यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Monday, February 02, 2026

दक्षिण कोरियाको पि आर

 
दक्षिण कोरियाको पि आर (F-5) : के हो, कसले पाउँछ, फाइदा के–के?

सउल — दक्षिण कोरियामा दीर्घकालीन रूपमा बस्न चाहने विदेशीहरूका लागि F-5 (Permanent Residency) भिसा सबैभन्दा स्थिर र लाभदायक विकल्प मानिन्छ। यो भिसा प्राप्त गरेपछि काम, बसोबास र जीवनयापनमा प्रायः कुनै प्रतिबन्ध रहँदैन।


F-5 भिसाका मुख्य फाइदा

  • १० वर्षमा एक पटक मात्र नवीकरण

  • काम र कम्पनी परिवर्तनमा पूर्ण स्वतन्त्रता

  • श्रीमान/श्रीमती र बच्चालाई परिवार भिसामा बोलाउन सकिने

  • पछि कोरियन नागरिकता (Citizenship) लिन सहज


🧭 F-5 भिसाका प्रमुख प्रकार

  • F-5-1 (सामान्य स्थायी बसोबास)
    F-2 भिसामा ५ वर्षभन्दा बढी बसाइ, GNI को २ गुणा आम्दानी, कर नियमित तिरेको, KIIP उपयोगी

  • F-5-9 (विदेशी PhD – उच्च प्रविधि)
    AI, सेमीकन्डक्टर, बायोटेक जस्ता क्षेत्रमा विदेशी PhD, कोरियामा १ वर्षभन्दा बढी रोजगारी

  • F-5-10 (कोरियाली विश्वविद्यालय स्नातक)
    Bachelor: ३ वर्ष काम | Master: १ वर्ष काम (पढाइ र काम एउटै क्षेत्रमा)

  • F-5-11 (विशेष प्रतिभा)
    विज्ञान, व्यापार, कला, खेलकुद आदिमा राष्ट्रिय/अन्तर्राष्ट्रिय मान्यता

  • F-5-13 (६० वर्ष माथि, विदेशी पेन्सन)
    स्थायी पेन्सन आम्दानी, कोरियामा काम नगरी बस्न सक्ने अवस्था

  • F-5-15 (कोरियाबाट PhD)
    कोरियाली विश्वविद्यालयबाट PhD र हाल रोजगारी

  • F-5-16 (F-2-7 बाट रूपान्तरण)
    F-2-7 मा ३ वर्ष वा बढी, अंक प्रणाली पूरा

  • F-5-21 / F-5-25 (लगानी)
    सरकारी परियोजना वा ३० अर्ब वोनभन्दा बढी लगानी (साधारणतया ५ वर्ष कायम)


📄 साझा आवश्यक कागजात

  • आम्दानी/सम्पत्ति प्रमाण

  • कर तिरेको प्रमाण

  • KIIP वा कोरियन भाषा प्रमाण (केही श्रेणीमा छुट)

  • अपराधरहित प्रमाणपत्र


⚠️ आवेदन गर्दा ध्यान दिनुपर्ने कुरा

  • आफ्नो अवस्थाअनुसार सही F-5 प्रकार छनोट

  • मान्य भिसामा बसेको समयको सही गणना

  • लगानी श्रेणीमा कानुनी सल्लाह

  • कागजात स्पष्ट, प्रमाणित र अद्यावधिक


सामान्य प्रश्न

  • सबै F-5 मा KIIP चाहिन्छ?
    ➝ होइन। PhD वा विशेष प्रतिभामा छुट हुन्छ।

  • ‘५ वर्ष’ कुनै पनि ५ वर्ष हो?
    ➝ होइन। F-2 जस्ता मान्य भिसामा बसेको समय मात्र गनिन्छ।


निष्कर्ष

F-5 भिसा दक्षिण कोरियामा स्थायी जीवनको ढोका हो। शिक्षा, काम, प्रतिभा वा लगानी—जुनसुकै बाटोबाट पनि सम्भव भए पनि, सही योजना र कागजात निर्णायक हुन्छ।

Thursday, January 29, 2026

पानी र मानव स्वास्थ्य (संजय गुरुङ)

 💧 पानी र मानव स्वास्थ्य

मानव शरीरको करिब ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। पर्याप्त मात्रामा पानी पिउनु मानव जीवनका लागि सबैभन्दा आवश्यक तत्वहरूमध्ये एक हो।

पानी शरीरभरि सञ्चार भएर अक्सिजन बोक्ने, पाचन प्रणालीलाई सक्रिय बनाउने, शरीरको तापक्रम नियन्त्रण गर्ने, फोहोर पदार्थ र विषाक्त तत्व बाहिर निकाल्ने तथा शरीरलाई शुद्ध राख्ने महत्वपूर्ण भूमिका खेल्छ।

🧪 शरीरबाट विषाक्त पदार्थ कसरी बाहिर निस्कन्छ?

