Monday, June 14

पोखरा-दिल्ली बस सातामा छ दिन


पोखरा, जेठ ३०
 मोडर्न एरा टुर्स एन्ड ट्राभल्सले सातामा छ दिन पोखरा-नयाँदिल्ली सिधा बस सञ्चालन गर्ने भएको छ। हाल यसले यो रुटमा सातामा तीन दिन बस चलाइरहेको छ।नेपाल पर्यटन वर्ष २०११ मा बढ्न सक्ने भारतीय पर्यटक लक्ष्य गरी सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। मोडर्नले अहिले साताका सोमबार, बुधबार र शुक्रबार पोखरा-दिल्ली तथा आइतबार, बुधबार र शुक्रबार दिल्ली-पोखरा बस चलाइरहेको छ। आगामी साउनदेखि सेवा विस्तार गरी दोब्बर पुर्‍याउने मोडर्नका कार्यालय प्रमुख टिका भण्डारीले बताए।

'दुवै रुटमा छ दिन बस चलाउने तयारी गरेका छौं,' उनले भने। यसका लागि कम्पनीले सुविधासम्पन्न नयाँ दुई पर्यटक बस ल्याउन लागेको जानकारी दिए। हाल कम्पनीसँग यस्ता बस पाँचवटा छन्।

तीन वर्षदेखि मोडर्नले पोखरा-दिल्ली-पोखरा रुटमा बस चलाइरहेको छ। ३५ सिट क्षमताका सुविधा सम्पन्न बसले पोखराबाट दिल्ली करिब ३५ घन्टामा पुर्‍याउँछन्। फर्कंदा पनि त्यति नै समय लाग्छ। यी बस पोखराबाट नारायणगढ, बुटवल, नेपालगञ्ज, रुपैडिया हुँदै दिल्ली पुग्छन्। 
नेपालीसहित विदेशी पर्यटकले पनि यी बसमा यात्रा गर्ने भएकाले अध्यागमन कार्यालय भएको बाटो प्रयोग गर्नुपर्छ। पोखरा-दिल्ली मार्गमा भैरहवा र नेपालगञ्जमा मात्र अध्यागमन कार्यालय छन्। 'दिल्लीबाट यहाँ आउँदा विदेशी पर्यटक कम हुन्छन, तर यहाँबाट जाँदा विदेशी धेरै हुन्छन्' भण्डारीले भने। 

एकमात्र विदेशी यात्रा गरे पनि अध्यागमन कार्यालय भएको बाटो प्रयोग गर्नुपर्ने उनले बताए। यात्रुमध्ये करिब २० प्रतिशत विदेशी र बाँकी नेपाली तथा भारतीय हुने गरेको मोडर्नले जनाएको छ।

कम्पनीका अनुसार पोखराबाट दिल्ली हुँदै आफ्नो देश फर्कनेमा जापानी, अमेरिकी, बेलायती, रुसी, इजरायली लगायत पर्यटक हुन्छन्। भारत हुँदै नेपाल घुम्न आएका केही पर्यटक यही बाटो हुँदै बसबाट पोखरा आउँछन्। त्यस्तै केही पर्यटक दिल्लीबाट काठमाडौं जहाजमा र फर्कंदा पोखराबाट बस प्रयोग गर्छन्। 

बस सेवाबाट नेपाली यात्रु बढी लाभान्वित भएको भण्डारी बताए। रोजगारीका लागि भारत गएका नेपालीले अरु साधनभन्दा सिधा बस प्रयोग गर्न चाहन्छन्। 'तीन-चारवटा साधन फेरेर आउँदा झन्झटसँगै ढिला हुने र सामान हराउने डरले हाम्रो बसमा आउन खोज्छन्,' उनले भने।मोडर्नले एकतर्फी भाडा प्रतियात्रु विदेशीलाई २ हजार ५ सय र नेपाली तथा भारतीयलाई २ हजार २ सय रुपैयाँ पर्छ। कम्पनीका यी बसले वार्षिक करिब १० हजार यात्रु बोक्ने गर्छन्। एउटा बस चलाउन दुई चालक रहेका छन्।

1 comment:

aashish said...

Dherai Ramro Blog rahechha...
Entertainment Nepal

go up