Friday, July 9

अपहरित डाक्टर १६ दिनसम्म उपत्यकामै>>>>>>

धरौटीमा छाडिएको आपराधिक गिरोह संलग्न-

केपी ढुंगाना, काठमाडौं, असार २५- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरणकारीले १६ दिनसम्म काठमाडौंमै राखेको तथ्य प्रहरीले फेला पारेको छ। अपहरणको डेढ महिनापछि बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा जेठ ५ देखि २१ साँझसम्म श्रेष्ठलाई सामाखुसी र चन्डोलमा राखिएको उल्लेख छ।अपहरणकारीले उनलाई प्रहरी प्रधान कार्यालयको पाँच सय मिटर वरपर राखेको सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार अपहरणको दोस्रो दिन भारतीय नम्बर
प्लेटको गाडीमा राखेर बद्री ढुंगानाले श्रेष्ठलाई सामाखुसीमा रहेको भीमसेन पण्डितले भाडाको कोठामा राखेका थिए। श्रेष्ठको खोजीमा सरकारले उच्च प्रहरी अधिकृतको नेतृत्वमा तीनवटा समिति गठन गरेको थियो।

अपहरणकारीले श्रेष्ठलाई एक साता सामाखुसीमा राखी जेठ १२ साँझ चन्डोलमा सारेका थिए। अपहरणकारीले साढे तीन तोला सुन फिरौती लिएपछि २१ जेठ राति साढे ९ बजे श्रेष्ठलाई त्यहाँबाट मोटरसाइकलमा धादिङको मझिमटार लगेर छाडेका थिए।
प्रहरीले अपहरणका मुख्य योजनाकार भने भारतीय नागरिक रहेको प्रहरीले दाबी गरेको छ। उत्तरप्रदेश फरिदावादका रोहित पालिवाल अग्रवालले नेपाली सहयोगी परिचालन गरी अपहरण गराएको प्रतिवेदनमा छ। संक्षिप्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै एसएसपी देवेन्द्र सुवेदीले अग्रवालसहित दुई भारतीय र चार नेपालीको मिलेमतोमा श्रेष्ठको अपहरण गरिएको बताए।
प्रतिवेदनअनुसार अग्रवालसहित नुवाकोट, चारघरेका भीमसेन पण्डित, जिलिङका बद्रीप्रसाद ढुंगाना, लुप्पा तामाङ, महाराजगन्जका सुनिल श्रेष्ठ, चन्डोलका गौतम योञ्जन र दार्जीलिङका नवीन क्षेत्रीको मिलेमतोमा श्रेष्ठको अपहरण गरिएको हो।
अभियुक्तमध्ये पण्डित, अग्रवाल र तामाङ अपहरणको अभियोगमा नौ महिना कारागार बसेर २०६५ कात्तिकमा काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका हुन्। अपहरणमा संलग्नमध्ये बद्री, नवीन र सुनीललाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। अपहरणका मुख्य योजानकारसहित अन्य सहयोगी भने फरार छन्। अग्रवाल र पण्डित भारत पुगिसकेको एसएसपी सुवेदीले बताए।
प्रहरी प्रतिवेदन अपहरणमुक्त भएपछि श्रेष्ठले सार्वजनिक गरेका तथ्यभन्दा भिन्न छ। जेठ ४ गते चितवनको हाकिमचोकबाट अपहरणमा परेका श्रेष्ठलाई मुग्लिन हुँदै नुवाकोट पुर्‍याएर जेठ ५ साँझ काठमाडौंको सामाखुसी र चन्डोलमा राखेको प्रतिवेदनमा छ। तर, राजमार्गबाट राजधानी भित्र्याउ"दा विभिन्न स्थानका प्रहरी चेकपोस्टले कसरी थाहा पाएनन् भन्नेबारे प्रतिवेदन केही बोलेको छैन। ‘हामीले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेट मात्र पाएका छौं,' प्रहरी जाँच कमजोर रहेको संवाददाताको जिज्ञासामा एसएसपी सुवेदीले भने।
श्रेष्ठको अपहरणलाई राजनीतिक रुपमा हेरिए पनि अनुसन्धानको नेतृत्व गरेका सुवेदीले उनको घटनामा कुनै राजनीतिक दल वा त्यसका ब्यक्तिको संलग्नता नदेखिएको दाबी गरे। मुक्त भएलगत्तै उनले नेपाल हिन्दू राष्ट्र पार्टीले अपहरण गरेको दाबी गरे पनि प्रतिवेदनमा त्यसबारे उल्लेख छैन।
फिरौती साढे तीन तोला सुन
श्रेष्ठ परिवारले फिरौती बुझाएको अस्वीकार गर्दे आए पनि फिरौतीबापत साढे तीन तोला सुन बुझाएपछि मुक्त भएको तथ्य प्रहरीले फेला पारेको छ। श्रेष्ठ परिवारले भारत पुगेर अपहरणकारीलाई डेढ किलो सुन बुझाई मुक्त गराएको प्रतिवेदनमा छ। तर, अपहरणकारीलाई कसले सुन पुर्‍यायो भन्नेबारे प्रहरी मौन छ।

