Sunday, March 28

माओवादी कमान्डर नन्दकिशोर पुन read more>>> 28 march

जनता, समाज र राष्ट्रलाई फाइदा हुन्छ भने जस्तोसुकै मृत्युवरण गर्न पनि तयार भइन्छ । त्यसपछि मृत्युको डर आफैँ भागेर जान्छ ।

एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य र जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन 'पासाङ' जनयुद्धदेखि अहिलेसम्म त्यत्तिकै चर्चित छन् । जनयुद्धकालमा उनकै नेतृत्वमा ठुल्ठूला फौजी कारबाही गर्‍यो माओवादीले । तिनै फौजी कारबाहीले देशको राजनीतिक शक्ति सन्तुलन भत्काउँदै लग्यो ।
छापामार युद्धकलामा निपुण पासाङले जनयुद्धलाई यो उचाइमा पुर्‍याउन ठूलै योगदान गरे । रोल्पाको ग्रामीण बस्तीमा जन्मेका उनी जनयुद्धको मूल परिवर्तन मानिएको जनमुक्ति सेना कमान्डर छन् यतिवेला । शिविरमा बसिरहेका करिब २० हजार लडाकुको नेतृत्व गरिरहेका पासाङको सेना समायोजनको चर्चासँगै उनको पोजिसनको पनि कुरा उठिरहेको छ ।

१. आपनै नजरमा पासाङ के हो ? को हो ?

सम्पूर्ण शोषण, उत्पीडन, हस्तक्षेपविरुद्ध जनता, राष्ट्र र क्रान्तिका लागि सधैँ समर्पित भएर लडिरहने । अनि क्रान्तिको एउटा बफादार सिपाहीका रूपमा उभिरहने क्रान्तिकारी कम्युनिस्ट विचार बोकेका संघर्षरत व्यक्ति वा आमूल परिवर्तनका लागि जनयुद्धमा होमिएका व्यक्ति हो पासाङ ।

२. पासाङ नाम कसरी जुर्‍यो ?

म रोल्पाको जिल्ला पार्टी कमिटीमा हुँदा र जनयुद्धको थालनीको अवस्थासम्म मेरो नाम लिफङ थियो । राजनीतिमा आइसकेपछि जिल्ला कमिटीमा नाम फेराँै भन्ने निर्णय भयो । सुगन्धित फूलको नाम पासाङ हुन्छ, त्यो फूल असाध्यै उचाइमा पाइन्छ भन्ने सुनेको थिएँ । त्यही नाम राख्छु भन्ने निर्णय गरेर पासाङ राखेँ ।

३. कस्तो परिवारमा जन्म भयो, अनि विवाह कसरी भयो ?

म रोल्पाको राङ्सीमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएँ । मेरो प्रेम विवाह भएको हो-हस्तमाली पुनसँग ।

४. तपाइंको स्वभाव निर्माणमा कुन-कुन पक्ष हाबी छन् ?

मेरो स्वभाव निर्माणमा आन्तरिक र बाहय पक्ष हाबी छन् । आन्तरिक पक्षमा पारिवारिक वातावरण, जातीय स्वभाव, रहनसहन, संस्कृति, वर्ग धरातल तथा वंशानुगत पक्ष हाबी छन् भने बाहय पक्षमा शोषण, उत्पीडन, अन्याय-अत्याचार, सामाजिक विभेद, वर्ग विभेद, सामाजिक, आर्थिक वातावरण, वर्गसंघर्ष तथा अन्तर्संघर्ष एवं पार्टी जीवन पद्धतिका पक्ष हाबी छन् भन्ने लाग्छ ।

५ तपाइंको स्वभावका सबल पक्ष के-के हुन् ?

सरल, सहज, सिधा, इमानदार र खुला, सबैसँग घुलमिल हुन रुचाउनेे, अरूलाई पनि आफूजस्तै सरल र सहज इमानदार ठान्ने, सबैप्रति खुला दृष्टिकोण राख्ने । सबैसँग सहयोगी भावना राख्ने, छलछाम षड्यन्त्र दायाँ-बायाँ गर्न नजान्ने, खुला र सिधा बोल्ने, रिजर्भ नरहने, कसैसँग नडराउने, सबैलाई सही व्यवहार गर्ने, अरूबाट अपेक्षा कम गर्ने, आफँैमा बढी भर पर्ने, आत्मनिर्भर ढंगले सोच्ने, अनावश्यक तर्क बहस नगर्ने, खुला, उदार, दयालु र अरूलाई धोका दिनु, गद्दारी गर्नु, विश्वासघात गर्नु, अपराध हो भन्ने ठान्नु जस्ता स्वभाव मेरा सबल पक्ष हुन् जस्तो लाग्छ ।

६ आपनो स्वभावका कमजोर पक्ष के छन् ?

