यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Friday, February 27, 2026

मानवताको संकट : हामी वास्तवमै कति मानिस हौँ?

 

📰 सम्पादकीय

मानवताको संकट : हामी वास्तवमै कति मानिस हौँ?

मानव इतिहासको लामो यात्रामा मानिसलाई सृष्टिको सर्वश्रेष्ठ प्राणीको रूपमा चित्रित गरिएको छ। चेतना, विवेक, संवेदना र सृजनशीलताको कारण मानिस अन्य प्राणीभन्दा फरक र उच्च मानिन्छ। तर विडम्बना के छ भने, यही मानिसले अर्को मानिसलाई मानिसको रूपमा स्वीकार गर्न सकिरहेको छैन।

हामी मानव अधिकार, समानता र न्यायको कुरा गर्छौं। तर व्यवहारमा विभाजन, घृणा र तुच्छताको प्रदर्शन गरिरहेका छौं। प्रश्न उठ्छ— हामी कुन सभ्यता र प्रगतिमा गर्व गरिरहेका छौं, जब आफ्नै छेउमा बसेको मानिसलाई सम्मान दिन सक्दैनौं?


📚 शिक्षा : परिवर्तनको माध्यम कि औपचारिकता मात्र?

सामान्य धारणा छ— परिवर्तन शिक्षाबाट सम्भव हुन्छ।
तर यदि शिक्षा केवल प्रमाणपत्रमा सीमित भयो भने?
यदि शिक्षित व्यक्ति केवल ज्ञान बोक्ने पात्र भयो, तर त्यसलाई व्यवहारमा उतार्न सकेन भने, त्यो शिक्षा समाज परिवर्तनको साधन बन्न सक्दैन।

शिक्षा केवल सैद्धान्तिक ज्ञान होइन;
यो चेतना हो, जिम्मेवारी हो, व्यवहार परिवर्तन गर्ने शक्ति हो।
शिक्षाले विभाजन घटाउनु पर्छ, अहंकार होइन।
यदि शिक्षित व्यक्तिले नै जात, वर्ग, धन वा शक्ति आधारमा भेदभाव गर्छ भने, त्यस्तो शिक्षा अपूर्ण हो।


⚖️ सामाजिक विभाजन : एउटा मौन लत

आज समाजमा धन, जात, शिक्षा, शक्ति र बाह्य सुन्दरताको नाममा मानिस–मानिसबीच दूरी बढाइएको छ।
यो प्रवृत्ति कुनै आकस्मिक घटना होइन; यो क्रमशः विकसित भएको सामाजिक रोग हो।

रक्सीको लत जस्तै—
मानिसलाई थाहा हुन्छ यो गलत हो,
तर त्याग गर्ने साहस गर्दैन।

जबसम्म पूर्ण आत्मसमीक्षा र दृढ निर्णय हुँदैन,
त्यस्तो लत छुट्दैन।
त्यसैगरी सामाजिक विभेदको जरा पनि आधा–अधुरा प्रयासले उखेलिँदैन।


🤝 मानवता : नाममा होइन, व्यवहारमा

आफूलाई मानिस भन्नु सरल छ,
तर अरूलाई मानिसको रूपमा स्वीकार गर्नु नै साँचो परीक्षा हो।

मानवता केवल शब्द होइन—
यो व्यवहार हो।
यो सम्मान हो।
यो समान दृष्टिकोण हो।

हामी सत्य र असत्य छुट्याउन सक्षम तब मात्र हुन्छौं,
जब हामी मानव अस्तित्वको मूल्य बुझ्छौं।
मान, मर्यादा र समानताको चेतना नभएसम्म
सभ्यता केवल बाहिरी आवरण मात्र हो।


🌱 निष्कर्ष : परिवर्तन कहाँबाट सुरु हुन्छ?

सोंचको परिवर्तनले कहिलेकाहीँ परिवर्तन ल्याउन सक्छ,
तर हृदयबाट गरिएको पूर्ण निर्णयले मात्र स्थायी रूपान्तरण सम्भव हुन्छ।

सुन्दर समाज निर्माण गर्ने सपना देख्नु अघि
हामीले आफ्नै व्यवहारमा मानवताको प्रतिबिम्ब खोज्नुपर्छ।

मानिस भएर मानिसलाई सम्मान गर्न नसक्ने समाज
जति आधुनिक देखिए पनि,
भित्रबाट खोक्रो नै रहन्छ।

अब प्रश्न समाजको होइन—
प्रश्न हाम्रो व्यक्तिगत प्रतिबद्धताको हो।

परिवर्तन कहिले आउँछ?
त्यो दिन, जब हामीले आफूलाई मात्र होइन,
अरूलाई पनि समान रूपमा “मानिस” भनेर स्वीकार गर्नेछौं।

Friday, February 06, 2026

20년을 살았지만 여전히 ‘외국인’입니다.

