Friday, June 25

चोरीका गाडी

नेपालगन्ज, असार ११

 पछिल्लो समयमा चोरीका गाडी पक्राउ पर्ने क्रम बढेपछि नेपालगन्ज भन्सार कार्यालयलाई त्यस्ता सवारी साधन लिलाम गर्न भ्याइनभ्याइ छ।गत फागुनमा २८ मोटरसाइकल र एउटा सेन्ट्रो कार लिलामी गरेको उक्त कार्यालयले बुधबार १७ गाडी र ११ मोटरसाइकल फेरि लिलामी गरेको थियो। पछिल्लो पटक लिलामी गरिएका सबै सवारी साधन फागुनयता पक्राउ परेका हुन्। बुधबार १७ गाडी र ११ मोटरसाइकल लिलामी गरिएलगत्तै नेपालगन्ज भन्सारमा फेरि ३५ सवारी साधन लिलामीका लागि तयारी अवस्थामा छन्। नेपालगन्ज भन्सार कार्यालयका अनुसार पहिला पक्राउ गरिएका चोरीका सवारी साधन लिलाम गर्ने प्रक्रिया थालेपछि एक सातामा तीन कारसहित ३२ मोटरसाइकल समातिएका छन्। 
पछिल्ला दिनमा जत्ति लिलाम गर्दै गयो त्योभन्दा बढी चोरीका सवारी साधन पक्राउ गर्ने क्रम बढेको छ। भन्सार कार्यालयका एक कर्मचारीले भने, 'चोरीका सवारी साधन भित्रिन नदिन सरकारले विशेष व्यवस्था गर्नपर्छ।' चोरीका सवारी साधन भित्रिँदा सरकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको छ। 

पछिल्लो पटक लिलामी गरिएका सवारी साधनबाट नेपालगन्ज भन्सारले करिब १ करोड १० लाख राजस्व संकलन गरेको छ। तिनै सवारी साधन कानुनी प्रक्रिया पुर्‍याएर नेपाल भित्रिएका भए भन्सारले १० करोड राजस्व संकलन गर्ने कर्मचारीले बताए। पछिल्ला दिनमा चोरीका सवारी साधन पक्राउ परे पनि त्यस्ता सवारी साधन नेपाल भिœयाउने गिरोहलाई सुरक्षाकर्मीले पक्राउ गरेको छैन। 

खुल्ला नाकाले सजिलै भित्रिएका चोरीका सवारी साधन स्थानीय तहमा मात्र नभई पहाडी भेक र राजधानीमा समेत पुगेको सुरक्षाकर्मी बताउँछन्। सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार चोरीका सवारी साधन प्रयोग गर्ने व्यक्तिहरू कुनै न कुनै राजनीति दलमा आबद्ध हुने भएकाले भएकाले पक्राउ गर्न समस्या भइरहेको छ।

पछिल्लो पटक धेरैजसो चोरीका सवारी साधन दाङमा पक्राउ गरिएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङले २० मोटरसाइल पक्राउ गरी बुधबार नेपालगन्ज भन्सार कार्यालयमा पठाएको हो। नेपालगन्ज भन्सार गस्तीले समातेको दुई र सशस्त्र प्रहरीको त्रिपुरा गणले समातेको एउटा मोटरसाइकल पनि लिलाम गर्न बाँकी छ। सशस्त्रले पक्राउ गरेको दुई सेन्ट्रो कार र एउटा बलेरो गाडी पनि लिलामी गरिएको छैन। यसपालि चोरीका सवारी साधन लिलामी गर्दा एक करोड १० लाख राजस्व संकलन गरेको भन्सारले गत फागुनमा एक सेन्ट्रोसहित २८ मोटरसाइलका लिलामी गर्दा २० लाख राजस्व संकलन गरेको थियो।

No comments:

go up