तुरुन्तै अरूलाई विश्वास गरिहाल्नु, अरूलाई पनि आफूसरह सरल सहज ठान्नु, छिट्टै घुलमिल हुन खोज्नु, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु । घुमाउरो नबोली सिधा-सिधा बोल्नु, रिजर्भ नरहनु कसैलाई शंका नगर्नु, सबैप्रति खुला दृष्टिकोण राख्नु, आफू रिजर्भ नरहने, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा र इमानदार स्वभाव मेरा कमजोरी हुन् जस्तो लाग्छ ।

७ आफ्नो स्वभावबाट के-के हटाउन पाए हुन्थ्यो ?

तुरुन्तै अरूलाई विश्वास गरिहाल्ने, अरूलाई पनि आफूसरह सरल र सहज ठान्ने, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा कमजोरी हटाउन पाए हुन्थ्यो ।

८ आफ्नो स्वभावमा के-के थप्न पाए हुन्थ्यो जस्तो लाग्छ ?

सिधा र जातिगत स्वभाव हटाई अन्य जातिगत स्वभाव प्लस भए सायद राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।

९ कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?

व्यक्तिको स्वभाव, रहनसहन, गतिविधि, बोलीचाली र व्यवहारबाट र उसले गरेको कामका आधारमा उसलाई हेर्ने धारणा बनाउँछु ।

१० कतिखेर रिस उठ्छ ?

कसैले धोका दिँदा, विश्वासघात गर्दा, सहमति सम्झौताप्रति बेइमानी गरेको देख्दा र आपनो स्वार्थका लागि अरूलाई प्रयोग गर्न खोजेको देख्दा साह्रै रिस उठ्छ ।

११ कतिखेर भावुक हुनुहुन्छ ?

अप्रत्यासित घटना घट्दा वा आन्दोलन क्रान्तिमा अनावश्यक क्षति हुँदा, आफूले गरेको प्रतिबद्धता पूरा नहुदा, अरूको र आपनो मन धेरै दुखेको वेला बढी भावुक भइन्छ ।

१२ सानोमा कस्तो हुनुहुन्थ्यो ?

आपनो समकक्षी साथीहरूभन्दा अलि बढी चन्चले थिएँ । म आफूलाई बढी जान्ने, सिपालु ठान्ने र विद्रोहीखालको थिएँ ।

१३ कुनै परिस्थिति जसले तपाईंलाई उत्तेजित बनाउँछ ?

कोलाहलपूर्ण तथा मुठभेडपूर्ण वातावरण । अनि अराजकपूर्ण अवस्थामा अलि बढी उत्तेजित भएजस्तो लाग्छ ।

१४ तपाइं किन कम बोल्नुहुन्छ ?

थोरै बोल्ने, काम धेरै गर्ने बानी परेर होला । धेरै गफाडी र फूलबुट्टा भर्ने कला नभएर पनि होला । धेरै बोलेर बिगार्नुभन्दा नबोल्नु राम्रो भन्ने धारणा भएका कारण पनि होला । अर्को कुरा जिम्मेवारी, हैसियत र स्वभावका कारण पनि यसो भएको हुनुपर्छ ।

१५ राजनीतिमा तपाईंको हिरो को हो ?

आपनै पार्टी अध्यक्ष कमरेड प्रचण्ड र आफूभन्दा वरिष्ठ कमरेड, सहयोद्धा कमरेडहरू र स्वयं आफँैलाई पनि हिरो ठान्छु ।

१६ भूमिगतबाट खुला राजनीतिमा आएपछिको अनुभूति कस्तो रहयो ?

सार्वजनिक छवि अनुसार काम गर्ने अवसर कम भएको अनुभूति भएको छ ।

१७ कति संयमित हुनुहुन्छ तपाईं ?

ठिक्कको सीमासम्म संयमित हुन्छु । सीमाभन्दा बाहिरको संयमितता मेरो स्वभावले दिँदैन । सीमा नाघेपछि आवश्यक प्रतिक्रिया जनाउँछु ।

१८ निजी जीवनमा कतिखेर खुसी हुनुहुन्छ ?

