । घटनालगत्तै निकुञ्जका सबै अधिकारीको फोन र मोबाइल स्विच अफ गरिएकाले सम्बन्धित अधिकारीसँग सम्पर्क हुन सकेन । घटनास्थलबाट सुर्खेतको हरिहरपुर झन्डै ५ किमि टाढा छ ।

सदरमुकामदेखि करिब ३० किमि उत्तरमा रहेको बाँसपानीबाट शव परीक्षणका लागि बिहीबार राति गुलरिया ल्याइएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बेनीमाधव ज्ञवालीले घटनाबारे विवरण आई नसकेको जनाए ।

घटनास्थल दुर्गममा भएकाले विस्तृत सूचना नआउँदा घटना कसरी भयो भन्नेबारे यकिन नभएको उनले बताए । यता राजधानीमा सैनिक जनसम्पर्क निर्देशनालयले भने बिहीबार राति विज्ञप्ति जारी गरी गस्तीसँगको भिडन्तमा चोरी सिकारीको मृत्यु भएको दाबी गरेको छ । 'बाँसपानी इलाकामा सिकारीहरूले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खटिएको गस्ती टोली उक्त इलाकामा पुगेपछि सिकारीहरूसँग जम्काभेट भएको हो,' विज्ञप्तिमा छ । 'सिकारीहरूलाई गस्ती टोलीले चेतावनी दिँदासमेत उनीहरूले फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारबाही गर्दा तीन जनाको मृत्यु भएको,' दाबी विज्ञप्तिमा गरिएको छ । सेनाले चार जना फरार भएको जनाएको छ ।

go up