सामान्यतया शरीरका विषाक्त पदार्थहरू पाँच मुख्य माध्यमबाट बाहिर निस्कन्छन्:

  1. दिसा (मल) – करिब ७५%
  2. पिसाब – करिब २०%
  3. पसिना
  4. सास
  5. कपाल र नङ

यीमध्ये दिसा र पिसाबमार्फत विषाक्त पदार्थ निकाल्न पानीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

🚰 दिनमा कति पानी पिउनु उपयुक्त हुन्छ?

विश्व स्वास्थ्य संगठन (WHO) ले दिनमा १.५–२ लिटर पानी, अर्थात् २०० mL को गिलासमा ८–१० गिलास पानी पिउन सिफारिस गरेको छ।

व्यक्तिको तौल र पाचन क्षमताअनुसार पानीको आवश्यकता फरक हुन सक्छ, तर सामान्य रूपमा दिनमा ८–१० गिलास पानी पर्याप्त मानिन्छ।

👉 एकैचोटि धेरै पानी पिउनुभन्दा बारम्बार थोरै–थोरै पिउनु राम्रो हुन्छ।

☕ पानीबाहेकका पेय पदार्थले के गर्छन्?

तृष्णा मेटाउन चिया, कफी, कार्बोनेटेड पेय, ऊर्जा पेय र जुसभन्दा पानी नै सबैभन्दा प्रभावकारी हुन्छ।

क्याफिनयुक्त पेयहरूले पिसाबको मात्रा बढाउँछन्, जसले शरीरबाट पानी झन् बाहिर निकाल्छ।

यसले पिएको मात्राभन्दा १.५–२ गुणा बढी पानी शरीरबाट निस्कन सक्छ।

त्यसैले यस्ता पेय पदार्थले पानीको कमी पूर्ति गर्दैनन्, उल्टै निर्जलीकरण (dehydration) बढाउँछन्।

मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

 मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन।
जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, चोरी–डकैती, प्राकृतिक विपत्तिजस्ता असंख्य परिस्थितिहरु अचानक आइपर्छन्। यस्ता क्षणहरुमा मनभित्र थुप्रिएका पीडामध्ये धेरै कुरा बाहिर पोख्न सकिँदैन, र मानिस मौन भएर आफ्नै पीडासँग बाँच्न बाध्य हुन्छ।

कहिलेकाहीँ समस्या व्यक्त गर्ने सामर्थ्य हुँदैन, त कहिले आर्थिक अभावकै कारण समस्या हुँदा साथी–संगी र परिवारका सदस्यहरु समेत टाढा जान्छन्। सम्बन्धहरु कमजोर बन्छन्, सम्पर्क टुट्छ, र विश्वास हराउँदै जान्छ। वरिपरि यस्ता मानिसहरु पनि हुन्छन्, जसमा न अरुलाई भरोसा गर्न सकिन्छ, न त आफैँलाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ। अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ परिवारभित्रै—पति–पत्नी, छोरा–छोरी, बुवा–आमा, इष्टमित्रहरुबीच—समेत विश्वास कमजोर हुन्छ, सम्बन्ध चिसिन्छ, र दूरी बढ्दै जान्छ। यस्ता अवस्थाहरुले मानिसलाई गहिरो एक्लोपन र असहायपनको अँध्यारो खाडलमा धकेलिदिन्छ।

यस्तै एक घटनाले केही समयअघि मलाई अत्यन्तै स्तब्ध बनायो। नेपालबाट आएको एउटा खबरले मन भारी बनायो। करिब १८ वर्षदेखि नै परिवारसँग सम्पर्कविहीन रहनुभएका एक जना नेपालीको अवस्था अत्यन्तै दयनीय रहेको थाहा भयो। परिवारका कुनै सदस्यले कोरिया तथा नेपाल बाहिरको देशबाट फेसबुकमार्फत ती भाइ कोरियाको एक अस्पतालमा भर्ना भएको र खुट्टा काट्नुपर्ने गम्भीर अवस्थामा पुगिसकेको जानकारी पाउनुभएछ।

नेपालबाट एक जना दाजु मसँग सम्पर्कमा आउनुभयो र भारी मनले भन्नुभयो,
“कृपया कोरियाको अस्पतालमा बुझिदिनुस्।”

