Sunday, March 21

शिखरपुरुष गिरिजा प्रसाद कोइराला

नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला एउटा यस्तो व्यक्तित्व हो, जसले आफ्नो लक्ष्य निर्धारण गरिसकेपछि कहिल्यै विश्राम लिन जानेन । लक्ष्यप्रति निरन्तर समर्पित भएर गतिशील रह्यो । तिनै कहिल्यै विश्राम लिन नजान्ने नेताले अहिले चिरविश्राम लिएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको आरम्भ (२००३/००४ साल) देखि आजसम्म जसले निरंकुशताविरुद्ध लोकतन्त्रका निम्ति आफूलाई समर्पित गर्दै आफ्नो लोकतान्त्रिक उचाइ निरन्तर बढाइरह्यो । गिरिजाप्रसाद कोइराला नेपालको सिंगो प्रजातान्त्रिक इतिहासको प्रतीक व्यक्तित्व हो ।
यति मात्र होइन, नेपालले आपसमा युद्ध जानेको छैन भनेर माओवादीले चलाएको त्यस युद्धलाई समाप्त पार्न अर्थात् शान्ति स्थापना गर्न पनि अग्रणी भूमिकामा रहेको व्यक्तित्वका रूपमा पनि हामी उहाँलाई चिन्छौँ । साथसाथै, नेपाललाई जुन-जुन वेला अप्ठेरो पर्‍यो, त्यो-त्यो वेला अग्रणी नेतृत्व दिएर त्यस अप्ठेरोबाट निकाल्ने अदम्य इच्छाशक्ति भएको व्यक्तित्वका रूपमा गिरिजाप्रसाद कोइरालाको उचाइ थपिँदै गयो । सामान्य अवस्थामा भन्दा पनि अप्ठेरो अवस्थामा नेतृत्व दिनसक्ने, पछि नहट्ने र नडग्ने नेताका रूपमा उहाँले भूमिका खेल्दै आउनुभयो । हरेस खाइसकेकालाई पनि ढाडस दिएर उहाँ अगाडि बढाउनुहुन्थ्यो, संघर्षका निम्ति प्रेरित गर्नुहुन्थ्यो ।
अझ उहाँमा एउटा यस्तो विलक्षण नेतृत्वशक्ति थियो— राजनीतिमा उहाँ आवश्यकताबाट निर्देशित हुन जान्नुहुन्थ्यो । जस्तो उहाँ कुनै समय कम्युनिस्टविरोधी हुनुहुन्थ्यो, पछि उसैसँगको सहकार्यबाट ४६ सालको जनआन्दोलन सफल भयो र प्रजातन्त्र पुनस्र्थापना भयो । गिरिजाप्रसाद कम्युनिस्टसँग मात्र होइन, पछिल्ला वर्षमा उग्र कम्युनिस्टसँग पनि शान्तिका र राष्ट्रका निम्ति सहकार्य गर्नुपर्छ भनेर लाग्नुभयो । निरंकुशताविरुद्ध लोकतन्त्र र शान्तिका निम्ति उहाँले कसैसँग सम्झौता गर्नुभएन । राजतन्त्रलाई बिदा गर्न पनि उहाँ तयार हुनुभयो । त्यसैले गिरिजाप्रसाद कोइराला नेपालको इतिहासमा एउटा लक्ष्यनिष्ठ उच्च व्यक्तित्व र व्यवहारकुशल नेताका रूपमा सम्भिmइरहनुहुनेछ । व्यक्तिगत कुराकानी र बहसका क्रममा उहाँ सबै कुरा खुलस्त भन्नसकिने व्यक्तित्वका रूपमा रहनुभयो । त्यसैले, इतिहासले गिरिजाप्रसाद कोइरालालाई शान्तिका लागि विश्रामरहित, लोकतन्त्रका लागि थकानरहित योद्धाका रूपमा चिन्नेछ ।


नेपाललाई उहाँले कहिल्यै एक्लो नेपालका रूपमा हेर्नुभएन । देशलाई बलियो पार्नका निम्ति अन्तर्राष्ट्रिय सहयोग-सम्बन्ध पनि चाहिन्छ, यो सम्बन्धलाई बलियो पार्नका लागि नेपाली जनताको मित्रता अरू देश र विश्वसँग हुनुपर्छ भन्नेमा पनि गिरिजाप्रसाद कोइरालाले व्यवहारबाटै देखाउनुभयो । चाहे त्यो लोकतान्त्रिक आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन होस् या नेपालको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर राख्न र विस्तार गर्न होस्, उहाँको भूमिका प्रशंसनीय रह्यो । नेपाल विश्वबाट पृथक् छैन, यसलाई विश्वसँगसँगै अघि बढाउनुपर्छ भन्ने आधुनिक सजगता उहाँमा थियो । लोकतन्त्र र शान्तिका लागि सहयोग र समर्थन जुटाउन उहाँको योगदान अमूल्य रह्यो ।

