Thursday, November 11

हराएका सीमा

धनगढी, कात्तिक २४
 नेपाल र भारत दुई देशका सिमावर्ती जिल्लाका अधिकारीहरुको बुधवार धनगढीमा बसेको संयुक्त बैठकले सिमानामा हराएका स्तम्भहरुको आधार पत्ता लगाएर पुननिर्माण गर्न केन्द्रीय सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। बेजोर नम्बरका स्तम्भ नेपाल पक्षले र जोर नम्बरका स्तम्भ भारतले निर्माण गर्ने बैठकमा सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद बिडारीले बताए।
विवाद रहेको ठाउँमा सीमा स्तम्भको आधार निश्चित गर्न दुई देशका केन्द्रीय स्तरको संयुक्त प्राविधिक टोली आएर अध्ययन गर्नका लागि दुवै पक्षले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रजिअ बिडारीले बताए। सीमामा अतिक्रमण गरेर बसेकालाई सम्बन्धित देशको सरकारी पक्षले हटाएर खाली गर्ने सहमती पनि भएको छ।


यसैगरी दुई देशको संयुक्त टोलीले डिसेम्बर ८ देखि कैलालीवाट सिमानामा रहेका स्तम्भको अनुगमन गर्न शुरु गर्ने पनि सहमती भएको छ।
कैलाली र कञ्चनपुरका सिमानामा रहेका ६३ स्तम्भ हराएका जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकमा छ।

सीमामा हुने अपराधिक गतिबिधी नियन्त्रण गर्न समन्वय गर्ने पनि सहमती भएको छ। अबदेखि प्रत्येक महिनाको १५ तारेकमा नेपालका प्रहरी, भन्सार र भारतको सीमा सुरक्षा बल र भन्सार पदाधिकारीबीच छलफल गर्ने निर्णय समेत भएको कैलालीका प्रहरी उपरिक्षक योगेश्वर रोमखामीले नागरिकन्युजलाई बताए।
बैठकमा नेपालका सुरक्षा अधिकारीले सीमामा भारतबाट फर्कने नेपालीहरुमाथि कुटपिट, पैसा लुट्ने लगायतका अभद्र ब्यवहार हुने गरेको कुरा उठाएका थिए। दुवै देशका नागरिकलाई सीमामा ससम्मान आवागमन गर्ने वातावरण बनाइने सहमती दुई पक्षबीच भएको छ। भारत खीरी जिल्लाका डि.एम समिर बर्माले सीमामा नेपाली नागरिकमाथि हुने दुर्व्यवहार रोकिने प्रतिबद्धता ब्यक्त गरे।


पत्रकारले सोधेको एक प्रश्नको जवाफमा सीमामा कुनै पनि देशका नागरिकलाई पनि सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्दै भारतीय सिमामा दुर्व्यवहार भए कारवाही गर्ने प्रतिबद्धता उनले जनाए।



बैठकमा नेपालकातर्फबाट कैलाली र कञ्चनपुरका प्रमुखजिल्ला अधिकारी, जनपथ, शसस्त्र र राष्ट्रिय अनुसन्धानका प्रमुख र भारतका तर्फबाट लख्खिमपुर खिरी जिल्ला र पिलभित जिल्लाका जिल्ला अधिकारी (डिएम) र एसपी लगायतका अधिकारीको सहभागिता थियो।
नेपाली अधिकारीको भारतको गिर्जापुरी बाँधले नेपाली भूमी डुबानमा परेको बारे बैठकमा कुरा उठाएका थिए।दिलबहादुर छत्याल

No comments:

go up