Saturday, August 20

कोरियाको समुद्र अनि नेपाली कामदार >>>>

पहाडी मुलुक नेपालले समुद्रलाई छोएको छैन । समुद्रको बसाइसम्बन्धी ज्ञान नभएका नेपालीलाई एक्कासि समुद्रमा लगेर काम गराउँदा पहिले सामुदि्रक हावाको चाप नेपालीको शरीरले थेग्न सक्दैन, परिणामस्वरूप रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन् । जसरी बढी उचाइमा पुग्दा लेक लाग्छ, त्यसैगरी समुद्रमा काम गर्दा समुद्र लाग्छ । अर्को कुरा नेपालबाट कोरिया आएका अधिकांश नेपाली भर्खरै विश्वविद्यालयको पढाइ सकेका वा पढ्दै गरेका विद्यार्थी छन् । तीमध्ये अधिकांश लाउन-खान पुग्ने परिवारकै सदस्य छन्, जसलाई कडाभन्दा कडा मिहिनेत गर्ने बानी परेको हुँदैन ।
तर, कोरिया आउनेबित्तिकै दिनको लगभग १३-१४ घन्टा काम गर्नुपर्ने, काम गर्ने स्पिड कोरियनकै हाराहारीमा हुनुपर्ने, दिनरात भन्न नपाइने, सानोतिनो काम बिगार्दा पनि कोरियन सहकर्मी रिसाउने, र उस्तै परे पिट्ने पनि गर्दा उनीहरूलाई काम गर्न साह्रै गाह्रो हुन्छ । अर्को कुरा यहाँ अंग्रेजी भाषाको त्यति प्रयोग नहुने र यहीँको कोरियन भाषामा कुराकानी गर्नुपर्दा भाषिक ज्ञानको अभाव नेपालीको अर्काे समस्या हो । नेपालमा च्याउसरी उम्रेका ल्यांग्वेज इन्स्िटच्युटले सिकाएको भाषाले यहाँ खासै काम दिँदैन ।
सन् १९९४ देखि प्रशिक्षार्थी कामदार लिन सुरु गरेको दक्षिण कोरियाले सन् २००३ मा प्रशिक्षार्थी कामदार प्रणाली पूर्णरूपमा खारेज गरी इपिएस प्रणालीअन्तर्गत कामदार लिने नीति लागू गर्‍यो । सोही नीतिअन्तर्गत सन् २००७ मा नेपाल र कोरियाका श्रममन्त्रीहरूबीचको दुईपक्षीय सम्झौताअनुसार नेपाली पनि कोरियामा इपिएस प्रणालीअन्तर्गत आउन पाउने भए । २००८ देखि हालसम्म लगभग साढे ६ हजारको हाराहारीमा नेपाली युवा कोरिया प्रवेश गरिसकेका छन् । उत्पादन, कृषि र मत्स्यपालन गरी ३ प्रकारका कम्पनीमा नेपालीले काम गरिरहेका छन् । तुलनात्मक रूपमा उत्पादनमूलक कम्पनीमा काम गर्न सजिलो मात्र नभई उच्चस्तरीय श्रम नियम लागू हुने हुँदा कृषि तथा मत्स्यपालनभन्दा उत्पादनशील कम्पनीमा काम गर्ने नेपालीको पारिश्रमिक पनि राम्रो रहेको पाइन्छ । तर, कृषि, पशुपालन र मत्स्यपालनमा 'स्ट्यान्डर्ड लेबर ल'को पालना नहुने, अन्य सेवा-सुविधा नपाइने, निश्चित काम गर्ने समय नहुने, बढी काम गर्दा ओभर टाइम नपाइने मात्र नभई, समयमै तलब नपाएर साहुको दुव्र्यवहारको सिकार हुन विवश नेपाली दाजुभाइ यहाँ धेरै छन् ।
पंक्तिकार पनि कोरियामा मत्स्यपालनमा काम गर्ने कामदार भएकाले यहाँ विशेष गरी फिसिङका समस्या, चुनौती तथा त्यसको समाधानका निम्ति गरिनुपर्ने पहलबारे आफ्ना भावना तथा विचार केन्दि्रत गर्न चाहन्छु । कोरियामा गएर केके न गर्छु भनेर जब हामी कोरिया प्रवेश गरेर कार्यक्षेत्र पुग्छौँ, समुद्रै नदेखेका हामी नेपालीको सातो जान्छ । जहाज चढेर काममा जाँदा सामुदि्रक सतह र शरीरको प्रेसरबीचको तालमेल नमिल्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, खान मन नलाग्ने, टाउको गह्रँुगो हुने, छट्पटी हुने जस्ता समस्या देखिन्छन् । भाषिक ज्ञानको अभावले आफ्ना कुरा भन्न पनि गाह्रो हुन्छ । जहाजमा काम गर्ने कामदार प्रायः उमेर खाएको अनपढ हुने भएकाले उनीहरूसँग भावनात्मक एकता हुँदैन । उनीहरूको व्यवहार प्रायः रिसाहा प्रवृत्तिको हुने हुँदा काम गर्न निकै अप्ठ्यारो परिस्थिति आइपर्ने गर्छ । समुद्रमै हप्तौँ बस्नुपर्ने अवस्थासमेत आउने हुँदा ध्वनि प्रदूषण र जहाजको ढलमलले सुत्नसमेत नपाइने, राति कुन वेला उठेर काम गर्नुपर्ने हो थाहा नहुने समस्या पनि झेल्नुपर्ने हुन्छ । सुरुको अवस्थामा कोरियन खानामा समेत तालमेल नहुने हुँदा कमजोरीका कारण काम गर्न नसकिने अवस्था आउँछ । सबभन्दा ठूलो समस्या