Monday, September 13

पुरानै गठबन्धन कायम>>>>


काठमाडौं, २७ भदौ
प्रधानमन्त्री माधवकुमार नेपालले पुरानै लोकतान्त्रिक गठबन्धन कायम राख्न गृहकार्य सुरु गरेका छन् । उनले पार्टी अध्यक्ष झलनाथ खनालसँग एमालेको तटस्थता निर्णय पुनर्विचारका लागि आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री नेपालले आइतबार मधेसी दलका नेताहरूसँग छलफल गरी पुरानै लोकतान्त्रिक गठबन्धन कायम गर्ने पहल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री नेपालले एमालेले सहमतिको सरकार गठनका लागि पहल गरेको, तर शान्ति र संविधानका विषयमा सहमति गरेर संयुक्त सरकार गठनमा माओवादी नदेखिएकाले पुरानै गठबन्धनलाई निरन्तरता दिन बाध्य भएको बताएका थिए ।>>>>>>
'सहमतिका लागि अनेक प्रयास भए, हाम्रो पार्टीले शान्ति र संविधान निर्माणको आधारपत्रसमेत तयार गरेर लडाकु समायोजनलगायत विषयमा सहमति खोज्न प्रयास गरेको हो,' छलफलमा प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तर, माओवादी हतियार र लडाकु मोह त्याग्न तयार भएन, नागरिक पार्टी हुन तयार भएन ।'
मधेसी दलहरूले भने आफूहरू शान्तिप्रक्रियाको पूर्णताका लागि सहमतिको पक्षमा रहेको र त्यसका लागि माओवादीले हतियार त्याग्नुपर्ने पक्षमा रहेको बताएका थिए । उनीहरूले माओवादी तयार नभए पुरानै गठबन्धन दलहरूको समीकरणमा सरकार बनाउन पहल थाल्न प्रधानमन्त्री नेपाललाई आग्रह गरेका थिए ।
'माओवादी हिंसा त्याग्न तयार नभए हामी पनि लोकतान्त्रिक गठबन्धन निरन्तर रहोस् भन्ने पक्षमा छौँ,' फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले भने, 'त्यसका लागि एमालेले छिटो निर्णय गरोस् ।' छलफलमा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टी नेता हृदयश त्रिपाठी र सद्भावना अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।
'माओवादी शान्ति, संविधान र सहमतिको सरकारका पक्षमा देखिएन भन्नेमा सबै दलको चिन्ता थियो,' प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्तले छलफलबारे भने, 'रूपान्तरित नभएको माओवादीलाई सरकारको नेतृत्व सुम्पन्नुहुँदैन भन्ने नै सबैको मत थियो ।'
मधेसी दलहरूसँगको छलफललगत्तै प्रधानमन्त्री नेपालले एमाले अध्यक्ष खनाललाई सिंहदरबारमै भेटेका थिए । खनालसँग नेपालले अहिलेसम्म भएको सहमति प्रयासको समीक्षा गरी पार्टीको अडान परिवर्तनको पहल थाल्न आग्रह गरेका थिए । प्रधानमन्त्री नेपालले पार्टीले अगाडि सारेको आधारपत्रलाई माओवादीले बेवास्ता गरेको बताएका थिए । उनले माओवादी नागरिक पार्टी भएर लोकतान्त्रिक प्रक्रियामा सामेल हुन अनिच्छा गरेको अवस्थामा एमालेको निर्णयले उसले फाइदा उठाउन सक्ने औँल्याएका थिए । 'अब समीक्षा गरेर अगाडि बढ्नुपर्छ, मतदान नगर्ने निर्णयले हिंसा नत्यागी माओवादी सरकारको नेतृत्वमा पुग्न सक्ने सम्भावना बढेको छ,' नेपालले खनाललाई भनेको स्रोतले बतायो ।

No comments:

go up