Wednesday, May 26

'जात नमिलेको' भन्दै सम्बन्धविच्छेद

विराटनगर, जेठ १२
 मोरङ जिल्ला अदालतबाट बिबाहको नाता प्रमाणित गरिसकेका एक आदिवासी जोडीलाई अन्तरजातीय बिहे गरेको भन्दै जर्बजस्ती छुटाइएको छ।झापा कोरोबारी-७ घर भई मोरङको रंगेली बस्दै आएका २१ वर्षीय भोलाप्रसाद ठाकुर र झापा कोहबरा-६ की २३ वर्षीया कल्पना राजवंशीलाई 'जात नमिले'को भन्दै केटीका अभिभावकले जबरजस्ती छुटाएर लगेका हुन्। तीन वर्ष अघिको आफ्नो प्रेमलाई साकार तुल्याउदै दुई हप्ताअघि विवाह बन्धनमा बाँधिएका नवविवाहित भोला प्रेमिकासँग विछोड भएपछि विरत्तिएका छन्। 'जीवन साथीलाई त खोसेर लगे नै', ठाकुरले नागरिकसँग भने, 'अझै मलाई मार्ने धम्की समेत दिएका छन्।' प्रेमिकाका दाजु मनोज राजवंशीले फोनबाट ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन्।
'तँलाई बाँच्ने मन छैन' राति फोन गरेर मनोजले धम्क्याउने गरेपछि तीन दिनदेखि उनी विराटनगर बस्दै आएका छन्। केटी पक्षबाट बारम्बार धम्की दिइएपछि सुरक्षा माग्दै उनी जिल्ला प्रहरी कार्यालयमा समेत पुगेका थिए।आफूहरु बिहे गरेर रंगेली बस्दै आएकोमा कल्पनाका परिवारले चोरीको आरोप समेत लगाई जवरजस्ती कल्पनालाई छुटाएर लगेको भोलाले बताए। ठाकुर रंगेलीमा सहारा नेपाल विकास बैंकको फिल्ड सहायकमा कार्यरत छन्।झापाको गौरीगञ्ज क्याम्पसमा अध्ययनका क्रममा प्रेम भएपछि विवाहको चाँजोपाँचो मिलाई वैशाख २७ गते उनीहरु वैवाहिक जीवनमा बाँधिएका थिए। उनीहरुले रंगेलीस्थित शिव मन्दिरमा गन्धर्व संस्कृतिमा बिहे गरी जेठ ४ गते अदालतमा नाता प्रमाणित गरेका थिए। अदालतमा कानुनी प्रक्रिया समेत पूरा गरेको भन्दै पीडित ठाकुरले अपहरण शैलीमा श्रीमती खोसेर लगेकोले राजवंशी परिवारविरुद्ध उजुरी हाल्ने तयारी गरेका छन्।

No comments:

go up