Friday, June 25

२०० किलो चरेससहित गिरोह समातिए

काठमाडौं,१० असार :
अन्तर्राष्ट्रियस्तरमा चरेसको कारोबार गर्ने गिरोहलाई दुई सय किलो चरेससहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहबाट तीन वर्षयताकै सबैभन्दा ठूलो परिमाणमा चरेस बरामद गरेको हो । लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइले राजधानीबाट सोमबार पक्राउ गरेका गिरोहका ६ जनालाई बुधबार सार्वजनिक गरिएको छ । इकाइको 'विशेष अप्रेसन'
टोलीले सुरुमा चरेससहित दुईजनालाई केही साताअघि पक्राउ गरेको थियो । उनीहरूको बयानमा थप अन्यलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १९ जेठमा नेदरल्यान्ड पठाउन तयार पारिएको चरेस राखिएका १३ वटा काठका बक्सा बुकिङका लागि आएका झापा काबेरा-२ का रविरत्न चुडाल र बौद्ध बस्ने तिब्बतीयन नागिरक दोर्जे लामालाई इकाइको अप्रेसन टोलीले पक्राउ गरेको हो । उनीहरूलाई त्रिशक्तिमार्गबाट चरेससहित पक्राउ गरेको इकाइका प्रमुख डिआइजी गणेशराज राईले बताए ।

प्रहरीका अनुसार उनीहरूले काठको बक्सामाथि तिब्बतीयन धुप राखेर त्यसभित्र फल्सबटम बनाएर चरेस लुकाएका थिए । उनीहरूलाई पक्राउ गरेपछि तिनैको बयानका आधारमा दोर्जे नामका अर्का एक तिब्बतीयन मूलका व्यक्ति तथा बौद्धमै बस्ने पेम्बा गुरुङ, निमा लामा र सोनाम डिन्डु भनिने डोङ्गो शेर्पालाई पक्राउ गरिएको राईले जानकारी दिए ।

डिआइजी राईका अनुसार सोनाम डिन्डु गिरोहका मुख्य व्यक्ति हुन् । उनको साथबाट भारतीय राहदानीसमेत फेला परेको छ । उनले लिएको भारतीय राहदानी सक्कली वा नक्कली भन्ने बारेमा अनुसन्धान भइरहेको डिआइजी राईले बताए । 'हालसम्म राहदानीको आधारमा ऊ तिब्बती मूलको भारतीय नागरिक भन्ने खुलेको छ,' राईले भने, 'राहदानीकै माध्ययमबाट उसको वास्तविकताबारे अनुसन्धान भइरहेको छ ।' डिन्डु लामो समयदेखि नेपालमै बस्दै आइरहेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालका विभिन्न स्थानबाट चरेस संकलन गरेर नेदरल्यान्ड पठाउने र त्यहाँबाट अन्य देशमा पठाउने गरेको डिआइजी राईले दाबी गरे ।

डिन्डुले नेपालबाट पठाएको चरेसलगायतका लागूऔषध नेदरल्यान्डमा रहेका गिरोहका सदस्यले 'रिसिभ' गरेर छुट्टै 'प्याकिङ' गरी अन्य देशमा पठाउने गरेको प्रहरीसँग बयान दिएका छन् । नेदरल्यान्डबाट जापान, अमेरिकालगायत विश्वका दर्जनबढी देशमा लागूऔषधको कारोबार गर्ने गरेको डिन्डुले बताएका छन् ।

No comments:

go up