Saturday, March 27

कोइराला नभएपछि read more



८७ वर्षका बूढा गिरिजाप्रसाद कोइरालालाई आफ्ना पक्षमा आँखा झिम्क्याइ माग्नेहरुको ओइरोले करिब मर्ने दिनसम्म नै छोडेन। उनी बूढा हुन त पाएनन् नै, बिरामी हुन पनि पाएनन्। किन हामीलाई कोइरालाको अभाव खट्कियो त? माधव नेपाल चुनाव हारेका मान्छे थिए, तर उनलाई संविधान सभामा नभित्र्याइ भएन। उनको पनि अभाव खट्कियो। अहिले उनी प्रधानमन्त्री छन्।
उनीहरु महामानव पनि होइनन्। हामी जस्तै काम, क्रोध, लोभ, मोहले जकडिएका छन्। आखिर किन यिनै नेताहरु नभई नहुने तहमा पुगेको हो? के हो यसको प्रकृया? यो ब्लगमा नभई नहुने नेता बन्ने प्रकृयाबारे छलफल गर्न चाहन्छु र कोइरालाको मृत्युले पारेको नेपाली राजनीतिमा देखिएको रिक्तताबाट हामीले लिने शिक्षाको बारेमा छलफल गर्न चाहन्छु। समग्रमा यो प्रकृयाको सेरोफेरोमा हाम्रा निर्णय गर्ने चालचलनहरु, पार्टीको विधान, कमिटी पद्दति, प्रजातान्त्रिक अभ्यास, निर्णय प्रकृया र सूचनाको आदानप्रदान जस्ता कुराहरु आउँछन्।

                                                                        


