Wednesday, May 26

नेपाली हो भन्दै मर्नेगरी कुटे,'




 झापा, जेठ १२- चौध वर्षको उमेरमा काम खोज्दै मेघालय पुग्दा बुटवलका नेत्रबहादुर विकलाई मुग्लान पनि आफ्नै आँगनजस्तै लागेको थियो। रहनसहन र भेषभुषा मिलेकाले मात्र होइन देखे-भेटेकाले नेपाली बोलेकाले उनलाई त्यो ठाउँ पराई लागेन।तर, ४३ वर्षपछि त्यही भूमिमा आफ्नो भाषाकै कारण उनले झन्डै ज्यान गुमाउनुपर्‍यो। नेपाली भाषी भएकैले स्थानीय खासी समुदायको आक्रमणमा उनी पनि परे। 'नेपाली हो भन्दै मर्नेगरी कुटे,' मेघालयको छालाङबाट भागेर मंगलबार काँकरभिट्टा आइपुगेका ५७ वर्षीय विकले भने, 'बल्लबल्ल ज्यान जोगाएर यहाँ आइपुगियो।'  


ज्यान लिने धम्की बारम्बार आउन थालेपछि उनी वृद्ध आमा र लालाबालासहित जन्मभूमि आइपुगेका छन्। मेघालयका आदिवासी खासीहरूले रातैपिच्छे धम्क्याउन थालेपछि सबथोक माया मारेर हिँडेको उनले बताए। 'मर्नुभन्दा हिँड्नै जाती,' विकले भने, 'नछाडे मार्छौं, घर जलाउँछौं भन्न थाले।' आफ्ना छरछिमेकले पनि सँगै गाउँ छाडेको उनले बताए। कोइलाखानीमा मजदुरी गरेरै चार दसक बिताएका विक डेरामा बस्थे। सबेरै खानी गयो, दिनभरि गाडीमा कोइला लोड गर्‍यो, साँझ फर्कियो - यही उनको दैनिकी थियो। जति गर्‍यो त्यति ज्याला बढी पाइने हुनाले त्यस दिन उनी छिट्टै काममा गएका थिए। तर, धेरै कमाउन हतारहतार खानी पुगेका उनले ज्यानमारा हमला सहनुपर्‍यो। 'काम सुरु गर्नै आँट्या थेँ,' त्यसदिनको घटना सुनाउँदै विकले नागरिकसँग भने, 'एक्कासी ढाडमा गह्रौं चिज बज्रियो, पछाडि फर्किन खोज्दा छातीमा उसैगरी ड्याम्म लाग्यो।' दुई/तीनजनाले ढुंगा हानेको बताउने उनलाई त्यसको कारण भने थाहै भएन। 'हिँड्ने बेला तँ नेपाली होइन? मेघालय छाडेर गइहाल भन्दै धम्क्याएर हिँडे,' उनले थपे, 'त्यसपछि अरूले मलाई अस्पताल लगे।' तीन दिनको उपचारपछि बोल्न सक्ने भएका उनलाई अहिले पनि खोक्दा, खाँदा र थुक निल्दा छाती दुख्छ। घरको कमजोर अवस्थाले आफूलाई हुर्र्कौलो उमेरमै मुग्लान जाने बाध्यता परेको उनले बताए। 'खानीमा सबै नेपाली दाजुभाइ छन्,' लामोसमय त्यहाँ काम गर्नुको कारणबारे उनले भने, 'उतै अडिएँ।' राम्रो आम्दानी हुँदै गएपछि डेढ दसकअघि उनले परिवार पनि उतै लगेका थिए। राम्ररी काम चल्दा दैनिक हजार भारुसम्म हाजिरा (ज्याला) बसाउने उनले आफ्ना दुई भाइलाई खानीमै काम लगाएका थिए। 'छोराले उतै राम्रो हुन्छ भनेपछि ग'का थियौं,' विककी ७० वर्षीया आमा पवित्राले भनिन्, 'अहिले घर न घाटको पारे।' उनीहरू हतारमा भाग्दा दुःख गरेर जोडेका भाँडाकुँडा र लत्ताकपडा ल्याउन भ्याएनन्। 'सबथोक राम्रै थियो,' खेदिनुको कारण राम्ररी थाहा नपाएकी पवित्राले गला अवरुद्ध पार्दै भनिन्, 'के गर्नु असत्तीहरूले बस्न देनन्।' चार केटाकेटीसहित नौजनाको परिवार मंगलबारै पुर्ख्यौली थलो बुटवल लागेको छ। 'यतै हलो जोतिन्छ,' आक्रमणमा घाइते नेत्रले भने, 'कम्तीमा खेदिनु त पर्दैन।' नेत्रबहादुरजस्ता वर्षौं मुग्लानमा पसिना चुहाएर उतैका रैथाने बनिसकेका ४० हजारभन्दा बढीले नेपाली भाषी भएकै कारण खेदिनुपर्‍यो। उनी त परिवारसहित पुर्ख्यौली गाउँ फर्के। तर, मुग्लान पसेका धेरैको नेपालमा टेक्ने ठाउँ छुटिसकेको छ। मंगलबार मात्रै त्यस्ता सयौं नेपालीभाषी काँकडभिट्टा आइपुगे। लांगपीको सीमा विवादमा आसाम प्रहरीले गोली चलाउँदा चार खासीको मृत्यु भएपछि बदला लिने नाममा नेपालीहरू तारो बनेका हुन्। खासीले अहिले नेपालीलाई खोजी-खोजी आक्रमण गरिरहेका छन्। सोमबारसम्म १७ जनाले ज्यान गुमाइसकेको आधिकारिक तथ्यांक आएको छ। 
'भारतको संविधान प्रतिकूल घटना'

भारतको मेघालयमा वर्षौंदेखि बसोबास गरिरहेका नेपाली भाषी स्थानीय खासी समुदायबाट खेदिएको घटना भारतको संविधान र कानुन प्रतिकूल रहेको मानव अधिकार संगठनले जनाएको छ।
सीमा र अन्य विभिन्न बहानामा एक साताभित्रै १७ नेपालीको हत्या भएको र यसबाट ४० हजारभन्दा बढी विस्थापित भएको घटनाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रसमेत उल्लंघन गरेको संगठनद्वारा मंगलबार जारी विज्ञप्तिमा छ। मेघालयका नेपाली भाषीको जीवा र मानवअधिकार रक्षाका लागि प्रभावकारीकदम चल्न भारत सरकार तथा राष्ट्र संघसमक्ष अपिल गरिएको छ।

No comments:

go up