Thursday, May 27

बैठक निष्कर्षविहीन

काठमाडौं, जेठ १२ (नागरिक)-
राजनीतिक गतिरोध अन्त्य गर्नका लागि बुधबार साँझ बसेको तीन राजनीतिक दलको शीर्ष नेताहरुको बैठक बिना निष्कर्षमा टुङ्गिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा राजनीतिक दलहरु आ-आफ्नै अडानमा कायम रहे पछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिउँसो प्रधानमन्त्री माधवकुमार नेपालसँग भएको वार्ताको बारे जानकारी गराएका थिए । बैठकमा अध्यक्ष दाहालले सहमति भएपनि प्रधानमन्त्री नेपाल पदबाट राजिनामा नदिने मनस्थितमा नरहेको बताएका थिए । दाहालले बैठकमा 'प्रधानमन्त्रीले राजिनामा दिनेभन्दा संविधानसभा विघटनको होस भने चाहेको बताएका थिए ।'
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश संकटको मोडमा पुगेको बताए । कंग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले प्याकेजमा सहमति भए मात्रै  प्रधानमन्त्रीले राजिनामा दिने बताए । केसीले भने 'हामीले प्रधानमन्त्रीको राजिनामाको कुरालाई संविधानसभाका समय थप्ने कुरासँग नजोडै भन्ने कुरामा जोड दिँयौं ।'  'दलहरुबीच सहमति भयो भने प्रधानमन्त्री बाधक हुनुहुने छैन,' केसीले भने, 'सत्तामा मात्रै केन्द्रीत दृष्टिकोण नै समाधानका लागि बाधक हो ।'बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा सहभागि थिए भने नेपाली कांग्रेसकोतर्फबाट कार्यवहाक सभापति सुशील कोइराला, नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र नीधि, अर्जुन नरसिंह केसी, कृष्णप्रसाद सिटौंला सहभागी भएका थिए । बैठकमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल,  महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेल, भारतमोहन अधिकारी र प्रदीप ज्ञवाली सहभागी रहेका थिए । अर्को बैठक बिहीबार विहान ११ बजे बस्ने छ ।

No comments:

go up