Tuesday, March 23

कोइरालाको अभियान पूरा गर्ने - नेपाली काङ्ग्रेस



काठमाडौँ, चैत ९ गते ।


 नेपाली काङ्ग्रेस संसदीय दलले सभापति गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनुभएको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने अभियान पूरा गरिने बताएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सोमबार बसेको बैठकले कोइरालाको निधनप्रति सिङ्गो पार्टीपङ्क्ति र नेपाली जनता स्तब्ध र शोकमग्न भएको भन्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, "नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष, शान्तिप्रक्रियाका अग्रणी नेता कोइरालाको निधनले सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छन्Ù सम्पूर्ण नेपाली जनता, पार्टीका कार्यकर्ता, देशविदेशमा रहेका मित्र तथा शुभेच्छुकहरूलाई धैर्य धारण गर्न अनुरोध पनि गर्दछ ।"



संसदीय दलका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अथक् रूपले नेतृत्व प्रदान गर्दै हिंसाबाट आहत मुलुकलाई शान्तिको मार्गमा डोर्‍याउने कार्यमा सभापति कोइरालाको अभूतपूर्व योगदान रहेको ठहर पनि गरेको छ ।
"नेपाली राजनीतिका शिखर पुरुष कोइरालाप्रति सम्मान व्यक्त गर्न उपस्थित अपार जनसागर लोकतन्त्रको लडाइँमा उहाँले गर्नुभएको सम्झौताहीन अथक् सङ्घर्ष र दसवर्षे हिंसात्मक द्वन्द्वबाट देशलाई मुक्त गर्न उहाँले गर्नुभएको कुशल नेतृत्वप्रतिको ठूलो सम्मानको द्योतक हो" भन्दै बैठकले सम्पूर्ण जनसमुदायप्रति आभार र हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग दलका नेता पौडेलले सभापति कोइरालाले अगाडि बढाउनुभएको अभियानलाई निरन्तरता दिने अठोट व्यक्त गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व पनि काङ्गे्रसले नै गरे सजिलो हुने धारणा राख्नुभयो ।
संयन्त्रमा अन्य दलहरूलाई पनि सहभागी गराएर लैजानुपर्ने धारणा पनि उहाँको छ । दलको निर्णय सचिव नवीन्द्रराज जोशीले पढेर सुनाउनुभएको थियो । कोइरालाको निधनपछि बसेको काङ्ग्रेस संसदीय दलको यो पहिलो बैठक हो ।
                                                                          स्रोत -गोरखापत्र

No comments:

go up