Wednesday, May 26

'ममाथि अन्याय भयो तर अदालत गइनँ’-- पुर्व राजा ज्ञानेन्द्र


त्काठमाडौं, जेठ १
 पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारबाट निकालेर सरकारले आफूमाथि अन्याय गरेको टिप्पणी गरेका छन् । दुई सय ४० वर्षको राजतन्त्र अन्त भएको दुई वर्षपछि सार्वजनिक अभिव्यक्ति दिँदै ज्ञानेन्द्रले अन्याय भए पनि स्वीकार गरेर अदालत नगएको बताएका छन् ।आइतबार बागेश्वरी मन्दिरको दर्शन गर्ने र समर्थकहरूलाई दर्शन दिन नेपालगन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ इमेज च्यानललाई विशेष अन्तर्वार्ता दिएका थिए ।च्यानलले मंगलबार साँझ प्रसारण गरेको अन्तर्वार्तामा ज्ञानेन्द्रले अदालत जान शुभचिन्तकले तत्कालै सल्लाह दिएको खुलासा पनि गरे ।
'म पनि सर्वसाधारण हुँ, अदालतमा जाने अधिकार थियो,' उनले भने, 'मलाई सल्लाह पनि दिइएको थियो, तर सरकारको मर्यादा राखेर अदालत गइनँ,' उनले भने ।
नारायणहिटी छाडेर नागार्जुन (र पछि निर्मल निवास) गएपछि आफूलाई बत्ती, पानीको समस्या भएको गुनासो उनले टेलिभिजनबाटै पनि गरेका छन् । 'मेरो निवासमा केही पनि छैन । लोडसेडिङ तपाईंहरूले जस्तो भोगिरहेको छु । पानी, बत्ती केही छैन,' उनले भने । ज्ञानेन्द्रले नेपालगन्ज पुगेको बेला शुभचिन्तकहरूसँगको गोप्य कुराकानीमा बत्ती, पानीको अभावमा आफूलाई दुःख भएको गुनासो गरेको समाचार नयाँ पत्रिकाले सोमबार नै प्रकाशित गरेको थियो ।नारायणहिटीबाट हटे पनि देशका लागि आफूले 'केही गर्ने' समय आउने र त्यसका लागि पर्खिरहेको पनि उनले बताए । अहिले भने त्यो बेला भइनसकेको उनले बताए । 'त्यो समय आउँदै छ, अहिले चाहिँ भएको छैन । आउला भन्नेजस्तो लाग्छ मलाई,' उनले आशा व्यक्त गरे ।च्यानलले अहिलेको राजनीतिक अवस्थाबारे तपाईंको के भूमिका हुन्छ ? भन्ने प्रश्न पनि राखेको थियो । जवाफमा ज्ञानेन्द्रले भने, 'त्यो पनि उनीहरू (राजनीतिक दलका नेताहरू) मा भर पर्छ, चुप लागेर बस् भन्छन् भने हामी चुप लागेर बस्छौँ ।'पूर्वराजाले हिन्दूराज्य र राजसंस्थाबारे सोचेर निर्णय नगरिएको पनि बताएका छन् । उनका अनुसार ८० प्रतिशत जनता हिन्दूराज्य र राजसंस्थाको पक्षमा थिए । तर, राजसंस्थाले राष्ट्रिय एकतामात्र खोजेको उनको भनाइ छ । 'राजसंस्थाले कहिल्यै पनि पपुलारिटी चाहेको थिएन, युनिटीमात्र खोजेको हो,' उनले भने । हिन्दूराज्य र राजसंस्था हटाउँदा जनताको मन दुखेको पनि उनले बताए ।जनआन्दोलनको अन्तिम दिन ११ वैशाखमा दल र आफूबीच समझदारी भएको र पछि तोडिएको संकेत गर्दै उनले असन्तुष्टि पनि पोखे । 'त्यो बेला भएको सहमति धेरैलाई थाहा भइसकेको छ, मैले भनिरहनुपर्दैन ।'देशदौडाहामा लागेका ज्ञानेन्द्रले राजनीतिमा सक्रिय हुन खोजेको आशंका पनि मेटाउने प्रयास गरेका छन् । उनले सर्वसाधारण नेपालीका रूपमा मन्दिर घुम्न पाउनु आफ्नो अधिकार भएको पनि प्रष्ट पारेका छन् । 'म त सर्वसाधारण नेपाली हुँ । जनताको भावना बुझ्न हिँडेको होइन, सर्वसाधारण भएर मन्दिर जान त पाउँछु नि,' उनले भने ।यसअघि जनकपुर गएको बेला उनले राजतन्त्र गयो भन्नु 'हाइपोथेटिकल' भएको टिप्पणी गरेपछि विवाद भएको थियो । जनकपुरको विवादास्पद अभिव्यक्तिबारे पनि ज्ञानेन्द्रले नेपालगन्जबाट प्रष्टीकरण दिन खोजे । 'मैले सर्वसाधारणले यसो पनि भनेका छन् है भनेर सुनाएको कुरा भनेको थिएँ । कतिले दिवास्वप्न देख्यो भने, कतिले धमिलो पानीमा माछा मार्‍यो भने । बोल्नु अधिकारमात्र होइन, सुन्नु पनि नेताको कर्तव्य हो,' उनले भने ।राजतन्त्र गए पनि जनताको आफूप्रतिको आकर्षण देखेर ज्ञानेन्द्रले आश्चर्य प्रकट गरे । 'अझै पनि जनता मलाई छुनै चाहन्छन्, ढोग्नै चाहन्छन्, तर हामीले यस्तो कहिल्यै चाहेका छैनौँ । नेपालगन्जमा पनि देखिहाल्नुभयो,' उनले भने ।तर, राजसंस्था फालिनुमा अरूलाई दोष नदेखाउने पनि उनले स्पष्ट पारे । 'दोष मैले लिनुपर्छ । अरूलाई पन्छाएर, दोष देखाएर पन्छिने अवस्था छैन,' उनले भने ।उनले देशदौडाहा जारी राख्ने संकेत पनि गरेका छन् । 'धेरै ठाउँबाट बोलाइएको छ । हेर्दै जाऊँ । जनतामाझ जान पहिले पनि अप्ठयारो थिएन, अहिले पनि छैन ।' उनले भने ।उनले आफ्नो दैनिकीबारे पनि केही जानकारी दिएका छन् । बिहान ६ बजेतिर उठेर पाठ गर्ने र नाति/नातिना स्कुल जानुअगाडि केही समय उनीहरूसँग बिताउने गरेको बताउँदै उनले त्यसपछि सर्वसाधारणसँग भेट गर्ने गरेको जानकारी दिए ।

No comments:

go up