Saturday, May 8

माओवादी र शान्ति र्‍याली


काठमाडौँ, २४ वैशाख। (दैनिकी)
नेपाल उद्योग वाणिज्य महासङ्घ र विभिन्न पेसाकर्मी सङ्घसङ्गठनको आयोजनामा भएको शान्ति र्‍यालीमा सहभागी र एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताबीच झडप भएको छ । शान्ति शभामा सहभागी सर्वसाधारणको वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुश माथि माओवादी कार्यकर्ताले आक्रमण गरेपछि उक्त झडप भएको हो । प्रदर्शनी मार्ग राष्ट्रिय सभागृह अगाडि शान्ति र्‍याली र माओवादीबीचको झडप नियन्त्रणका लागि प्रहरीले चार राउण्ड अश्रृ ग्याँस प्रहार गरेको थियो । एमाओवादी कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले सुरक्षाका लागि उक्त अश्रुग्यास प्रयोग गरेको थियो। 
वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुशले नयाँ सडक, सुन्धारा, रत्नपार्क, जमल घण्टाघर, प्रदर्शनी मार्ग, पुतली सडक लगायतका क्षेत्रको परिक्रमा गरेको थियो । परिक्रमा गर्नेक्रममा शान्तिर्यालीमा सहभागि र माओवादी कार्यकर्ताबीच विभिन्न ठाँउमा झडप भएको हो । र्‍यालीमा लाखौँ सर्वसाधारणको स्वस्फुर्तरुपमा सहभागिता रहेको थियो ।
तीन दलीय सहमति शीघ्र कायम गरी दबाब दिन विभिन्न पेसा, व्यवसाय सङ्घ संस्थाको आह्वानमा काठमाडौँ वसन्तपुरमा शान्तिसभाको आयोजना भएको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र पेसागत महासङ्घ (पापड)द्वारा संयुक्तरुपमा आयोजित सो शान्तिसभामा लाखौँ जनताको सहभागिता रहेको थियो। सभामा शान्तिको कामना गर्दै महासङ्घका अध्यक्ष कुशकुमार जोशी, कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, पापडका अध्यक्ष प्रेमबहादुर खड्का, नेपाल पत्रकार महासङ्घका महासचिव पोषण केसी,नेपाल चिकित्सा सङ्घका अध्यक्ष डा. केदारनरसिंह केसीलेलगायतका विभिन्न व्यक्तित्वले परेवा उडाउनुभएको थियो।
एकीकृत नेकपा (माओवादी) द्वारा आह्वान गरिएको आमहडतालका कारण जनजीवन अस्तव्यस्त हुनथालेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले शान्तिसभा आयोजना गर्ने निर्णय गरेको थियो। “आमहडताल स्थगन गर, तीन दलीय सहमति कायम गर, पूर्वसम्झौता कायम गर” भन्ने नारा लेखिएको प्ले कार्डसहित सो ऐतिहासिकस्थलमा लाखौँ जनताले सभामा ऐक्यबद्धता जनाएका थिए। सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष जोशीले नागरिकको आवाज नेतालाई सुनाउन शान्तिसभा आयोजना गरिएको हो, यो कुनै राजनीतिक दलसँग लक्ष्यित छैन भन्नुभयो। उहाँले भन्नुभयो— तीन राजनीतिक दलले दुई दिनभित्र सहमति गरी राजनीतिक निकास ननिकालेमा जनताको धैर्यको बाँध टुट्छ।
हास्यव्यङ्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रहसनका माध्यमबाट आमहडताल फिर्ता लिई सहमतीय राजनीतिमा आउन माओवादीलाई आह्वान गर्नुभएको थियो भने सरकारले पनि जनताका दुःख बुझ्न आग्रह गर्नुभएको थियो। कलाकार श्रेष्ठले भन्नुभयो— “तीन दलका आदरणीय नेतालाई कुन कुन कुराले सहमति कायम गर्न अप्ठ्यारो पर्‍यो, जनतालाई भनिदिनुपर्‍यो।” अर्का कलाकार आचार्यले भन्नुभयो— “जनता देशका मालिक हुन्, प्रधानमन्त्री होइनन्।”
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले सहमति उच्चारण गर्ने तर सहमति नगर्ने नेतालाई दबाब दिन सभा आयोजना गरिएको हो भन्नुभयो। उद्योग वाणिज्य महासङ्घले तीन दलबीच सहमति गराई राजनीतिक निकास निकाल्न पटकपटक तीन दलबीच सहमतिका लागि वार्ताको संयोजन पनि गर्दै आइरहेको छ।
शान्तिसभापछि महासङ्घका अध्यक्ष जोशीले सञ्चारकर्मीलाई भन्नुभयो— जनताका नाममा बन्द गर्न पाइँदैन, यसैलाई दबाब दिन सभा आयोजना गरिएको हो। उपत्यकाका विभिन्न स्थानबाट निस्केको छुट्टाछुट्टै र्‍याली सभामा परिणत भएको थियो। सभामा गायिका आनीछोइङ डोल्माले शान्ति पाठ गर्नुभएको थियो।

No comments:

go up