Saturday, July 3

बियरपारखीले एक/दुई लिटर होइन

काठमाडौं, असार १९ (नागरिक)
बियरपारखीले एक/दुई लिटर होइन, अब पाँच लिटरको क्यानमा बियर किन्न पाउने भएका छन्। बहुराष्ट्रिय कम्पनी हेनकेन होल्डिङस्ले उत्पादन गरेको पाँच लिटरको क्यान बियर स्थानीय बजारमा भित्रिएको छ।हेनकेनका लागि नेपालस्थित आधिकारिक बिक्रेता भिक्टर इन्टरनेसनलले 'ड्राउट हेनकेन' ब्रान्डको यो बियर हल्यान्डबाट आयात गरेर स्थानीय बजारमा ल्याएको हो।'कम्पनीले पहिलेभन्दा फरक प्याकमा हेनकेन बियर बजारमा ल्याएको जनाएको छ।

'हामीले बजारमा ल्याएका सानो र ठूलो दुवै क्यान नेपालमा यसअघि कसैले ल्याएको थिएन,' कम्पनीका प्रबन्धक अर्जुन हमालले भने, 'सानोमा आधा लिटरको क्यान बियर ल्याएका छौं।'कम्पनीले २ हजार ९ सय ५० रुपैयाँ खुद्रा मूल्यमा ५ लिटर र १ सय ८५ रुपैयाँ खुद्रा मूल्यमा आधा लिटरको क्यान बियर पाइने जनाएको छ। पाँच प्रतिशत अल्कोहल भएको हेनकेन बियर अन्तर्राष्ट्रिय बजारमा निकै चलेकाले यहाँ पनि लोकप्रिय हुने हमालले बताए। 'पाँच लिटरको क्यान बियर हामीले मध्यम र उच्च वर्गलाई लक्ष्य गरेर ल्याएका हौं,' उनले भने, 'विशेषगरी फेमिली पार्टीमा बढी चल्छ भन्ने सोंचेका छौं।'पाँच लिटरको क्यानमा उपलब्ध बियर खोलेको एक महिनासम्म पिउन सकिन्छ। यसलाई नर्मल फ्रिजमा १० घन्टा राखेर पिउन उपयुक्त हुने हमालले बताए। नेपाली बजारमा ३ सय ३० मिलिलिटरका क्यान बियर बढी चल्तीमा छन्। कम्पनीले बेलायतमा उत्पादित २ सय ७५ मिलिलिटरको ५ दशमलव ३ प्रतिशत अल्कोहल भएको 'ड्राइसाइडर' बियर पनि बजारमा ल्याएको छ। स्पि्रङबोऊ ब्रान्डको यो बियरको मूल्य २ सय ५ रुपैयाँ पर्छ।

No comments:

go up