Saturday, May 1

बम पड्काएरै सत्ता कब्जा गर्न खोज्ने-- प्रधानमन्त्री


काठमाडौं, १७ वैशाख
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा(माओवादी)ले हिंसात्मक तरिकाबाट सत्ता कब्जा गर्न खोज्ने हो भने देशमा जे पनि हुनसक्ने बताउनुभएको छ।दक्षिण एसिलाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १६ औं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि सञ्चारकर्मीको माओवादी आन्दोलनमा सेना पनि परिचालन हुनसक्ने प्रतिक्रिया केही मन्त्रीले दिइरहेका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो– माओवादीले बम पड्काएरै सत्ता कब्जा गर्न खोज्ने हो भने स्थिति जे पनि हुनसक्छ,भन्न सकिंदैन।

प्रधानमन्त्री नेपालले ठाउँठाउँमा माओवादीका कार्यकर्ताबाट विस्फोटक पदार्थ,खुकुरी लगायतका हतियार पाइएकाले माओवादी आन्दोलन हिंसात्मक हुने स्पष्ट देखिएको छ भन्दै शान्ति कायम गर्न सरकार सक्षम रहेको दृढता व्यक्त गर्नुभयो।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मी सँगको कुराकानीमा उहाँले तोडफोड एवं हिंसात्मक गतिविधिबाट सत्ता कब्जा गर्न खोज्ने माओवादी गतिविधिले मुलुकलाई दुर्भाग्य बाहेक केही नदिने बताउनु भयो। उहाँले भन्नुभयो— “म समस्याको बाधक नभएर सहयोगी हुँ,तर वार्ताबाटै निकास निकाल्नेमा इमान्दार भएर माओवादी आउनुपर्‍यो र प्रमुख दलहरुसँग विगतमा भएका सहमतिको कार्यान्वयनका लागि प्रतिबद्ध रहनुपर्‍यो। अहिलेको प्रमुख आवश्यकता भनेको नयाँ संविधान र शान्तिप्रक्रियाको दिगो समाधान हो भन्ने बुझेर पनि माओवादीले सत्ताप्राप्तिकै लागि हिंसात्मक आन्दोलनमार्फत एकलौटी एवं अधिनायकवादी सत्ता स्थापनामा लागेको भन्दै प्रधानमन्त्री नेपालले माओवादीको यो सोचले कहिल्यै पूर्णता नपाउने बताउनुभयो।
माओवादीले कुरा एउटा र काम भने बलजफ्ती रुपबाट सत्तामा पुग्ने अपनाइरहेको बताउँदै प्रधानमन्त्री नेपालले सबै पक्ष बसेर निकासको विकल्प निकाल्न सकिने बताउनुभयो। तपाईंको राजिनामापछि मात्र निकास निस्किन्छ भन्ने निष्कर्षमा माओवादी देखिन्छ नि भन्ने सञ्चारकर्मीका प्रश्नमा उहाँले भन्नुभयो— “मेरो राजिनामाले मात्र निकास देला भन्ने मलाई लाग्दैन, राज्य व्यवस्थाको सञ्चालन विधिपूर्वक हुनुपर्छ, बन्दुक र धम्कीको भरमा अरुलाई धम्क्याएर र डर देखाएर सत्तामा जान खोज्ने प्रवृत्ति कहिल्यै दिगो हुँदैन।
प्रधानमन्त्री नेपालले वर्तमान समस्याको समाधान सबै पक्ष बसेर वार्ताको माध्यमबाट निकाल्न सकिने र बलजफ्ती क्रियाकलापबाट सम्भव नहुने पनि स्पष्ट गर्नुभयो। सार्कको सोह्रौँ शिखरसम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री नेपाल यही वैशाख १४ गते भुटान जानुभएको थियो।दैनिकी

No comments:

go up