Tuesday, March 23

अन्तिम बिदाइका यि लहर


काठमाडौं, ८ चैत
नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको शवयात्रामा हजारौँ सर्वसाधारणले शवयात्रामार्गमै उपस्थित भएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । कोइरालाको पार्थिव शरीर राखिएको दशरथ रंगशाला जान नसकेका सर्वसाधारणले हातमा पुष्पगुच्छा लिएर शवयात्रामार्गको छेउछाउमा लामबद्ध भएर श्रद्धाञ्जली दिए 

हातमा पुष्पगुच्छा लिएका सर्वसाधारण शवयात्रामार्गको सडककिनार, घरका पेटी, झ्याल, छत र बरन्डामा कोइरालाको शवबाहन पर्खेर बसेका थिए । राष्ट्रप्रमुखको राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि गर्ने सरकारी घोषणापछि शवयात्रा हुने मार्ग दशरथ रंगशाला, सुन्धारा, आरएनएसी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर र गौशाला हुँदै पशुपति आर्यघाटसम्मकै सडककिनारमा सर्वसाधारणको अटुट लाम थियो 
सडककिनारमा वृद्धवृद्धा, बालबालिका र काखेनानीसहितका गृहिणी पनि कोइरालाको शवयात्रामा आफ्नो सहभागिता जनाउन उनको पार्थिव शरीरमा पुष्पार्पण गरिरहेका थिए । सर्वसाधारणले घरका छत, बरन्डा, सडककिनार तथा किनारका रूखमा समेत चढेर कोइरालाको शवयात्राको दृश्यचित्र पनि आ-आफ्ना मोबाइलमा कैद गरेका थिए । पुष्पगुच्छा अर्पण गर्नेको भीड शवयात्रामार्गभर रहेको थियो 
रंगशालाबाट दिउँसो दुई बजे शवयात्रा सुरु गर्ने निर्धारित कार्यक्रम रहे पनि कोइरालाको श्रद्धाञ्जलीका लागि आउने सर्वसाधारणको भीड नटुंगिएकाले एक घन्टा ढिलोगरी शवयात्रा सुरु भयो । सर्वसाधारणको आउनेक्रम नरोकिएपछि कोइरालाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आएका सर्वसाधारणलाई रोकेरै यात्रा सुरु भएको हो । रंगशालामा प्रवेश रोकिएपछि बाहिरै रहेका सर्वसाधारण कोइरालाको पार्थिव शरीर राखिएको बाहन कुरेर बसेका थिए 
दिउँसो तीन बजे रंगशालाबाट महानायक कोइरालाको शव फूलमाला र झन्डाले सजाइएको गाडीमा राखेर सैनिक सलामी र विभिन्न भजनधुन वादनसहित अर्यघाटतर्फ प्रस्थान गराइयो । शव राखिएको गाडीमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र कोइरालापुत्री तथा उपप्रधानमन्त्री सुजाता कोइराला शोकमग्न मुद्रामा सर्वसाधारणलाई अभिवादन गर्दै उभिएका थिए 
रंगशालामाथिको आकाशबाट शोकमग्न धुन एक तमासले आइरहेका वेला केशमुण्डन गरी टाउकोमा 'गिरिजाबाबु अमर रहून्' लेखेका युवा र मुलुकका विभिन्न भागबाट आएका कोइरालाका शुभेच्छुकहरू बहिर एकत्रित थिए । जीवनभर गिरिजाबाबुलाई टेलिभिजनको पर्दामा मात्र देख्न पाएका कतिपयले उनको पार्थिव शरीर हेर्न नपाउँदाको पछुतो आपसमा व्यक्त गरिरहेका थिए 
'मैले गिरिजाबाबुलाई आँखाअगाडि आजीवन हेर्न पाइनँ,' काभ्रे नाल्दुमबाट आएका नानीराम गिरीले सँगै पुष्पगुच्छा लिएर बसेका अर्का वृद्धलाई सुनाए । गिरीजस्ता हजारौँ शुभेच्छुक महानायक कोइरालाको पार्थिव शरीरमा पुष्पार्पण गर्न पर्खेर बसेका थिए 
बिहानै श्रद्धाञ्जली अर्पण गरेका कतिपय सर्वसाधारण भने पशुपति आर्यघाटमा दाहसंस्कार हेर्न आफ्नो स्थान सुरक्षित गर्न लागेका देखिन्थे । कतिपय रंगशालामै गएर पनि श्रद्धाञ्जली दिन नपाएको पछुतो व्यक्त गरिरहेका थिए । रंगशालाबाट शवबहान हिँडिनसक्दै पार्टीको झन्डा र ब्यानर बोकेका कांग्रेस कार्यकर्ताको अघिल्लो पंक्ति रत्नपार्क आइपुगेको थियो । उनीहरूले 'गिरिजाप्रसादको अभियान- शान्ति र संविधान' नारा लगाएका थिए 