गिरिजाप्रसादको राजनीतिक जीवनमा जति आलोचनाहरू भए, ती अस्वाभाविक थिएनन् । ठूला मान्छेहरूकै आलोचना हुने हो, काम गर्दा सबै सहमत हुन्छन् भन्ने हुँदैन । तर, त्यस्ता आलोचनाले ठूला-ठूला काम गर्नेको उचाइ घटाउँदैन । ठूला मानिसको मूल्यांकन कुनै एक कामले नभई उसका सबै कामहरूको 'वासलात' हेरेर गरिनुपर्छ । वासलात हेर्दा सकारात्मक या नकारात्मक, कुन पाटोले जित्छ त्यहीअनुसार परीक्षण हुन्छ । यस हिसाबले गिरिजाप्रसादको उचाइ उहाँका थुप्रै अतुलनीय कामले निरन्तर बढाएकै देखिन्छ ।

अहिले आवश्यकताको सिद्धान्त विफल भएको छ । जतिवेला गिरिजाप्रसाद कोइरालाको अति जरुरी थियो, उहाँले चिरविश्राम लिनुभयो । बिछ्यौनामा सुतिरहेको गिरिजाप्रसाद होइन, एउटा सक्रिय गिरिजाप्रसादको मुलुकले आवश्यकताबोध गरिरहेको थियो । यदि सक्रिय हुन नसके पनि उहाँ रहनुभएको भए एउटा जाने ठाउँ छ, भन्ने ठाउँ छ, सुनाउने ठाउँ छ भन्ने सबैको साझा सम्मानित मार्गदर्शक हामीबीच हुने थियो । अब त्यो साझा ठाउँ रहेन । कांग्रेले सभापति गिरिजाप्रसाद कोइरालाको अभावलाई केही कालसम्म पूरा गर्न सक्दैन । त्यतिमात्र होइन, मुलुकलाई नै नेतृत्व दिन अब कुनै एक नेता वा कुनै एक पार्टीले सम्भव छैन । त्यसैले कोइरालाको अभाव नेपाली कांग्रेसमा पनि कुनै एकजनाले पूर्ति गर्नसक्ने म देख्दिनँ । सम्पूर्ण लोकतान्त्रिक शक्तिमा पनि एकजनाले त्यो अभाव पूरा गर्न सक्दैन । सम्पूर्ण नेपालको राजनीतिक जुन पक्ष छ, त्यसमा पनि उहाँको अभाव कुनै एकजनाले पूरा गर्नसक्ने म देख्दिनँ । नेपालको राजनीतिमा सर्वस्वीकृत अग्लो पुरुषका रूपमा गिरिजाबाबु पछिल्लो समय स्थापित हुनुभएको थियो । अहिले त्यो उचाइ प्राप्त गर्नसक्ने कुनै व्यक्ति नेपाली राजनीतिमा देखिँदैन । भविष्यमा त्यो उचाइ कसैले प्राप्त गर्न सक्ला । अहिले सबैलाई समेट्न सक्ने व्यक्तित्व भएको, त्यस्तो पृष्ठभूमि भएको, भूमिका भएको व्यक्तिको खाँचो थियो, आवश्यकता थियो । त्यो आवश्यकता अब अभावमा परिणत भएको छ । त्यो आवश्यकता सहजै पूरा हुन सक्नेछैन । त्यसैले त्यो अभावलाई नेपाली कांग्रेसले सामूहिक रूपमा पूर्ति गर्ने प्रयास गर्नुपर्छ । लोकतान्त्रिक शक्तिहरूले पनि आफूहरूबीचको एकताका बलले पूरा गर्ने प्रयास जरुरी छ । मुलुकका राजनीतिक शक्तिहरूले संवाद र सहकार्यलाई अगाडि बढाएर सामूहिक रूपमा मात्रै गिरिजाप्रसाद कोइरालाको अभावलाई पूरा गर्न सक्नेछन् ।

