Wednesday, June 16

प्रधानमन्त्री नेपाल राजीनामा दिने

काठमाडौं, असार १

 सभामुख सुवासचन्द्र नेम्बाङले जति तारताकेता गरे पनि प्रधानमन्त्री माधवकुमार नेपालले बजेट अधिवेशन बोलाउन सकेका छैनन्। निकट स्रोतका अनुसार, उनी आफैं राजीनामाको मनस्थितिमा पुगिसकेका छन्। प्रधानमन्त्री नेपालले सोमबार आफ्नो गठबन्धनका १५ दल (कांग्रेस-एमालेबाहेक) सँग परामर्श गर्दा मधेशी दलहरूसहितले असार १० गते अधिवेशन आह्वान गर्न सुझाव दिए। सभामुख नेम्बाङले भने ५ गतेसम्म आह्वान नगरे बजेट पारित गर्ने आवश्यक प्रक्रिया पूरा गर्न नसकिने चेतावनी दिएका छन्। 

कोरियाको सपना बोकेर टन्टलापुर घाममा

 काठमाडौँ, असार १

 टेकुदेखि नै सवारी साधन जाममा परेका छन्। दशरथ रंगशालाको मूलगेटको दायाँ पट्टी शहिदगेट जाने बाटोतर्फ आँखाले नभ्याउने गरी र बायाँ पट्टी थापाथली जाने बाटोतर्फ आँखाले नभ्याउने गरी सयौँको भीड छ। अहँ, रंगशालामा कुनै खेल हुँदैछैन। न विश्वकपको कुनै खेल यहाँ देखाउने व्यवस्था हुन लागेको हो। यी युवायुवतीको आँखामा कोरियाको सपना छ, पैसा कमाएर सुखी जीवन बिताउने आकांक्षा छ। असार महिनाको टन्टलापुर घाममा उभिएर बसेका उनीहरुको दुःखको क्रम यहाँ सुरु मात्रै हुन लागेको हो, अन्त्य अन्त्यहीन छ।

Tuesday, June 15

मनिषाको विहे



 काठमाडौं, जेठ ३१


 अभिनेत्री मनिषा कोइरालाको बिहे नेपाली परम्परालाई पछ्याएर गरिने उनका अभिभावकले बताएका छन्। 'बाजासमेत परम्परागत हुनेछ,' पिता प्रकाश कोइरालाले आइतबार नागरिकलाई भने,'सकभर सबै प्रकृया नेपाली हिसाबले पुरा गर्ने योजना बनाएका छौं।'प्रजातन्त्रवादी राजनेता बिपि कोइरालाकी नातिनी एवं मुम्बइ फिल्म उद्योगकी अभिनेत्री मनिषा कोइराला यसै शुक्रबार व्यापारी सम्राट दहालसँग विवाहबन्धनमा बाँधिदै छिन्। गोकर्णमा आयोजना हुने वैवाहिक समारोहको दुई दिनपछि सोल्टी होटलमा भोजको आयोजना गर्न लागिएको जानकारीसमेत प्रकाशले दिए।


आजदेखि हप्ताको ५४ घण्टा लोडसेडिङ

हेटौंडा, जेठ ३१

 लोडसेडिङ धान्नका लागि अत्यन्त महत्वपूर्ण मानिएको मकवानपुरको कुलेखानी जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द हुँदा थप लोडसेडिङको मार थपिने भएको छ। आयोजनाले विद्युत उत्पादन बन्द गरेपछि विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर हप्ताको ५४ घण्टा पुर्‍याएको छ।सोमबारदेखि चारदिनसम्म दिनको तीन/तीन घण्टाका दरले तीनपटक र तीनदिनसम्म दिनको ६ घण्टाको दरले लोडसेडिङ हुने विधुत प्राधिकरण भार प्रेषण केन्द्रका इन्चार्ज शेरसिंह भाटले जानकारी दिए।


कामदारको रहस्यमय मृत्यु, निवास तोडफोड, बुटवल तनावमा

बुटवल, जेठ ३१
 लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवलमा तनाव भएको छ। स्थानीय र पीडित परिवारले डक्टर परिवारले यातना दिएर हत्या गरेको भन्दै नाराबाजी र डा. निवासमा तोडफोडसमेत गरे। तोडफोडका क्रममा उत्तेजित भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनलाई पक्राउ गरेको छ। बुटवल वडा नं. १० स्थित कुसुमपथमा रहेको डा. सिंहको निवासमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गर्दा घरको झ्यालका शिशा फुटेका छन्।  प्रदर्शनकारी र प्रहरीबीचको झडपमा तीन प्रहरीसहित एक दर्जन घाइते भएका छन्।

Monday, June 14

पोखरा-दिल्ली बस सातामा छ दिन


पोखरा, जेठ ३०
 मोडर्न एरा टुर्स एन्ड ट्राभल्सले सातामा छ दिन पोखरा-नयाँदिल्ली सिधा बस सञ्चालन गर्ने भएको छ। हाल यसले यो रुटमा सातामा तीन दिन बस चलाइरहेको छ।नेपाल पर्यटन वर्ष २०११ मा बढ्न सक्ने भारतीय पर्यटक लक्ष्य गरी सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। मोडर्नले अहिले साताका सोमबार, बुधबार र शुक्रबार पोखरा-दिल्ली तथा आइतबार, बुधबार र शुक्रबार दिल्ली-पोखरा बस चलाइरहेको छ। आगामी साउनदेखि सेवा विस्तार गरी दोब्बर पुर्‍याउने मोडर्नका कार्यालय प्रमुख टिका भण्डारीले बताए।

go up