अघिल्लो पंक्तिमा नारा लगाइरहेको कांग्रेस कार्यकर्ताको समूह रत्नपार्क आइपुग्दा शवबहान सुन्धारामा थियो । नारासहित अगाडि बढेको शवयात्रालाई बीच पारेर दायाँबायाँ लागेको मानव चाङ आर्यघाटसम्मै अभिच्छिन्न थियो । सुन्धारा, न्युरोड गेट, रत्नपार्क र बागबजारका आकाशेपुल पनि मानव पहाडजस्तै देखिन्थ्यो । रत्नपार्कको शान्तिवाटिकामा कोइरालाका सहयात्री गणेशमान सिंहको पूर्णकदको सालिकवरिपरी शोकमुद्रामा मानवसागर मौनधारण गरिरहेका थिए । लाग्थ्यो गणेशमान सिंहको प्रतिमा पनि आफ्ना राजनीतिक सहयोद्धाको शवयात्रामा एकैछिन मौनधारण गरिरहेको छ 
रत्नपार्क छिचोलेर कोइरालाको शवयात्रा बागबजार हुँदै पुतलीसडक पुग्दा आसपासका बाक्ला घरका छत, बरन्डा र पेटीमा उभिएका सर्वसाधारणका हातमा फूलका गुच्छा र माला थिए । उनीहरूले आफूअगाडि शवबाहन आएपछि फूल बर्साएका थिए । हातमा मोबाइल क्यामेरा लिएकाहरू शवयात्राको ऐतिहासिक दृश्यचित्र कैद गर्न तल्लीन थिए । छतबाट फूलसहित पानी पनि वषर्ाइएको थियो । किनाराका प्रायः सबै पसल बन्द थिए । शवयात्रा मार्गको आकाशेपुल, घरका झ्याल, छत, बरन्डा र पेटीबाट सर्वसाधारणले निरन्तर पुष्पगुच्छा बर्साएका थिए 
'उनी सबै पार्टीका नेता हुन्, अझ देशकै नेता हुन्, मैले भेट्न नपाए पनि बिदा गर्न सडकमा आएकी छु,' कोइरालाको शवयात्रा डिल्लीबजार उकालोमा पुग्दा सडककिनारमा लौरो टेकेर उभिएकी ७० वषर्ीया रमा भण्डारी भन्दै थिइन् । मुहारमा शोक र अनिश्चय दुवैको रेखा सबैखाले यात्रीहरूमा देखिन्थ्यो । सडक किनारमा रुद्राक्षका माला र चन्दन महानायक कोइरालाको शवमा अर्पण गर्नेको संख्या पनि उल्लेख थियो 
डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर बत्तीसपुतली हुँदै शवयात्रा अगाडि बढ्दा मानवसागर बढ्दो थियो । शवयात्रा जति गन्तव्यमा पुग्दै थियो, जन उपस्थिति व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको थियो । सडक र सडक किनार खाली थिएन, खचाखच थियो, त्यसैले यात्रा ढिलायो । मानवसागर छिचोल्दै कोइरालाको पार्थिव शरीर साँझ सात बजे पशुपति आर्यघाट पुर्‍याइएको थियो 
साना दलद्वारा दुःख प्रकट
काठमाडौं/ विभिन्न साना राजनीतिक दलले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति दुःख प्रकट गर्दै नेपालको शान्ति र संविधान निर्माण एवं नेपालको राजनीतिमा अपुरणीय क्षति भएको जनाएका छन् 
फोरम, राप्रपा, राजपा, राप्रपा/राजपा संयुक्त कार्यसम्पादन समिति, ताम्सालिङ नेपाल राष्ट्रिय दललगायतकाले आइतबार अलग-अलग विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति गहिरो दुःख प्रकट गरेका हुन् । ती दलले सहमति, समझदारी, सहकार्य र एकताको राजनीतिको महत्त्व बढेकोसमेत जनाएका छन् 
फोरमले शान्तिप्रक्रिया निष्कर्षमा नपुग्दासम्म र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नबनुन्जेल नेपाली जनताले कोइरालाको उपस्थिति खोजिरहेकै वेला दुःखद निधन भएको जनाएको छ । नेपा साम्यवादी दलले समेत कोइरालाको निधनले आफ्नो दललाई मर्माहत तथा स्तब्ध बनाएको जनाएको छ 
                                                                                नया पत्रीकाबाट

No comments:

go up