Friday, June 4

तीन दलले भने तत्काल राजीनामा दिन्छुः प्रम नेपाल

(काठमाडौं)जेठ २०
 प्रमुख तीन राजनीतिक दलबीच भएको तीनबुँदे सहमतिका बारेमा दलहरूबीच भइरहेको फरक-फरक व्याख्यालाई एकीकृत गरी यथाशीघ्र सहमति गर्न तीव्र गृहकार्य प्रारम्भ भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूको बुधबार संविधानसभा भवनमा बसेको बैठकमा सहमति र सहकार्य बेगर अगाडि बढ्नुको विकल्प नभएकाले यथाशीघ्र सहमतिको यात्रा तय गर्ने कुरामा सबैको एकमत देखिएको भए पनि तीनबुँदे सहमतिअर्न्तर्गत माओवादीले प्रधानमन्त्रीको राजीनामा आइहाल्नुपर्ने धारणा दोहोर्याएको

र एमाले-कांग्रेसले शान्ति प्रक्रियाको विषयमा सहमति भएपछि एकसाथ राजीनामा आउने धारणा पुनः राखेपछि कुनै सहमति हुन सकेन।प्रधानमन्त्री नेपालले भने तीन दलका शीर्ष नेताहरूको बैठकमा तीनबुँदे सहमतिको आशय के हो तीन दलले भनेमा आफू जुनसुकै बेला राजीनामा दिन तयार रहेको भनी स्पष्ट पार्नुभएको छ।
उहाँले सहमति र सहकार्यबिना शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले पूर्णता पाउन सक्तैन भन्ने कुरामा सबैको एकमत भइसकेपछि त्यसमा अब ढिलाइ नगरौं भनी आग्रहसमेत गर्नुभयो।बैठकमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री नेपालले तीन दलले आजै भनेमा पनि राजीनामा दिन तयार रहेको तर राष्ट्रिय सहमतिको सरकार बनाउने खाका तय नभईकन राजीनामा दिँदा झन् अन्योल हुन्छ कि भन्ने आशयसहितको धारणा राख्नुभएको थियो। प्रधानमन्त्री नेपालले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्छ भन्दै तीन दलबीच भएको सहमतिमा उल्लिखित बुँदाहरूलाई सोहीबमोजिम सहमति गरी तत्काल कार्यान्वयन गर्नुपर्छ अन्यथा सरकारको नीति तथा कार्यक्रम, बजेटजस्ता विषयमा पनि अन्योल उत्पन्न हुन्छ भन्नुभएको छ।
उहाँले असार २५ गते बजेट पेस गर्नुपर्छ, त्योभन्दा अगाडि जेठ २५ बाट पूर्ण बजेट छलफल गर्ने नियमावलीमा व्यवस्था छ, त्यो समय आइसकेको हुनाले नयाँ सरकारले पेस गर्ने हुँदा पनि चाँडो गर्नुपर्छ भन्दै त्यो अन्योलतर्फपनि तीन दलका शीर्ष नेताहरूको ध्यानाकर्षा गराउनुभएको थियो।प्रधानमन्त्री नेपालको प्रस्तुति सकारात्मक भएकाले उहाँले चाँडै राजीनामा दिनुहुने माओवादी नेताहरूको भनाइ थियो। माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भनाइ सकारात्मक रहृयो भन्दै आफ्नो पार्टी त ‘बोल्ड डिसिजन’ गरी आजै राजीनामा दिनुस्, त्यसपछि सबै प्रक्रिया सहज रूपमा अगाडि बढ्छ भनी आग्रह पनि गरेको बताउनुभयो।
उहाँले कांग्रेस र एमालेलाई प्रधानमन्त्रीलाई राजीनामा गराउन सहयोग गर्न आफ्नो पार्टी आग्रह गरेको बताउनुभयो। उहाँले तीनबुँदे सहमतिमध्ये तेस्रो बुँदा महत्त्वपूर्ण र पहिलो बुँदा त्योभन्दा कम महत्त्वपूर्ण भनेर पार्टी व्याख्या गरेको छैन भन्दै शान्ति प्रक्रियासँग सम्बन्धित विषय र राजीनामा दुवै बराबरी महत्त्वका हुन्, त्यसैले शान्ति प्रक्रियाभन्दा अगाडि राजीनामा भन्ने भनाइ पार्टीको नभएको स्पष्ट पार्नुभयो। उहाँले त्यसबारेमा थप्नुभयो- ‘शान्ति प्रक्रियाको न्यूनतम सहमति गर्न समय लागे पनि प्रधानमन्त्रीले राजीनामाचाहिँ पाँच दिनभित्र दिनुपर्छ भन्ने मौखिक सहमति भएको हो।’नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले भने प्रधानमन्त्रीले राजीनामा दिने त भनी नै सक्नुभएको छ र हामीबीचको सहमति पनि त्यही हो तर तीन बुँदामध्ये शान्ति प्रक्रियासँग सम्बन्धित बुँदा एकअर्कासँग जोडिएको छ, त्यसैले राजीनामा अगाडि शान्ति प्रक्रियाको विषयमा पनि सहमति हुनुपर्छ र एकैचोटि दुवै काम हुन सक्छ भन्नुभयो। उहाँले दुवै विषय महत्त्वपूर्ण हुन् भन्ने कुरामा माओवादी पनि सहमत भएको तर राजीनामाचाहिँ आइहाल्नुपर्यो भनेर कहाँ हुन्छ भन्नुभयो।नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले तीनबुँदे सहमतिका बारेमा देखापरेको अविश्वासलाई बैठकले हटाउने महत्त्वपूर्ण काम गरेको भन्दै शान्ति प्रक्रियासँग सम्बन्धित बुँदा र राजीनामासँग सम्बन्धित बुँदा दुवै अविलम्बन कार्यान्वयन गर्ने हो, त्यसमा सहमति बनेको जानकारी गराउनुभयो। अध्यक्ष खनालले निरन्तर बैठक बसेर यथाशीघ्र सहमति कायम गरिनेछ, भन्नुभयो।
राष्ट्रिय सहमतिको सरकार बनाउनेबारेमा खाका तय गर्नेबारेमा पनि बैठकमा छलफल भएको, तर कसको नेतृत्वमा भन्नेबारेमा दलहरूबीच विवाद कायमै रहेकाले पनि प्रधानमन्त्री नेपालले राजीनामा दिन केही दिन ढिला हुन सक्ने सम्भावना रहेको छ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), सद्भावना पार्टी तर्राई-मधेश लोकतान्त्रिक पार्टीको बुधबार संयुक्त रूपमा बसेको बैठकले सहमति निर्माण नभई प्रधानमन्त्री नेपालले राजीनामा दिन नहुने निर्णयगरेको छ। सहमतिबिना राजीनामा दिएमा थप अन्योल हुने तीन मधेसवादी दलको निष्कर्ष रहेको छ।माओवादीले भनेजस्तो बुधबार साँझसम्म प्रधानमन्त्री नेपालले राजीनामा नदिएपछि अब के गर्ने भन्नेबारेमा आज बिहीबार पार्टी निर्णयगर्ने जानकारी नेता नारायणकाजी श्रेष्ठले दिनुभएको छ। नेता श्रेष्ठले बधुबार राति नेपाल समाचारपत्रसँग भन्नुभयो- प्रधानमन्त्रीको राजीनामा बुधबार साँझसम्म आउनुपथ्र्यो, त्यो नआएकाले अविश्वास पैदा गरेको छ, त्यसबारेमा बिहीबार हामी निर्णयगर्नेछौं।’

No comments:

go up