Thursday, March 18

बर्दियामा गोलीकाण्ड




नेपालगन्ज, चैत्र ३ - 

बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी कालीकास्थान जंगलमा एक बालिका र दुई महिलाको हत्या घटना सेना र वनरक्षकको नियन्त्रणमा भएको   मानव अधिकारवादीले ठहर गरेका छन्  ।


स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एडभोकेसी फोरमले मंगलबार यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा एउटै परिवारका अमृता, देवीसरा र उनकी १२ वषर्ीया छोरी चन्द्रा विकलाई नियन्त्रणमा लिई हत्या गरेको उल्लेख छ ।

चार वनरक्षक र ज्वाला दल गणका १७ जना सेनाको टोलीले सुत्ने तयारी गरेका बेला करिब पाँच मिटरमाथि ढिकबाट राति मुढा फ्याँकेको र टर्चलाइट बालेर 'भागिस् भने मर्छेस्' भन्दै हवाई फायरिङ गरिएको पाइएको प्रतिवेदनमा छ ।

'चारपटक हवाई फायरिङ भयो । देवीसरा, चन्द्रा र अमृता बास बसेको स्थानको ओढारको ढुङ्गामा लुकें,' प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक क्षेत्रीय संयोजक भोला महतले भने, 'टर्चलाइट बाल्दै उक्त टोली महिला लुकेको स्थानलाई घेरा हाली नियन्त्रणमा लिएर हत्या गरेको पाइयो ।'

उक्त क्रममा १२ वषर्ीया चन्द्राको चित्कार सुनिनु र घटनास्थलमा मृतक बालिका र महिलाको भित्री कपडा छरपस्ट अवस्थामा फेला परेका छन् । एडभोकेसी फोरमका संयोजक तथा अधिवक्ता सुशीलकुमार लाखेले भने, 'घटनास्थलमा मृतकका कपडामा रगत र दिसा लागेकोे देखिनुले हत्या रहस्यमय भएको छ ।'

घटनास्थलमा एउटा कालो रंगको कुकुरसमेत मृत अवस्थामा फेला परेको छ । आधा घन्टा नजिकैको झाडीमा लुकेर बसेका रत्न विकले छोरीको कहालीलाग्दो चित्कार सुनेर तुलबहादुर फर्किने क्रममा सेनाले नियन्त्रणमा लिएको अध्ययन टोलीलाई बताए । सामूहिक रूपमा गएको सेनाको शक्ति हेर्दा गोली प्रहार गरी हत्या गर्नुपर्ने अवस्था नरहेको देखिन्छ । 'लुकेर बसेका निहत्था बालिका र महिलामाथि गोली प्रहार गरिनुले सेनाले शक्तिको दुरुपयोग गरी हत्या गरेको पाइयो,' प्रतिवेदनमा छ ।

अध्ययन टोलीले स्थलगत अनुगमन, प्रत्यक्षदर्शी र घटनामा भागेर ज्यान बचाएकासँग प्रत्यक्ष भेटघाट गरी विवरण संकलन गरेको हो ।

घटनास्थलमा अमृताले लगाएको कुर्ता सुरुवाल, चन्द्रकला विकको भित्री कपडा, देवीसरको पेटीकोट र अन्य कपडाहरू छरिएको अवस्थामा फेला परेका छन् । करिब १० जनाको संख्यामा सुत्न मिल्ने ओढारमा काउलोले भरिएको बोरा रगतले लतपतिएका छन् । त्यस्तै करिब १० मिटर तल कालो रंगको एक कुकुर मृत अवस्थामा थियो ।

घटनास्थलदेखि ५० मिटर 

पूर्व झन्डै २ क्विन्टल काउलोको बोक्रा सुकाएको अवस्थामा अध्ययन टोलीले फेला पारेको छ । इन्सेक संयोजक महतले भने, 'उत्तर पश्चिमतर्फको डाँडामा उनीहरूको ओढ्ने/ओछ्याउने कपडा जलाइएको अवस्थामा देखियो ।'

तीन जनाको हत्या हँुदा तीनओटा फरक ठाउँमा रगत हुनुपर्नेमा एक ठाउँमा थोरैमात्र रगत देखिनु, ज्यान जोगाई भागेका रत्नबहादुर विकले घटनास्थलमा फेला परेको पेटीकोट देवीसराको, कुर्तासुरुवाल पत्नी अमृताको तथा पेन्टी र सल चन्द्रकलाको हो भन्ने दाबी गर्नुले घटनालाई रहस्यमय बनाएको छ ।

अधिकारवादीले सरकार र रक्षा मन्त्रालयद्वारा घटनाको अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न र हत्यामा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र सेनाको नियन्त्रणमा रहेका तुलाबहादुरलाई बिनासर्त रिहाइको माग गरेका छन् ।




कारबाही माग


बर्दिया -कास)- दोषीलाई कारबाहीको माग गर्दै करिब दुई दर्जन संघसंस्थाले मंगलबार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा ज्वाला दल गणका सैनिक टोलीले निहत्था महिलालाई नियन्त्रणमा लिई बलात्कारपश्चात हत्या गरेको आशंका पैदा गरेको उल्लेख छ ।

संघसंस्थाले दोषीलाई कारबाहीको माग गर्दै दिइएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय, रक्षा मन्त्रालय, गृहमन्त्रालय र बर्दिया जिल्ला प्रशासन कार्यालयलाई समेत दिएका छन् । उनीहरूले आफ्ना मागलाई वेवास्ता गरी सरकारले मानव 

अधिकार र कानुनी राज्यको उपहास गरेमा आन्दोलनबाट हुन सक्ने क्षतिको भागिदार सरकार नै हुने चेतावनी समेत दिइएको छ ।

 यसैबीच पीडित परिवारका छोरीद्वय पवित्रा र शान्तिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सात सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । माग पत्रमा विकलाई तत्काल विनासर्त रिहा, मृतकका परिवारलाई १५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन, हत्याकाण्डमा संलग्न दोषीमाथि कारबाही, सहिद घोषणा, मृतकका छोरा, छोरीलाई शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।

go up