Monday, July 12

अनिश्चितकालीन हड्ताल फिर्ता >>>>>

सुनसरी, अषाढ २७ 
पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमै निर्माण गर्ने सरकारको निर्णयपछि स्थानीय वासिन्दाले सुरु गरेको अनिश्चितकालीन हड्तालसहितको आन्दोलन आइतबारदेखि स्थगित भएको छ ।वजेटमै प्रस्तावित गरेपनि सुनसरी जिल्ला भनी स्थान नतोक्दा बिवाद भएपछि इटहरीसहित धरान र इनरुवासमेतले योजना माग्दै आन्दोलन सुरु गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमै हुनुपर्ने माग गर्दै स्थानीय वासिन्दाले आइतबार पूर्वपश्चिम र कोसी राजमार्ग खण्ड ३ घण्टा चक्काजाम गरेका थिए । उनीहरुले शनिबार पनि आधा घण्टा सडकजाम गरेका थिए भने सोमबारदेखि अनिश्चितकालिन हड्ताल आह्वान गरेका थिए ।

रंगशाला निर्माण संघर्ष समितिले खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले आइतबार रंगशाला इटहरीमै निर्माण गर्ने घोषणा गरेपछि खुसीयाली मनाउँदै स्थानीय भेला भएका थिए । खेलप्रेमी, इटहरीवासी, मजदुर, नागरिक समाजलगायतको उपस्थिति रहेको कार्यक्रममा मैनवत्ती बालेर खुसीयाली मनाइएको थियो । परिषद्को पत्र पाएपछि विजय र्‍याली निकालिने संघर्ष समितिका सचिव रविन दाहालले बताए ।
उनकाअनुसार इटहरीमै रंगशाला निर्माण गर्ने सरकारको पूर्व योजना भएपनि पछिल्लो समयमा आएको अवरोधले छाएको अन्योल हटेको छ । राष्ट्रिय खेलकुद परिषद्ले क्षेत्रीय रंगशाला इटहरीमा निर्माण गर्ने तयारी गरिरहेको बेला शुक्रबार धरानको पक्षमा दावी गर्ने क्रममा परिषद्मा तोडफोड भएको थियो ।
सरकारले आर्थिक वर्ष २०६६ सालको वजेटमा सुनसरीमा क्षेत्रीय रंगशाला निर्माण गर्ने योजना प्रस्तुत गरेको थियो । रंगशालालाई एक करोड रुपैयाँ विनियोजन गरेको थियो ।
विनियोजित वजेटवारे बिवाद भएपछि नागरिक समाजको पहलमा तिनै नगरलाई समान रुपले रकम बाँडफाड गर्ने तयारी पनि भएको थियो । सरकारले क्षेत्रीय रंगशालाका लागि इटहरीस्थित रेसमखेती विकासको ७ बिघाभन्दा बढी जग्गा उपलव्ध गराएको थियो ।
संघर्ष समितिका ईश्वरी पराजुलीले अर्थ मन्त्रालयले वजेट विनियोजन गर्ने क्रममा तोकेर नगरको नाम उल्लेख नगर्दा बिवाद भएको जानकारी दिदैं भने-'सरकारले इटहरीका पक्षमा गरेको निर्णयको स्वागत गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौ ।'
परिषद्ले तत्कालै रंगशालावारे निर्णय नगरेको भए वजेट फ्रिज हुने सम्भावना थियो । तत्कालिन अर्थमन्त्री महेश आचार्यको कार्यकालमा क्षेत्रीय रंगशाला निर्माण गर्ने भनेर सरकारले मोरङ्को झापा बैजनाथपुरमा एक करोड रुपैयाँभन्दा बढी खर्चेर १५ बिघाभन्दा बढी जग्गा खरिद गरेको थियो ।  

No comments:

go up