Friday, May 28

प्रमुख तीन राजनीतिक दल


काठमाडौं, १४ जेठ (दैनिकी) 

संविधानसभाको म्याद सकिन लाग्दा प्रमुख तीन राजनीतिक दल आन्तरिक एवम् बाह्य छलफल गर्न व्यस्त रहेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्षनेताहरू यतिखेर सहमतिका लागि आन्तरिक एवम् बाह्य छलफलमा जुटेका हुन्। यसै क्रममा आज बिहान नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा नेकाका पदाधिकारीहरूको बैठक बस्यो। बैठकमा संविधानसभाको म्याद बढाउने विषयमा छलफल भएको र 'प्याकेज'मै सहमति कायम गर्न जोड दिइएको प्रवक्ता अर्नुननरसिंह केसीले जानकारी दिनुभयो।


उहाँले भन्नुभयो–'प्याकेजमा सहमति हुनुपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुहुन्न।' बैठकले संविधानसभाको म्याद बढाउने विषयमा माओवादीसँग सहमति कायम गर्न छलफल जारी राख्ने र प्याकेजमै सहमति कायम गर्न जोड दिएको प्रवक्ता केसीले बताउनुभयो।
यसैगरी नेकपा (एमाले) संसदीय दलको बैठक पनि सम्पन्न भएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष झलनाथ खनालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बैठकपछि अध्यक्ष खनालले सञ्चारकर्मीलाई भन्नुभयो–बेलुकीसम्म संविधानसभाको म्याद थप गर्न सहमति कायम हुन्छ।' बैठकले संविधानसभाको म्याद थप गर्न हदैसम्मको लचिलो बन्ने निर्णय गरेको सभासद् रवीन्द्र अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले संविधानसभाको म्याद थप गर्न सरकारद्वारा व्यवस्थापिका–संसदमा प्रस्तुत गर्न लागेको अन्तरिम संविधान संशोधन सम्बन्धी विधेयकको पक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित हुनुहुन्थ्यो। यसैबीच बिहान ८ बजे बस्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसदको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।


No comments:

go up