म काममा अलि व्यस्त भएकाले एक दिनपछि मात्र अस्पतालमा सम्पर्क गर्न सकेँ। तर ती भाइसँग कुनै प्रत्यक्ष सम्पर्क माध्यम थिएन—न फेसबुक, न फोन नम्बर। अस्पतालमा बुझ्न जन्ममिति वा कोरियन नाम चाहिन्थ्यो, तर अस्पतालको नामबाहेक अरु कुनै विवरण थिएन। सुरुमा अस्पतालले जानकारी दिन असमर्थता जनायो। ती भाइ नेपाली नागरिक भएको, भिसा पनि नहुन सक्ने अवस्था भएको, र पछि अस्पताल खर्चसम्बन्धी समस्या आउन सक्ने सम्भावना हुन सक्ने बताए पछि मात्र थप समन्वय गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न सकियो।

पछि ती भाइलाई हेरचाह गर्ने नर्ससँग सम्पर्क भयो र बेलुका काम सकेपछि भेट्न सकिने व्यवस्था मिलाइयो। म बेलुका करिब ८ बजे अस्पताल पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले मन चिरियो। ती भाइको अवस्था अत्यन्तै नाजुक थियो। उहाँ सन् २००८ मा E-9 भिसामा कोरिया आउनुभएको रहेछ। त्यसपछि भिसासम्बन्धी समस्या आएपछि, विभिन्न कारणले परिवारसँग सम्पर्क टुटेको जस्तो मेरो बुझाइ भयो। उहाँले सबै कुरा खुलाउनु भएन, तर उहाँको मौनताले नै धेरै पीडाका कथा बोलिरहेको थियो।

सुगर रोग र कठ्यांग्रिने जाडोको असरले उनको शरीरका २० औँलामध्ये ७ वटा औँला काट्नुपर्ने अवस्थासम्म पुगेको रहेछ। २०२६ जनवरी २९ तारिख बिहान ९ बजे शल्यक्रिया तय गरिएको छ। उनीसँग न भिसा छ, न पासपोर्ट, न बस्ने निश्चित ठाउँ, न त चिनजानका नेपाली साथीहरु नै। जीवनले उनलाई सडकसम्म ल्याइपुर्‍याएको रहेछ।

सुगर भएको कुरा आफैँलाई पनि थाहा नभएकै कारण औँलामा समस्या बढ्दै गएको रहेछ। पीडा हुँदाहुँदै पनि उपचार गराउने पैसा नै थिएन। काम थिएन, बोलाउने र बोल्ने कोही थिएन, र आर्थिक अभावले गर्दा खाना खाने पैसा समेत नहुँदा सडकमै बस्नुपर्ने बाध्यता आइपरेको रहेछ। कोरियामा सडकमा बस्ने व्यक्तिहरुका लागि वितरण गरिने खाना उनले कोरियनकै रुपमा वर्षौं गुजारा गर्नुभएको जस्तो लाग्यो। कठ्यांग्रिने जाडोले हात–खुट्टाका औँला जमेको थाहा नै नपाई अवस्था झन् बिग्रँदै गयो। चिसोले औंला कालो भएर अन्ततः काट्नुपर्ने अवस्थामा पुगेको कुरा डाक्टरले बताउनुभयो।
डाक्टरको एउटा वाक्यले झन् मन पोल्यो—
“एक दिन मात्र अगाडि आउनुभएको भए, औँलाहरु बचाउन सकिन्थ्यो।”

पछि थाहा भयो कि अस्पताल खर्च कोरियाका विभिन्न कोरियन संस्थाहरु र अस्पतालकै सहयोगबाट मिलाउन सक्ने सम्भावना भएको छ, यद्यपि अझ विस्तृत जानकारी अझै बुझ्न बाँकी नै छ।

यस्तो कठिन अवस्थामा ती कोरियन व्यक्तिहरु, जसले उनलाई त्यो हिड्नै नसक्ने अवस्थामा पनि अस्पताल पुर्‍याए, र ती नेपाली दाजु, जसले मलाई सम्पर्क गर्नुभयो—यी सबै मानिसहरु हाम्रो जीवनमा कहिलेकाहीँ स्वर्गदूतझैँ आएर हात थामिदिने सहारा हुन् जस्तो लाग्यो। जब हामी पूर्ण रुपमा भत्किन्छौँ, तब परमेश्वरले यिनै मानिसहरु पठाएर हामीलाई उठ्न, बाँच्न र फेरि आशा गर्न सक्ने शक्ति दिनुहुन्छ।

ती भाइ किन परिवारसँग सम्पर्कविहीन हुनुभयो भन्ने कुरा अझै पूर्ण रुपमा खुल्न सकेको छैन। तर यो पीडा केवल उनको मात्र होइन, सायद उनको परिवारको जीवनमा पनि गहिरा घाउ र नबोलेका कथाहरु लुकेका छन्। हरेक टुटेको सम्बन्धको पछाडि नदेखिने पीडा हुन्छ—जसलाई बुझ्न धैर्य, करुणा र निस्वार्थ प्रेम अत्यावश्यक हुन्छ।