Monday, September 20

महाकालीमा भीषण बाढी


महेन्द्ननगर , आश्विन ३

 - महाकाली नदीमा शनिवार रातीदेखि आएको बाढी कञ्चनपुरको भिमदत्त नगरपालिकाको ११, १२ र १३ वडाको नदी किनारका वस्तीमा पसेपछि करिव सय परिवार बिस्थापित भएका छन् । बाढी घरमा पसेर डुवानमा परेका वासिन्दालाइ उद्दार गरि सुरक्षित ठाउँमा पुर्याउने काम भइरहेकोछ । भुजेलाको बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । उद्दार कार्यको स्थलगत अनुगमनका लागि सुरक्षा तथा स्थानीय प्रशासनका अधिकारीहरु प्रभावित क्षेत्र पुगेका छन् ।
दुई दिनदेखि पहाडी क्षेत्रमा भइरहेको अविरल बर्षाका कारण महाकाली नदीको बहाव यस बर्षको सवैभन्दा उच्च रहेको छ । राती २ बजे देखि महाकालीको बहाव बढदै गएपछि नदीको भंगालो भुजेला, ओदाली, बडैपुर र पिपरैयाको वस्तीमा पसेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुध्दि बहादुर खडकाका अनुसार भुजेला किनारका ४३ परिवारलाइ उद्दार गरि सुरक्षित ठाउँमा पुरयाइएकोछ । बडैपुर र ओदालीमा घर डुवानमा परेपछि ६० परिवार बिस्थापित भएकाछन् । बडैपुरमा उद्दार कार्यका लागि सेना परिचालन गरिएको छ ।
भदौ पहिलो साता देखि तीन पटक आएको बाढीले भुजेला किनारको तटबन्ध कटान गरेपछि बाढी बस्तीमा पस्न थालेको हो । कटान भएको तटबन्धमा तार जाली र बालुवाका व्याग बिछाएर कटान रोकथामका लागि अस्थायी रुपमा बनाइएको संरचना पनि शनिवार रातीको बाढीले पुरै बगाएकोछ ।
निरन्तर बर्षा भइरहेका कारण महाकालीको बहाव बढदै गएको छ । आइतवार बिहान महाकालीको बहाव यो बर्षकै उच्च ३ लाख ७९ हजार ४६० क्युसेक मापन गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी पवन खरेलले बताए । पानी बढदै गएपछि दोधारा र चादनी जोडने झेलुंगे पुल पनि जोखिममा परेकोछ । पुल छेवैका वस्ती संगै प्रहरी चौकी पनि डुवानमा परेकोछ ।
यसैबीच ब्रह्मदेव नजिक टनकपुरको जलासयको जलस्तर बढदै गएपछि जलासयको नेपाल तर्फको वायाँ तटबन्ध कटान हुने खतरा उत्पन्न भएकोछ । ब्रह्मदेव नजिकै खल्ला मछेटीमा चुरे तर्फबाट आउने खोलाको बाढी संगै महाकाली समेत वस्ती तिर पस्न थालेपछि ५ परिवार जोखिममा परेकाछन् ।
जिल्लाको मध्य भागमा दोदा नदीले देखतभुली र शंकरपुर गाविसको नदी किनारको वस्ती किटान गरेको जानकारी प्राप्त भएकोछ । यस बर्षदोदा नदीको बाढीले सवैभन्दा शंकरपुर- ७ को डुंगा गाउँ र आसपासको क्षेत्रमा ८० बिगाहा जति खेतियोग्य जमिन कटान गरेकोछ । बाढीले जनताको तटबन्ध कार्यक्रम अन्तरगत २६ लाखको लागतमा निर्माण भएको स्पर पुरै बगाए पछि नदी बस्ती तिर पसेको हो । महाकालीको बहाव बढदै गएका कारण शनिवार देखि सिमाक्षेत्रको वनवासापुलमा सवारी साधन चल्न रोक लगाइएकोछ ।

No comments:

go up