भनेको कोरियनले सहकर्मीलाई कामबारे सामान्य जानकारी पनि दिँदैनन् । उनीहरूले गरेको काम हेरेर बोलेको बोलीमा अभ्यस्त भएर काम र भाषा सिक्नुपर्ने हुन्छ । तर, पुख्र्यौली पेसामा अभ्यस्त अशिक्षित कोरियनसँग काम गर्नुपर्ने तथा काम गर्न नसके गाली खानुपर्ने र परिआए पिट्नसमेत आइलाग्ने गर्छन् । कोरियनको यस्तो हेपाहा व्यवहारलाई सहन नसकेर अधिकांश नेपाली त्यहाँबाट भागेर गैरकानुनी काम गर्न पुग्छन् भने कतिपय साथीसँग समेत सम्पर्क नहुने हुँदा 'होम सिक' भई मानसिक रोगको सिकार भएर नेपाल फिर्ता भइसकेका समेत छन् । कतिचाहिँ काम परिवर्तनका लागि श्रम विभागको ढोका घच्घच्याउन बाध्य छन् । नियमानुसार काम परिवर्तन गर्न पाउने सुविधा भए पनि मत्स्यपालनबाट मत्स्यपालनमै काम परिवर्तन गर्नुपर्ने र भिसा अवधिभर जम्मा ३ पटक मात्र काम परिवर्तन गर्न पाउने कारणले गर्दा निकै अप्ठ्यारो अवस्था छ ।
मत्स्यपालनमा कतिपय साहुले सिजन अथवा कामको चाप भएका वेला निश्चित समयसम्म काममा लगाउने र उक्त समयपछि काम गर्न सकिनस् अथवा अन्य मिथ्या आरोप लगाएर कामबाटै निकाल्ने सम्भावना अत्यधिक हुन्छ । कतिले तोकिएको कामभन्दा भिन्न घरायसी, खेतीपातीसम्बन्धी पनि काम लगाएका हुन्छन् । कसैलाई समयमा र कसैलाई तोकिएको तलब नदिने, खाने र बस्ने व्यवस्था नमिलाइदिने जस्ता समस्या पनि झेल्नुपर्ने अवस्था छ ।
कोरिया पुगेका कामदारका समस्या न नेपाल सरकारले सुन्छ न दूतावासले न त कोरियामा कामदारका हक-हितका नाममा खोलिएका विभिन्न संघसंस्थाले नै केही बोल्छन् । दोस्रो लट (२०१० को इपिएस परीक्षा) पछि नेपालले फिसिङ र कृषिमा कामदार नपठाउने भयो रे ! यो एक सुखद समाचार हो, तर २००८ को परीक्षा दिएर कोरिया आएका पीडितको दुःखद् कहानी सुनेर उनीहरूलाई मुक्त गर्न कोही पनि लागिपरेको देखिँदैन । २०१० जुनमा फिसिङपीडित १०-१२ जना नेपाली आफ्ना समस्या सुनाउन दूतावासमा जाँदा 'आफूले केही गर्न नसक्ने, फिसिङमा काम गर्न नसके अवैधानिक हुनुको अर्को विकल्प छैन' भनेर दूतावासका अधिकारी तर्किएको कुरा पंक्तिकारको दिमागमा अझै ताजा छ ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने कोरियाको वस्तुस्थिति, रहनसहन, कामको प्रकृति, नेपालीको क्षमताको पहिचान र दक्षताको आँकलन नगरी जस्तोसुकै काममा पनि नेपालीलाई बोलाउनु वा पठाउनुमा नेपाल सरकार, श्रम मन्त्रालय र कोरियास्थित नेपाली दूतावास पूर्णतः दोषी देखिन्छ । लेबर कन्ट्रयाक्ट आयो भन्दैमा बुझ्दै नबुझी फिसिङमा हस्ताक्षर गर्ने इपिएस, नेपाल शाखाका हाकिम तथा कर्मचारी यसमा बढी दोषी देखिन्छन् ।
जसले जसलाई दोषको भार बोकाए पनि समस्या जहाँको त्यहीँ छ । पीडित नेपाली पीडित नै छन् । सरकारले अबउप्रान्त कृषि तथा मत्स्यपालनमा कामदार नपठाउने निर्णय गरेको छ । तर, पठाइसकेका र वैधानिक रूपमा कष्टसाथ काम गरिरहेका नेपालीको समस्याबारे नेपाल सरकार मौन देखिन्छ । सरकारले कूटनीतिक पहलद्वारा फिसिङका साथै कृषिमा काम गर्ने नेपालीलाई उत्पादनशील उद्योगमा सार्न सक्छ भने त्यसका लागि तत्काल पहल गर्नु जरुरी छ । नेपालबाट कामदार पठाउँदा कामको प्रकृति, नेपालीको क्षमताको पहिचान, कोरियाली वस्तुस्थिति, रहनसहन बुझेर मात्र पठाउनुपर्ने देखिन्छ । परीक्षामुखी भाषाज्ञान अपूरो हुने हुँदा सकेसम्म व्यावहारिक भाषिक ज्ञान, यहाँको रहनसहन, संस्कृति, रीति-रिवाज, कामको प्रकृति बुझेर यसैका लागि तयार भएर कामदार आउँदा सजिलो हुन्छ ।

                                                                         बुलेट थापा मगर र एस् के सुनुवारको सहयोगमा
                                                                         नेत्रपाणी बास्तोला ( दिपक ) , सऊल दक्षिण कोरिया

No comments:

go up