Monday, July 5

दोलखामा नकाप धारी लुटेरा>>>>>

चरिकोट, असार २१-
दोलखाको भिमेश्वर नगरपालिका १३ साखिनेस्थित एक घरमा लुटपाट गर्न गएको अज्ञात नकाबधारी समूहले गएराति एकै घरका चार जनालाई छुरी प्रहार गरी घाइते बनाएको छ। भिनपा १३ स्थित माने नजिक रहेको शान्तिमाया तमाङको घरमा लुटपाट गर्न गएको नकाबधारीको समूहले शान्तिमाया, उनकी १७ वर्षीया छोरी बिष्णुमाया, र सासु ७० वर्षीया कान्छिमाया र कान्छी छोरी १५ वर्षीया बिनु तमाङलाई
 छुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। तमाङको घरमा महिलामात्र बसेको मौका छोपी ७ जनाको समूहमा रहेका नकाबधारीहरुले लुटपाट गर्न खोजेपछि प्रतिकार गर्दा छुरी प्रहार गरेको बताइएको छ। छुरी प्रहारबाट घाइते भएका तीन जनाको चरिकोटस्थित दोलखा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएकी ४२ वर्षीया शान्तिमाया र १७ वर्षीया बिष्णुमायालाई काठमाडौँ पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।
राति करिब १२ बजे आएका नकाबधारीले घरका अन्य सदस्यलाई छुरी प्रहारबाट घाइते बनाई कान्छी छोरी बिनुलाई अपहरण गरी डेढ घण्टा पर रहेको भिनपा १३ कै थाङसासम्म पुर्‍याएर बिहान ४ बजे छोडिदिएका थिए। बिनुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। लुटेरा नकाबधारीहरुको समूहले प्रहरीलाई भनेमा फेरि आएर परिवार नै सखाप पारिदिने धम्की दिएको बताएकी छिन्।
प्रहरी टोली १ बजे घटनास्थल पुगेर घाइतेहरुलाई उद्धार गरेको भएपनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख,डिएसपी धिरजप्रताप सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

No comments:

go up