Thursday, August 26

को थिए ती पाँच यात्रु ?>>>>>>


काठमाण्डौ भाद्र १०
अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा मृत्यु हुने १४ मध्ये ५ नेपाली यात्रु थिए । त्रिभुवन विमानस्थलबाट मंगललबार बिहान लुक्लाका लागि उडेको डोर्नियरका चालक दलका तीन जना पनि नेपाली नै थिए । मौसमका कारण अवतरण गर्न नसकी र्फकनेक्रममा मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुन पुगेको विमानका ती नेपाली यात्रुका परिवारजन बुधबार शोकाकुल थिए । को थिए त ती पाँच यात्रु ? सुरज कुँवर लेख्छन्-
राजधानीबाट व्यापारका सामान लाँदै थिए पेम्बा शेर्पा
डेढ महिनाअघि नाम्चेमा बन्द गरेर आएको पसल खोल्न पाउने खुसी मनभरि थियो । जोरपाटीमा पत्नी डोल्मा र दुई छोरालाई डेरामा राखेर सोलुखुम्बुको नाम्चेबजारमा व्यापार गर्थे । मंगलबार लुक्लाका लागि विमान उड्ने भएपछि सबैभन्दा धेरै खुसी उनी नै थिए । किनकि नवौं प्रयासपछि उड्दै थिए । पसलका लागि ठमेल र बौद्धबाट सामान खरिद गर्थे अनि फेरि उड्थे नाम्चेतिर । यसपटक पनि ८ भारी सामान किनेका थिए । केही लुक्ला ओसारिसकेका थिए त केही राजधानीमै थियो । बुधबार आफन्तले शिक्षण अस्पतालबाट पेम्बाको पहिचान हुने थोरै शवका टुक्रा बोकेर टेकुमा अन्त्येष्टि गरे । त्यतिबेलासम्म पनि जोरपाटीमा पेम्बाकी पत्नी मूर्छामै थिइन् ।
अमेरिकी नागरिकसहित पदयात्राका लागि निस्केका थिए प्रकाश अम्गाई
अमेरिकी मूलकी चार महिला पदयात्रीलाई दुई साता आधार शिविरक्षेत्र घुमाउन उडेका गोर्खा बुङकोट-८ का प्रकाश नयाँबजारमा डेरा गरी बस्दै आएका थिए । 'रक्षाबन्धनको दिन छ, बाबुहरू र तेरी भाउजूको हात खाली नराख्नू,' उड्नुअघि नयाँबजारमै अलग बस्दै आएका सहोदर भाइ नन्दलाललाई भनेका थिए । भाउजू, १० र ४ वर्षको भतिजालाई गणेश मन्दिरमा डोरो बाँधेर फर्किंदै गर्दा उनको कानमा दाजु उडेको विमान दुर्घटनाको खबर पर्‍यो । अबोध भजिताले 'बाबा' को खोजी गरिरहँदा बुधबार नन्दलाल शिक्षण अस्पतालमा चिकित्सकले पहिचान गरिदिएका शवका टुक्रा बोकेर आफन्तका साथ आर्यघाट लाग्दै थिए ।
जापानी पर्यटकलाई सघाउनु थियो तेम्बा नोर्बु शेर्पाले
लगातार ६ बिहान विमानस्थल धाउँदै मौसमले साथ नदिएपछि र्फकंदै  गरेका तेम्बा सातौंपल्ट भने उड्न पाएका थिए । पत्नी लाक्पाकिपा र तीन सन्तान (२ छोरा, १ छोरी) का साथ हात्तीगौंडामा डेरा बस्दै आएका उनले हिंड्ने बेलामा भनेका थिए, 'आज पनि उड्न पाइँदैन कि जस्तो छ ।' उनी ७ जापानी पर्यटकलाई सघाउन जाँदै  थिए । फरक विमानको टिकट लिएका ती जापानी भने काठमाडौंमै रोकिए । संखुवासभा मकालु-५ का यी २९ वर्षे आधार शिविरदेखि माथि टेन्ट, खाद्य, डोरी बोक्ने गर्थे । योपल्ट उनलाई होटल, भरिया र सामान व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो । 'बोचीबोची टे्रक'मा आबद्ध उनले जिम्मेवारी पूरा गर्न नपाई सदाका लागि संसार छाडे ।
आयरल्यान्डकी पर्यटकलाई आधारशिविर लैजानु थियो ईश्वर रिजालले
धादिङस्थित सत्यदेवी-८ का ईश्वर आयरल्यान्डकी जेरिमी टेलरकासाथ १५ दिने यात्राका लागि लुक्ला उडेका थिए । फर्केपछि टाइफाइडबाट थलिएका बुवाको उपचार गर्ने योजना थियो । पाँच र डेढ वर्षे छोरालाई पत्नीका साथ छोडेर लुक्ला उडेका ईश्वरले पत्नीलाई रक्षाबन्धनका दिन दुवै छोराको हात खाली नराख्न भनेका थिए । धापासीमा दुई छोराका साथ रक्षाबन्धन मनाउँदै गर्दा २२ वषर्ीया पत्नी सोविताले पतिको मृत्युको खबर सुन्नुपर्‍यो । आफन्तले ईश्वरको अन्तिम संस्कार साँझ पशुपति आर्यघाटमा गरे । अपराह्न दुवै छोरा लिएर काजक्रिया संस्कार पूरा गर्न सोविता गाउँ हिडिन् । उता ईश्वरका दिदी र भाइ होसमा छैनन् । विदेशीको सहयोगमा गाउँको प्रावि सुधार्ने योजना सदाका लागि अधुरै छाडी बिदा भए ईश्वर ।
खेतीपातीमा सघाउन माइत हिंडेकी थिइन् आश्वडी खालिङ राई
पतिसँग ५ वर्षअघि सम्बन्ध बि्रगिएपछि माइतीको आश्रयमा बस्दै आएकी सोलुखुम्बु, वाकु-३ रोचमकी यी २३ वर्षीया पाँच महिनादेखि राजधानीमा थिइन् । ६ वर्षको छोरालाई माइतीमै छाडेर कपनस्थित एक शेर्पाको घरमा काम गर्थिन् । तर काम चित्त नबुझेपछि छाडेर तीन सातादेखि बेरोजगार थिइन् । आमाबुवाले खेतीमा सघाउन बोलाएका थिए । पाँच महिनापछि छोरासँग भेट हुने खुसी र आमाबुवालाई मकैखेतीमा सघाउने इच्छा बोकेर लुक्ला उडेकी पाँच बहिनी र एक भाइमध्ये माइली आश्वडीको सपना अन्ततः शिखरपुरको मकैबारीमा तुहियो । बुधबार अबेरमात्र उनका आफन्तले शिक्षण अस्पताल महाराजगन्जबाट उनको पहिचान हुने पाइन्टमात्र पाएका थिए ।

No comments:

go up