अपहरणको पाँचौं दिनमात्र श्रेष्ठ परिवारलाई फोन गरी फिरौती रकम माग गरिएको प्रतिवेदनमा छ। अपहरणकारीले फिरौती रकम माग्न भारतबाट भिओआइपी र इन्टरनेट फोनको प्रयोग गरेका थिए। प्रहरी अपहरणमा संलग्न रोहित पलिवाल अग्रवाल भारत पुगेपछि फिरौती माग्ने क्रम सुरु गरेको प्रहरीको भनाइ छ। प्रारम्भमा चिकित्सकका परिवारसँग २० करोड रकम मागे पनि अन्तमा साढे तीन किलो सुनमा कुरा मिलेको थियो।
प्रतिवेदनमा श्रेष्ठ परिवारले अपहरणकारीको निर्देशनअनुसार फिरौतीकापतको जेठ १९ गते भारतको कानपुर आसपास पुगेर साढे तीन किलो सुन बुझाएको थियो। अपहरणकारी नम्बर नचिनिने रातो गाडीमा आएका थिए। प्रहरीका अनुसार अपहरणकारीले फिरौती लिएको दोस्रो दिन उनलाई रिहा गरेका हुन्। श्रेष्ठलाई धादिङ पुर्‍याएलगत्तै पण्डित भैरहवा हुँदै भारत गएका थिए।
पूर्व कर्मचारी नै सूचनादाता
क्यान्सर अस्पतालका एक डाक्टरका पूर्व चालक बद्री ढुंगानाको सहयोगमा श्रेष्ठको अपहरण गरिएको प्रतिवेदनमा उल्लेख छ। कालिका हेल्थ इन्स्टिच्युट चितवनमा सिएमए अध्यन गर्ने क्रममा अस्पतालमा ब्यक्तिगत चालकका रुपमा काम गरेका ढुंगानाले २०६६ कात्तिकमा काम छाडेका थिए।

नुवाकोट जिलिङका ढुंगाना र चारघरेका पण्डितबीच पहिलेदेखि चिनजान रहेको र पण्डितले ढुंगानालाई क्यान्सर अस्पतालमा धेरै कमाइ भएको चिकित्सकको खोजी गर्न अर्‍हाएको प्रतिवेदनमा छ। त्यसपछि भरतपुर अस्पतालका तीन चिकित्सकको नाममध्ये श्रेष्ठलाई अपहरण गरेको एसएसपी सुवेदीले बताए।
‘पाँच महिनादेखि पण्डित र अग्रवाल ढुंगानासँग सूचना लिन चितवन आउने जाने गरेका थिए,' उनले भने, ‘ढुंगानाको सूचनाका आधारमा तत्काल ठूलो रकम जम्मा गर्न सक्ने हैसियत भएका श्रेष्ठलाई अपहरणको योजना बनाएका थिए।'
उनीहरुमध्ये अग्रवालले फिरौती माग गर्ने र पण्डितले अपहरणको जिम्मेवारी लिएका थिए। ढुंगानाले सूचना संकलन र अपहरण गर्ने , क्षेत्री र तामाङले कुरुवा र अपहरण गर्ने, गौतमले सूचना प्रविधिमा सहयोग गर्ने र अपहरितलाई राख्ने स्थान बन्दोबस्तको जिम्मा सुनीलले पाएका थिए।
२०६७ जेठ ४ गते अपराह्न पण्डित, क्षेत्री, तामाङ र ढुंगानाबीच नारायणघाटमा भेट भएको थियो। अपहरणका मुख्य योजनाकार अग्रवालले आफ्नो गाडी राति साढे १० बजे हिमचुली विकास बैंकनजिक मोडमा श्रेष्ठको गाडीसँग ठोक्याएका थिए।
त्यसपछि उनीहरुले श्रेष्ठको आँखा र हात बाँधी पेटमा पेस्तोल राखेर चितवनबाट नुवाकोटको चारघरे गाविस मुलाबारीस्थित पण्डितको घरमा पुर्‍याएका थिए। पण्डित र लुप्पा श्रेष्ठसँगै थिए भने ढुंगाना र क्षेत्रीले श्रेष्ठको गाडी लिएर पोखरा हिँडेका थिए। पोखरा जाने क्रममा उनीहरु दारेचोकमा श्रेष्ठकोे ब्रिफकेस फाली साँझ साढे ३ बजे पोखरामा गाडी छाडेर बिहान ७ बजे बस चढेर काठमाडौं आएको प्रतिवेदनमा छ।
अपहरणकारीले राजमार्ग र मुल सडक प्रयोग गरी अपहरित श्रेष्ठलाई विभिन्न जिल्ला पुर्‍याउँदा पनि प्रहरीले चाल पाउन सकेन। अपहरणकारीले श्रेष्ठलाई चितवनबाट नुवाकोट पुर्‍याउन मुग्लिङ, गजुरी, बैरेनी देवीघाट, बट्टारको बाटो प्रयोग गरेको र नुवाकोटबाट उपत्यका भित्र्याउन नुवाकोटबाट साङ्गलोखा नेपालटार, बालाजु हु"दै सामाखुसी ल्याएको प्रहरीको दाबी छ।
श्रेष्ठको परिवारसँग फिरौती लिएर उनलाई अपहरणमुक्त गर्दा समेत अपहरणकारीले नेपालटारको बाटो हुँदै तीनपिप्ले निकालेर ककनी, तादी, नुवाकोट हुँदै देवीघाटबाट गल्छीको बाटोबाट बिहान साढे २ वजे धादिङको मझिमटार पुर्‍याएर श्रेष्ठलाई रिहा गरेको सुवेदीले बताए। ‘अपहरणकारीले प्रायः प्रहरीको उपस्थिति नहुने बाटो प्रयोग गरेकाले प्रहरीले फेला पार्न सकेन,' एसएसपी सुवेदीले भने।

No comments:

go up