तैपनि, राष्ट्रिय जीवन अगाडि बढ्छ । गिरिजाप्रसाद कोइरालाको निधनबाट हुन गएको अभावको पूर्ति एकै व्यक्तिले पूरा गर्न नसके तापनि सामूहिक रूपमा त्यो अभाव पूर्ति गर्न उहाँको अभावले प्रेरणा प्रदान गरोस् भन्ने कामना मात्र हामी गर्न सक्छौँ । यसबाट हाम्रा जीवित नेताहरूले पाठ लिनुहुनेछ, सद्बुद्धि प्राप्त गर्नुहुनेछ र अहिलेका राजनीतिका जटिलतालाई फुकाउनुहुनेछ अनि गिरिजप्रसाद कोइरालाले सुरु गर्नुभएको लोकतन्त्रको यात्रा, संविधानसभामार्फत नयाँ संविधान निर्माणको यात्रा र शान्ति-प्रक्रियालाई टुंग्याएर मुलुकलाई अघि बढाउने यात्रालाई सामूहिक रूपले सम्बोधन गरेर सफलतामा पुर्‍याउनुहुनेछ भन्ने आशा लिनुपर्छ । गिरिजाप्रसाद कोइरालाको निधनबाट उत्पन्न भएको अभावलाई हामीले सामूहिक रूपमा प्रयास गरेर मात्र पूरा गर्न सक्छौँ । उहाँको ठाउँलाई एक होइन, अनेक व्यक्तिको सामूहिक स्वरूपले मात्र परिपूर्ति गर्न सक्छ ।

गिरिजाप्रसाद कोइरालाबाट अब शान्ति-प्रक्रिया, संविधान निर्माण र मुलुकलाई अघि बढाउन समग्र राजनीतिको नेतृत्व लिनेले सिक्नुपर्ने धेरै छ । कुनै लक्ष्य लिएपछि त्यसमा लागिराख्नुपर्छ, धैर्य गुमाउनु हुँदैन भन्ने उहाँको जीवनबाट लिनैपर्ने गुण हो । शान्ति-प्रक्रियालाई टुंगोमा नपुर्‍याई मुलुकमा अन्य कुराले उत्साह पाउनै सक्दैन । आर्थिक विकासका निम्ति पनि शान्ति-प्रक्रिया सफल हुनैपर्छ । द्वन्द्वका घाउहरू पुर्नका निम्ति पनि शान्ति-प्रक्रिया टुंगिनैपर्छ । जनताको एकता निर्माणका लागि पनि शान्ति स्थायी हुनैपर्छ । कानुनी शासनका लागि पनि यो सफल हुनैपर्छ । लोकतन्त्रलाई बलियो पार्न र नयाँ संविधान बनाएर लागू गर्न पनि शान्ति-प्रक्रिया सफलतापूर्वक टुंगिनुपर्छ । त्यसैले शान्ति-प्रक्रियाको निष्कर्ष आजको प्राथमिक आवश्यकता हो, यसलाई हामीले पूरा गर्नैपर्छ । त्यसैले यसका पक्षधरहरूले अथक रूपमा इमानदारीसाथ प्रयास गर्नु जरुरी छ । त्यो प्रयासका निम्ति शान्ति-प्रक्रियाका पक्षधरहरूलाई सँगै ल्याउन पनि जरुरी छ । त्यसका लागि सहकार्य र एकता जुटाउन दबाब दिनु पनि जरुरी छ । त्यसका लागि गिरिजाप्रसाद कोइरालाले उहाँकै शब्दमा 'राजनीति दाउमा राखेर' अथक प्रयास गर्नुभयो र सफल पनि हुनुभयो । नेपाललाई युद्धबाट जोगाउनुभयो । कोइरालाको प्रयासले आज मुलुक युद्धमा छैन, तर शान्तिस्थापना भइसकेको पनि छैन । हिजो युद्धकालका संरचनाहरू अहिले पनि कायमै छन् । विद्रोही सेनाको समायोजन र पुनस्र्थापन बाँकी नै छ । निजी हतियारहरू यथावत् छन् । यद्यपि, माओवादी शान्ति-प्रक्रियामा आइसकेको छ, यो प्रक्रिया सुरु भइसकेको छ । यसलाई एउटा साझा कार्यका रूपमा लिएर अगाडि बढ्न जरुरी छ । माओवादी र लोकतान्त्रिक शक्ति दुवैले गिरिजाप्रसादले उठान गरेको र उहाँसँगसँगै अघि बढेका नेताहरूले यसलाई सामूहिक रूपमै निष्कर्ष दिन जरुरी छ                                                                                                                          नया पत्रीकाबाट

go up