Wednesday, June 30

संखुवासभामा पहिरो>>>>


धनकुटा, असार १५- संखुवासभाको सिसुवाखोला गाविसको वडा नः ४, ५ र ६ मा गएको पहिरोमा परी ५६ घरका २८० जना विस्थापित भएका छन्। मंगलबार दिउसोदेखि जान थालेको पहिरोले १२ घर बगाएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी राजीव पोखरेलले बताए।विस्थापितहरु नजिकैको गाउँमा बसीरहेका छन्। गाउँमाथिबाट आएको पहिरोले कर्ण राई र हर्कबहादुर राई ५ वटा गाई समेत बगाएको छ। दिउसो पहिरो गएकाले मानवीय क्षति भने भएको छैन।
पहिरोले सिसुवा खोला गाविसको ४ र ५ जोड्ने नावाखोलाको पुल बगाएको छ। अहिले पनि अविरल वर्षा भइरहेकाले पहिरो नरोकिएको बताइएको छ।पहिरो गएको जानकारी पाउनासाथ सखुवासभाको ताम्कु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेका छन्। उनीहरुले पहिरो पीडितहरुको क्षति विवरण लिने कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। आवश्यक परे सो स्थानमा परिचालन गर्न थप टोली तयारी अवस्थामा रहेको उनले बताए।गत वर्ष साउन ११ गते संखुवासभाको ताम्कु गाविस वडा नः ९ सिक्दिममा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने ४० घर विस्थापित भएका थिए। त्यस्तै बाला गाविसमा पनि गत साल भदौमा गएको पहिरोमा परी २४ घर विस्थापित भएका थिए।

No comments:

go up