आपनो परिवार, नातागोता, इस्टमित्रसँग बसेर सुख-दुःखको कुरा गरेर रुखासुखो खाँदा, घरपरिवारमा झैझगडा नहुदा, सबै मिलेर एकैठाउँमा बस्दा खुसी हुन्छु ।

१९ फुर्सदको समय कसरी बिताउन चाहनुहुन्छ ?

शारीरिक श्रम (जुनसुकै काम) गरेर, पत्रपत्रिका र किताब पढेर समय बिताउँछु । समय मिलेको वेला साइबर जाने इमेल हेर्ने र थकाइ लाग्दा आराम गरेर बिताउन चाहन्छु ।

२० सानोमा के बन्ने सपना देख्नुभएको थियो ?

खासै त्यस्तो विशेष सपना थिएन । त्यसको सम्झना पनि छैन ।

२१ जीवनको सबैभन्दा दुःखको क्षण कुन हो ?

धेरैपटक दुःखसँग संघर्ष गरिएको छ । सबैभन्दा दुःखको क्षण यही थियो भन्न गाह्रो छ । सबै कष्टकर र जोखिमपूर्ण थिए । तर पनि सानो छँदा भारतमा कुल्ली काम गर्न गएको थिएँ । सडक खन्न जाँदा विनाकारण मन्सीले कुटयो । पाँच दिन थला परेको थिएँ कुटाइबाट । त्यो सम्भदा ज्यादै दुःख लाग्छ । किसान र गरिब परिवारमा जन्मिएकाले बाल्यकाल तथा विद्यार्थी जीवन सबैभन्दा कष्टकर थियो ।

२२ सबैभन्दा सुखको क्षण नि ?

सबैभन्दा सुखको क्षणको अनुभूति गर्न पाएको छैन । राजनीतिक जीवनको क्षण भन्नुपर्दा अहिलेसम्म गणतन्त्र घोषणा र संविधानसभा चुनावको अन्तिम परिणाम घोषणाका दिन सुखको अनुभूति थियो भन्न सकिन्छ ।

२३ तपाइंको जीवनमा सबैभन्दा जटिल मोड कुन हो ?

व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्दाको मोड तथा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गर्दाको बाध्यात्मक अवस्थाको मोड आफैमा जटिल थियो ।

२४ तपाइंले गरेको सही निर्णय कुन हो ?

व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्ने निर्णय वा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गरी देश र जनताको मुक्तिका लागि निरन्तर लड्ने निर्णय जुन गरियो, त्यो नै मेरो जीवनको सही निर्णय थियो भन्ने लाग्छ ।

२५ जीवनमा तपाइंले गरेको गलत निर्णय वा काम पनि त होला ?

त्यस्तो पछुताउनेखालको गलत निर्णय गरिएको सम्झना छैन । व्यक्तिगत र पार्टीगत रूपमा गलत निर्णय गरियो जस्तो लागेको छैन । सानातिना कमजोरी त भएका होलान् नै, तर त्यस्तो हानि हुनेखालको निर्णय भएको याद छैन ।

२६ जीवनमा सबैभन्दा पछुतो लागेको क्षण ?

एसएलसीमा राम्रो रिजल्ट आएन । राम्रोसँग अध्ययन गरेको भए राम्रो रिजल्ट आउने थियो भनेर पछुताएको थिएँ ।

२७ सबैभन्दा मन परेको पुस्तक कुन हो ?

सबैभन्दा मन परेको पुस्तक केही छन् । सोभियत संघ र महान् अक्टोबर क्रान्तिको इतिहास, समयको संक्षिप्त इतिहास, विश्वको संक्षिप्त इतिहास, फुटाऊ र राज गर, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, टिस्टादेखि सतलजसम्म, पहिलो र दोस्रो विश्वयुद्ध, स्टालिनको छानिएका रचना, माओको छानिएका सैन्य रचना, अन वार, आर्ट अफ वार मन पर्ने किताब हुन् । विशेष रूपले एउटा मात्र छनोट गर्न गाह्रो छ ।

२८ सबैभन्दा मन परेको उपन्यास कुन हो ?

सबैभन्दा पहिले पढेको र मन परेको उपन्यास 'आमा' हो । दोस्रोमा 'स्वास्नीमान्छे' र 'बसाइँ' हुन् ।

२९ धेरैचोटि दोहोर्‍याएर कुनै पुस्तक पढ्नुभएको छ ?

