Tuesday, March 16

जीतु नेपाल को बुढीको नजरमा मुन्द्रे


वास्तविक जीवनमा जिरेखुर्सानीको मुन्द्रेजस्तो हुनुहुन्न जितु नेपालजी । छुच्चोजस्तो देखिनुचाहिँ हुन्छ, तर त्यस्तो हुनुहुन्न । बातैपिच्छे हँसाए पनि उहाँ मान्छेचाहिँ गम्भीर प्रकितीको हनुहुन्छ । हाइट अलि कम भए पनि फोटोजेनिक हुनुहुन्छ । उहाँका आँखा राम्रा लाग्छन्, मलाई । ओठ पनि राम्रो छ । दाँत नराम्रा भए पनि मलाई त राम्रै लाग्छन् । उहाँका रुचिका कुरा गर्नुपर्दा उहाँ फुर्सदका वेला पढ्न रुचाउनुहुन्छ । त्यति घुमफिर गर्नुहुन्न 
खानामा उहाँलाई दालभात मन पर्छ । गुन्द्रुक र मूलाको अचार असाध्यै रुचाउनुहुन्छ । आँटाको सुख्खा रोटी, झोल मासु र लसुन बढी हालेको तरकारी पनि मन पर्छ, उहाँलाई 
पेसा नै हँसाउने भएर होला, उहाँ घरमा पनि हँसाउनुहुन्छ 
हँसाउनका लागि उहाँलाई कुनै घटना या अवसर चाहिँदैन 
म अलिक मोटी छु । उहाँभन्दा धेरै खाना खान्छु । उहाँ मलाई 'यसैगरी मोटाइरह्यौ भने मेरो सिरियल (जिरेखुर्सानी)मा हात्तीको रोल तिमीलाई दिन्छु' भन्दा मलाई असाध्यै हाँस उठ्छ 
म बढी मेकअप गर्छु । बेलुका कहीँ पार्टीमा जानुपरेमा उहाँ मलाई बिहान खाना खानेबित्तिकै 'अब मेकअप गर्न जाऊ' भन्नुहुन्छ । मलाई तयार हुने धेरै समय दिनुभएको रे !
उहाँ तरकारीलाई पनि हँसाउने विषय बनाउनुहुन्छ । जस्तो, मैले बिहान केराउ र प्याजको तरकारी पकाएँ भने उहाँ 'बेलुका अब बेग्लै तरकारी खानुपर्छ,' भन्नुहुन्छ । के बेग्लै भनेर सोध्यो भने 'नानु, भरे बेलुका प्याज र केराउको तरकारी खानुपर्छ है !' भन्नुहुन्छ 
उहाँले मलाई हँसाउनुभएका घटना सम्झिसाध्य छैनन् । मैले सम्झिरहने यौटाचाहिँ यस्तो छ 
हामी एकपटक एउटा अफिसमा पुगेका थियौँ । त्यहाँको पन्ट डेस्क अग्लो थियो । भित्रबाट उहाँको टाउको मात्रै देखियो । उहाँले 'म होचो होइन, तपाईंको टेबुल अग्लो हो' भनेर त्यहाँकी रिसेप्सनिस्टलाई हँसाइदिनुभयो । साथमा, मलाई पनि ! अनि, बिहेअगाडिको जितुजीको प्रेमप्रसंगबारे लेखिएका अखबार पढ्दा र उहाँलाई प्राप्त भएका दुईवटा गि्रटिङ कार्ड हेर्दा म जहिले पनि मज्जाले हाँस्छु 

जितुजी हँसाउने स्वभावको हुनुहुन्छ भन्नुको मतलब उहाँ कहिल्यै रुनुहुन्न भन्ने होइन । उहाँलाई मैले धेरैपटक रोएको देखेकी छु । आफ्ना बुबा बित्नुहुँदा उहाँ धेरै रुनुभएको थियो । बुबाको निधन भएको ६ महिनापछि दिल्लीमा उहाँको दाजुको निधन भयो । काठमाडौं आएपछि उहाँ मसित भक्कानिएर रुनुभयो । त्यस्तै, विगतका संघर्षका कुरा सुनाउँदा पनि उहाँ आँसु झार्नुहुन्छ । उहाँ रुनुभएको अर्काे एउटा घटना म सम्झिरहन्छु । आफ्नै म्युजिक भिडियोमा अभिनय गर्ने सिलसिलामा छतबाट हामफाल्दा उहाँको खुट्टा भाँचिएको थियो । त्यसको लगत्तै इजरायलमा कार्यक्रम गर्न जानुपर्‍यो । त्यतिवेला 'यस्तो वेलामा पनि आराम गर्न पाइनँ, कस्तो पेसामा लागिएछ' भनेर रुनुभयो 

पहिरनमा कटन चेक सर्ट, कटराइज पाइन्ट, सिम्पल जुत्ता, कालो टाई र कालो लेदर ज्याकेट मन पर्छ, उहाँलाई
 । त्यस्तै, उहाँलाई मन पर्ने पाँच ठाउँमा हङकङ, दुबई, पोखरा, चितवनको सौराहा र लुम्बिनी हो 
जितुजी एकदमै कन्जुस हुनुहुन्छ । मजस्तो खुलेर खर्च गर्नुहुन्न । सधै पैसा बचाउन खोज्नुहुन्छ । उहाँको यो बानी मलाई मन पर्दैन । घरमा खाना नमीठो या ढिलो भयो भने कड्किएर बोल्ने गर्नुहुन्छ । उहाँको यो बानी पनि मलाई मन पर्दैन 
मुड अफ भएका वेला हामी दुईजना बाहिर हिँड्दा कसैले मुन्द्रे भनेर बोलायो भने मलाई असाध्यै रिस उठ्छ । अनि, सुटिङबाट जितुजी ढिलो आएका वेला गेट खोल्नुपर्दा मलाई असाध्यै रिस उठ्छ । १०-५ को जागिर खाने श्रीमान् भएको भए सँगै बसेर खाना खान पाइन्थ्यो, घुम्न जान पाइन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ 
सिरियलका कमेन्टले उहाँलाई एकदम खुसी बनाउँछन् । सफल भएजस्तो लाग्छ रे उहाँलाई । उहाँलाई मन पर्ने कलाकार मह जोडी र 'मुखाँ हान्नुजस्तो दाजु' शिवहरि पौडेल हुन् 
मेरा नजरमा जितुका पाँच गुण
-मिहिनेती हुनुहुन्छ
-समयको ख्याल गर्नुहुन्छ
-स-साना कुरामा खुसी हुनुहुन्छ
-सबैलाई समान व्यवहार गर्नुहुन्छ
-मासु मीठो पकाउनुहुन्छ
पाँच अवगुण
उहाँमा धैर्य छैन
छिट्टो अरूलाई विश्वास गर्नुहुन्छ
छिट्टो रिसाउनुहुन्छ
रिसाएका वेला प्याच्च बोल्नुहुन्छ

अरूका कमजोरीमाथि छिट्टो कम्प्लेन गर्नुहुन्छ 

go up