Tuesday, June 15

मनिषाको विहे



 काठमाडौं, जेठ ३१


 अभिनेत्री मनिषा कोइरालाको बिहे नेपाली परम्परालाई पछ्याएर गरिने उनका अभिभावकले बताएका छन्। 'बाजासमेत परम्परागत हुनेछ,' पिता प्रकाश कोइरालाले आइतबार नागरिकलाई भने,'सकभर सबै प्रकृया नेपाली हिसाबले पुरा गर्ने योजना बनाएका छौं।'प्रजातन्त्रवादी राजनेता बिपि कोइरालाकी नातिनी एवं मुम्बइ फिल्म उद्योगकी अभिनेत्री मनिषा कोइराला यसै शुक्रबार व्यापारी सम्राट दहालसँग विवाहबन्धनमा बाँधिदै छिन्। गोकर्णमा आयोजना हुने वैवाहिक समारोहको दुई दिनपछि सोल्टी होटलमा भोजको आयोजना गर्न लागिएको जानकारीसमेत प्रकाशले दिए।


बिहेको प्रकृया लगातार तीन दिनसम्मै चल्नेछ।उनका अनुसार कार्ड छाप्ने प्रवन्ध गिरिजाप्रसाद कोइरालाका झट्केला छोरा सुरेश कोइरालाले मिलाइदिएका हुन्। 'धेरै कार्ड चाहिने भएकाले सक्दो सस्तो चाहिन्छ भनेर सुरेश दाजुलाई भनेको थिए,' प्रकाशले भने,'छाप्ने स्थानको टुंगो उहाँले नै गर्नुभएको हो।'यसरी तयार भएको कार्डमा आफन्त र नेपाल भित्रका अतिथिहरुको नाम तय आफूहरुले गरेको र विदेशबाट निम्त्याउनेको सूची मनिषाले तयार पारेको प्रकाशले बताए।भोजका निम्ति तीन हजार जनाको नाम कार्डमा लेखिसकेका छौं,' उनले भने,'सुनसरीबाटै अझ पाँच सय जनाको नाम लेख्न बाँकी नै छ।' आमन्त्रितहरुको संख्या अझै बढ्ने संकेत दिँदै कोइराला परिवारका आफन्त र नातागोताको सूची बेग्लै तीन सय जनाको तय भइसकेको उनले बताए। भोजका निम्ति राजनीतिक दलका सबैजसो उच्च नेतालाई निम्त्याएको कोइरालाले जानकारी दिए। नेपाली काँग्रेसका भने पुराना नेताहरुलाई सकभर नछुटाइएको उनको भनाइ थियो।एक्ली छोरी मनिषाको विहेमा पूर्वमन्त्री प्रकाशले दाइजो के दिँदैछन्?'अहिलेसम्म त्यो विषयमा कुरै भएको छैन,' कोइरालाले भने,'वर पक्षले केहि मागे भने पुरा गर्न तयार छु।' नमागे पनि आफ्नी छोरीलाई खाली हात विदा नगर्ने उनले स्पष्ट पारे।पहिलेदेखि चिनेका साथीको छोरा सम्राटबारे आफूलाई सबै जानकारी रहेको प्रकाश बताउछन्।'उनी सामाजिक कार्यमा समेत संलग्न छन्,' उनले अगाडि भने,'मेरी छोरीले बिहेको निम्ति सहि युवकको चयन गरेकी छिन्।' मनिषाले विवाहका निम्ति दुई महिनाअघि आफैँले सात वर्ष कान्छा सम्राटको चयन गरेकी हुन्।बिहे पछि मनिषा सम्राटसँगै बस्ने र कहाँ भन्ने कुरा उनीहरुले नै तय गर्ने प्रकाशले स्पष्ट पारे।कोइरालाका अनुसार गोकर्णमा आयोजना हुने विहेमा कम्तीमा तीनसय जना जन्ती हुनेछन्।विदेशबाट पनि 'इन्टरनेशनल सेलिब्रिटी' निम्त्याइएको जानकारी दिने प्रकाशका अनुसार यसको सम्पूर्ण जिम्मेवारी मनिषा स्वयंले लिएकी छिन्।'थुप्रै चर्चित व्यक्ति जम्मा हुनेछन्,' कोइरालाले भने,'तर, नामै तोकेर अहिल्यै भन्नु हतार हुनेछ।'यसअघि छोरा सिद्धार्थ कोइरालाको बिहे गर्दा भने त्यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वको उपस्थिती नरहेको उनले बताए

No comments:

go up