मन परेको पाठ वा किताब दुईचोटि अवश्य पढ्छु । महान् अक्टोबर क्रान्तिको इतिहास र दस दिन दुनियाँ जगमगायो, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, क्रान्तिकारीहरूको जीवनी, माओ, लेनिन र स्टालिनका संकलित रचना दोहोर्‍याएर पढेको छु ।

३० तपाइंले लेखेको पुस्तक कस्तो हो ?

रक्तिम पाइला नामक पुस्तक हो । जनयुद्धकालमा मेलै नेतृत्व गरेको भिडन्तका अन्तरकथा समेटिएका छन् यो पुस्तकमा ।

३१ अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले २१औं शताब्दीको भूमण्डलीकरण र साम्राज्यवाद, नेपाल-भारत र चीन सीमासन्धी, संघीय गणराज्य र आत्मनिर्णयको अधिकार र साहित्यमा अन्तरमनको यात्रा पढ्दै छु ।

३२ कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?

मेरो नेपाल (प्राचीन, वर्तमान र भविष्यको) भन्ने पुस्तक लेख्दै छु, तर पूरा गर्न धेरै बाँकी छ ।

३३ तपाइंलाई असाध्यै मन परेका स्वदेशी, विदेशी लेखकहरू ?

डायमनशमशेर, पारिजात, खगेन्द्र संग्रौला, डा. सुरेन्द केसी, जगदीश घिमिरे, म्याक्सिम गोर्की, क्रुप्स्काय, लुसुन मन पर्छन् ।

३४ आफू पनि खेल्नुहुन्छ ?

भलिबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ जस्ता खेल खेल्न सक्छु ।

३५ फिल्म कत्तिको हेर्नुहुन्छ ?

धेरै फिल्म हेर्ने अवसर मिलेको छैन । हिट फिल्मबारेमा चासो र जिज्ञासा भने रहन्छ । हेर्ने अवसर नमिले पनि अरूबाट कथावस्तु सुन्छु ।

३६ मन पर्ने खेल कुन हो ?

भलिबल, फुटबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ । फुटबलबाहेक यी सबै खेल राम्रो खेल्न सक्छु ।

३७ तपाईंलाई असाध्यै मन पर्ने गीत कुन हो ?

प्रगतिशील गीतमा- नीलो आकाशमा हावा खाँदै हाँस्दै रमाउँदै,.. मुक्त हुन्छाँै एक दिन हामी जन्जिर चुडाउँदै, गाउँगाउँबाट उठ बस्ती-बस्तीबाट उठ । राष्ट्रिय गीतमा- यो नेपाली शिर उचाली संसारमा लम्किन्छ र मानवतासम्बन्धी गीतमा- फूलको आँखामा फूलै संसार जस्ता गीत खुबै मन पर्छन् ।

३८ मन पर्ने गायक-गायिका ?

अरुणा लामा, कुन्ती मोक्तान, तारादेवी, नारायणगोपाल, जेबी टुहुरे, रायन, खुसीराम पाखि्रन, रामकृष्ण ढकाल, एम बराल, तीर्थ गन्धर्व, अञ्जु पन्त, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने ।

३९ नाचगान गर्न कत्तिको सिपालु हुनुहुन्छ ?

नाचगान त गर्न सक्छु, तर विधासम्बद्ध ढंगले होइन । स्वस्फूर्त ढंगले गाउँघरे लोकतालमा हो ।

४० तपाईंको मन पर्ने खाना कुन हो ?

रोटी र ढिँडो ।

४१ कस्तो पोसाक लगाउन मन पराउनुहुन्छ ?

शरीरमा मिल्ने जस्तोसुकै पोसाक, टाइटभन्दा ठिक्कको खुला आकारमा र आपनो छालाको रंगसँग म्याच गर्ने खालको लुगा मनपर्छ ।

४२ तपाइंका आदर्श नेताहरू को-को हुन् ?

मेरो आदर्श नेता प्रचण्ड, सो पार्टीका पदाधिकारी र मभन्दा सबै हिसाबले पाको र परिपक्व नेताहरू ।

४३ तपाइंलाई कस्तो मान्छे मन पर्दैन ?

