Monday, June 21

पैसा लिएर मेनपावर सञ्चालक फरार


इटहरी, असार ५
 वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै इटहरीको एक मेनपावर सञ्चालक १ सयभन्दा बढी युवाबाट पैसा लिएर फरार भएका छन्। रोज ओभरसिज प्रालिका सञ्चालक जिङ्मी शेर्पाले 'प्रोसेसिङ' खर्च भन्दै जनही २५ हजार रुपैयाँ लिएका थिए। भिसा आएपछि बाँकी रकम तिर्ने सर्तमा युवाले 'प्रोसेसिङ' खर्च बुझाएर चार महिनाअघिदेखि ताकेता गरेकोमा एक सातादेखि सञ्चालक शेर्पा फरार भएको पीडित ताप्लेजुङnagrik
खेवाका सूर्य लिम्बूले बताए। 'प्रोसेसिङ' खर्च बुझाउने युवाले बढी नै धाउन थालेपछि कार्यालयको सवब सामान उठाएर एक सातादेखि शेर्पा र अन्य दुई जना सहयोगी फरार भएको उनले जानकारी दिए। फरार हुने दुई सहयोगीमा भान्जा टासी शेर्पा र छोरा छन्। सबै जना अघिल्लो शुक्रबारदेखि फरार भएको जनाइएको छ। फरार सबैको स्थायी बसोबास भने पत्तो लागेका छैन।
सुनसरीका मोहन गिरीका अनुसार शेर्पाले आफ्ना दुई जना ज्वाइँ जापानमै रहेका र उनीहरुमार्फत भिसा लगाउन सजिलो हुने अनि आकर्षक तलब–भत्ता पनि पाइने आश्वासन दिएर 'प्रोसेसिङ' खर्च लिएका थिए। पैसा बुझाउनेमा अधिकांश झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायतका युवा छन्। 
कतिपय युवाले शेर्पालाई सक्कली प्रमाणपत्रसमेत बुझाएकाले उनीहरु थप मारमा परेका छन्। मेनपावरमा 'प्रोसेसिङ' का लागि पैसा बुझाउनुअघि युवाहरुले जापानिज भाषा पनि अलग्गै सिकेका थिए। 'एकातिर जापानिज भाषा सिक्न खर्च लाग्यो, अर्कातिर मेनपावरका सञ्चालकले पैसा लिएर फरार भए,' धरानका सुनिल राईले भने- गलत आश्वासनमा पर्दा बरबाद भयो।' पीडित युवाहरुले अहिले सबै क्षेत्रमा शेर्पासहित उनका सहयोगीको खोजी जारी राखेका छन्।
पीडित युवाले दोषीको खोजी गरी पक्राउ गर्न इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन्। प्रहरी निरीक्षक श्यामल सुब्बाले पीडित युवालाई मेनपावर सञ्चालक सङ्घ इटहरीसँग सहयोग लिएर अघि बढ्न सुझाव दिएको बताए।

No comments:

go up