नभई नहुने बन्ने प्रकृयाको पहिलो कुरा के हो भने हामीलाई दह्रो मान्छे चाहिन्छ। हाम्रो समाजले छलफल, वादविवाद, तर्क वितर्कलाई राम्रो रुपमा ग्रहण गर्दैन र सकेसम्म यी चीजहरुलाइ पन्छाएर निर्णय लिने तरिकालाई छान्छ। वादविवाद, तर्कलाई हामी झगडाको रुपमा लिन्छौं। त्यसैले हामी कमिटी पद्दति भन्दा एउटा व्यक्तिको तजबिजीमा छोडिदिन्छौं। कमजोर कमिटी पद्दतिले गर्दा हरेक निर्णयमा पारदर्शिता भन्दा तिकडमको मात्रा बढी हुन्छ। जसले तिकडमलाई व्यवस्थापन गर्न सक्छ, ऊ कुशल नेता मानिन्छ। यी कुरा राजनैतिक पार्टीका निर्णय पद्दतिमा कमबेसी सबैमा देखिन्छन्। नेतृत्वको बढी तजबिजी अधिकार र कमजोर निर्णय प्रकृयाले गर्दा घरीघरी पार्टीहरुमा आँधी आइरहन्छन् र कति आँधीले त पार्टीहरुलाई टुक्र्याएको पनि छ। यस्तो उतारचढावलाई ठीक पार्न पार्टीभित्र तानाशाहको आवश्यकता हुन्छ र नेतृत्व तहमा बस्नेले यसलाई पूरा गरेको हुन्छ। यो तानाशाह नेता आफूले चाहेर भन्दा पनि आवश्यकताले जन्माएको हुन्छ।
दोस्रो तरिका पनि पहिलेभन्दा धेरै भिन्न छैन। यसमा के हुन्छ भने विभिन्न तह (गा.वि.स., जिल्ला र केन्द्र) को पार्टीभित्रको नेतृत्वमा कसरी प्रतिनिधित्व गराउने भन्ने स्पष्ट अभावले गर्दा नेतृत्वले आफ्नो पक्षमा प्रशस्त खेल्ने मौका पाउँछ र केन्द्रले नै जिल्लाका प्रतिनिधिलाई टिका लगाउने, सांसदको टिकट दिने र महाधिवेशनका प्रतिनिधि छान्ने काम गर्छ। अर्को शब्दमा गिरिजा कोइराला वा माधव नेपालले छानेका मान्छेले अनि फेरि पार्टी महाधिवेशनमा कोइराला वा नेपाललाई नै छान्छन्। “तिमी मेरो मान्छे” भनेर टिका लगाउने पहिले, अनि पछि “म तिम्रो मान्छे” भनेर तिनै मान्छेबाट भोट खाने। यस्तै तरिकाले हरेक अधिवेशनहरु चल्दै गए र उनै मान्छेहरु छानिँदै गए। म नै पार्टी हो भन्ने नेताहरुमा भान पर्‍यो। आफूले भनेको नमान्ने जिल्ला कमिटीहरुलाई नेतृत्वले धेरै पटक भङ्ग पनि गरेका उदाहरण छन्। बाहिरसम्म थाहा हुने कुरा चाँहि सांसदको टिकट वितरणको प्रकृया हो। पार्टीहरुले सांसदको टिकट वितरण गर्दा स्पष्ट आधार नबनाउँदा कार्यकर्ताहरु ढुलमुलमा छन्। जनताको प्यारो भएर मात्र टिकटको ग्यारेण्टी छैन। त्यसैले कार्यकर्ताहरु नेताको नजिकिनु पर्ने बाध्यता छ। केन्द्रका नेताहरुको अधिकार असीमित हुँदै गयो र यसरी लामो समयसम्म पार्टीमा हालीमुहाली भए पछि यस्तो बन्दै गयो कि त्यो व्यक्ति संगठनको एउटा नभई नहुने तहमा पुग्यो।
व्यक्ति अत्यावश्यक बन्ने अर्को प्रकृया हो आम मान्छेहरुको नेतृत्व सम्बन्धी बुझाइ। संचार माध्यमले नाम बोलाएको बोलायै गर्ने नेताहरु नयाँ नेताहरुको तुलनामा कमसल देखिन्छन्। एउटा भनाइ छ आफूसँग कति शक्ति छ भन्ने कुरा अरुको देखाइमा भर पर्छ। भएको भन्दा धेरै अरुले देखे भने त्यस्तो नेतालाई लाभ नै भयो। किनकि भए भन्दा बढी शक्तिशाली हुन पाइयो। प्रख्यातिले पुराना नेताहरुलाई नयाँको तुलनामा शक्तिशाली बनाएको छ। चुनावमा पछारिए पनि प्रायः पार्टीका धेरै नेताहरुको कान्तिमा कमी नआउनुको कारण संचारमाध्यमले अनावश्यक रुपमा उनीहरुलाई महत्व दिएर पनि हो। तर जब माधव नेपाल दुई ठाउँबाट हारेको मान्छे नै प्रधानमन्त्री भए पछि त संचारमाध्यमले पो के गरुन र।अन्त्यमा गिरिजा कोइरालाको नेपाली राजनीतिमा भयंकर योगदान छ। तर अब चाँही हामीले यस्ता भयंकर नेता बनाउनु अगाडि सात पटक सोचेर मात्र बनाउनु पर्छ। किनकि यिनीहरु बिना हाम्रो सासै रोकिने जस्तो हुन्छ जसरी अहिले कोइरालाको अभावमा भएको छ। व्यक्ति भयंकर हुने प्रकृयालाइ बुझेर हामीले माधव नेपालको भयंकरता, प्रचण्डको भयंकरता, सूर्यबहादुर थापाको भयंकरता र अरु भविष्यको गर्भमा रहेका नेताहरुका भयंकरताहरुलाई हामीले आजैदेखि नै कम गर्दै लानुपर्छ ताकि परिआएको बेला हामीलाई अहिलेको जस्तो नहोस्। अहिले नेपाली 

कोइरालाको मृत्युले देखिएको रिक्तताबाट यही शिक्षा लिनु पर्छ     मेरो स‍ंसार

No comments:

go up