लोभीपापी, महत्त्वाकांक्षी, अरूलाई प्रयोग गरेर महत्त्वकांक्षा पूरा गर्ने, विश्वासघात गर्ने, धोका दिने प्रवृत्ति भएका मान्छे मन पर्दैन ।

४४ कस्तो स्वभावको मान्छे मन पर्छ ?

सरल, सहज, इमानदार, धोका नदिने, मिलनसार, आत्मनिर्भर र साहसिक स्वभावको मान्छे मन पर्छ ।

४५ राजनीतिमा नलागेको भए कुन पेसामा लाग्नुहुन्थ्यो ?

राजनीतिमा नलागेको भए, शिक्षक र किसान बन्थेँ । खेती-किसानी अझै पनि मेरो रुचिको पेसा हो ।

४६. जीवनपछि मान्छेले तपाईंलाई कसरी सम्झना गरून् भन्ने चाहनुहुन्छ ?

मेरो मृत्युपछि एउटा सरल, सिधा, इमानदार समाज र राष्ट्रप्रति बफादार नागरिकका रूपमा सम्झना गरून् भन्ने चाहन्छु ।

४७. जनयुद्धको सबैभन्दा रोचक फौजी कारबाही कुन हो ?

जनयुद्धको सबैभन्दा रोचक दाङ सदरमुकाम घोराही आक्रमणको फौजी कारबाही नै हो । सबै हिसाबले रोचक कारबाही थियो त्यो ।

४८. दस वर्षपछिको नेपालको परिकल्पना गर्नुभएको छ ?

दस वर्षपछिको नेपाल-आत्मनिर्भर, स्वाधीन, सम्वृद्ध, स्वतन्त्र अधिकार सम्पन्न, मानवअधिकारको प्रत्याभूति भएको शान्ति, सद्भाव, एकता कायम भएको राष्ट्रको कल्पना गर्छु ।

४९. त्यतिवेला तपाइंको स्थान कहाँ र कुन अवस्थामा हुन्छ होला ?

अहिलेभन्दा परिपक्व, अनुभवी र देशको सेवामा अझ बढी समर्पित भएको नागरिकका रूपमा हुनेछ । जनता र राष्ट्रले छनोट गरिदिएको स्थानमा मेरा स्थान र भूमिका रहनेछ ।

५०. जनयुद्ध कालमा मर्नसँग डर लागेन ?

मान्छे जन्मेपछि मृत्यु अनिवार्य छ । मृत्युलाई जानेपछि किन मर्न डराउनु ? आखिर मर्नु नै छ । तर, मर्नु किन र कसका लागि ? बाटो रोज्नु मात्र फरक कुरा हो । सम्पूर्ण मुक्तिका लागि मृत्यु वा मुक्तिको कसम खाएर सचेत ढंगले क्रान्तिमा हामफालेपछि के को डर ? आप\mनो मृत्युले जनता, समाज र राष्ट्रलाई फाइदा हुन्छ भने जस्तोसुकै मृत्युवरण गर्न पनि तयार भएपछि मृत्युको डर आफैँ भागेर जान्छ ।

५१ सबैभन्दा बढी रुवाएको कुनै घटना ?

तकसेरा फौजी कारबाहीमा कमरेड क्रान्ति र कमरेड पहाडको शहादत हुदा र मेरो कान्छो भाइ कमल पुनको आपनै साथीको गद्दारीबाट हात-खुट्टा भाँची नाक, मुख र शरीर चिरेर हत्या गरेको खबर सुन्दा आमाको मृत्युमा भन्दा बढी रोएको थिएँ ।

५२ गणतन्त्र घोषणा हुदा कस्तो महसुस भयो ?

गर्वले छाती फुलेको थियो । सहिदको झल्झली याद आइरहेको थियो ।

५३ सेना समायोजनपछिको कुनै कल्पना छ ?

सेना समायोजनपछि चुस्त, लोकतान्त्रिक, समावेशी, आधुनिक, दक्ष, इमानदार, राष्ट्र र जनताप्रति समर्पित, उत्तरदायी र पारदर्शी राष्ट्रिय सेनाको कल्पना गरेको छु ।

५४. अन्तर्संघर्षमा रमाउने बानी छ ?

अन्तर्संघर्षमा रमाउनेभन्दा त्यसलाई आत्मसात् गर्ने बानी छ ।

५५. तपाईंको अधुरो सपना ?

शान्त, सुन्दर, सम्वृद्ध २१औं शताब्दीको नयाँ नेपालको सपना ।          nayapatrika

No comments:

go up