 한국에서 외국인 비율이 이미 5%를 넘은 지 오래되었지만, 여전히 부족한 부분이 많다고 느낍니다. 외국인을 위한 정책과 제도 역시 아직 충분하지 않은 것 같습니다. 

 이주민의 입장을 이해하거나 도움을 주려고 하면 “그럴 거면 너희 나라로 돌아가라”는 말을 하는 사람들도 있습니다. 하지만 정작 그런 말을 하는 사람들 중에는 사회 문제에 큰 관심이나 참여 없이 쉽게 판단하는 경우도 보입니다. 

 또한 아직도 일부에서는 외국인들이 보험료나 세금을 제대로 내지 않는다는 오해가 존재합니다. 그러나 많은 외국인들은 한국인과 동일하게 세금을 납부하고 각종 사회보험에도 가입하며 사회의 구성원으로 살아가고 있습니다. 그렇다면 혜택과 서비스에서도 차별 없이 공정한 대우를 받아야 하는 것이 아닌지 생각해 보게 됩니다. 

 저는 상담사로 활동하고 있는데, 최근 한 영주권자 지인이 대출 가능 여부를 알아봐 달라고 요청해 여러 은행을 방문했습니다. 상담 과정에서 외국인이라는 이유로 제한되는 서비스가 여전히 많다는 현실을 다시 한번 체감했습니다. 특히 영주권자임에도 불구하고 일부 은행에서는 “한국 국적이 아니기 때문에 신용대출 상담이 어렵다”는 답변을 들었습니다. 그 이유로는 “대출 후 본국으로 돌아가면 채권 회수가 어렵다”는 점이 제시되었습니다. 

 하지만 한국에서 20년 동안 생활하며 세금을 납부하고 영주권까지 취득한 사람에게 동일한 기준이 적용되는 것은 쉽게 이해하기 어려운 부분입니다. 실제로 어떤 은행에서는 대출이 가능하다는 안내를 받았지만, 다른 은행에서는 불가능하다는 답변을 들어 어떤 기준이 맞는지 혼란스럽기도 했습니다. 이것이 정부 지침인지, 아니면 은행 내부 규정이나 직원의 판단인지 명확하지 않았습니다. 한국에서 경제활동을 하면 소비와 세금 납부로 결국 한국 경제에도 긍정적인 영향을 미칩니다. 저 역시 이곳에서 아이들을 키우며 대부분의 소득을 한국에서 사용하고 있습니다. 미래를 위해 저축하고 싶어도 쉽지 않은 상황에서 대출마저 어렵고, 가능하더라도 약 17%에 이르는 높은 금리와 3천만 원 수준의 낮은 한도만 제시받는 현실은 큰 부담으로 다가옵니다. 

 외국인 주민이 꾸준히 증가하고 있는 지금, 외국인을 단순한 체류자가 아니라 함께 살아가는 사회 구성원으로 바라보는 인식이 필요합니다. 동시에 보다 공정하고 합리적인 금융 서비스와 제도적 환경이 마련되기를 기대합니다.

Monday, February 02, 2026

परदेशको जाडो

— दक्षिण कोरियामा प्रवासी जीवनको अनुभूति

दक्षिण कोरियामा पहिलो पटक पाइला टेक्दा, नेपालमा कहिल्यै अनुभूत नगरेको चिसो हावा र कठ्याङ्ग्रिने जाडोले मलाई स्वागत गर्‍यो। मोटो लुगा लगाउँदा पनि शरीरभित्रसम्म चिसो पसिरहेको अनुभूति हुन्थ्यो। त्यो जाडो केवल मौसमसँग सीमित थिएन; नयाँ देश, नयाँ भाषा र अपरिचित जीवनसँग जोडिएको मानसिक चिसोपन पनि त्यत्तिकै गहिरो थियो।

तर समयको क्रमसँगै तातो कफी र दक्षिण कोरियाली घरको ओन्डोल प्रणालीले शरीर मात्र होइन, मन पनि न्यानो बनाउँदै लग्यो। जाडोसँग संघर्ष गर्नुभन्दा त्यसलाई बुझ्दै स्वीकार गर्ने जीवनशैली मैले यहीँ सिकेँ। यस प्रक्रियामा दक्षिण कोरियाली समाजले मौसमअनुसार अपनाउने व्यावहारिक जीवन पद्धतिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो।

दक्षिण कोरियाली खानासँगको पहिलो भेट पनि सहज थिएन। अपरिचित सामग्री, फरक स्वाद र अनौठो पाकशैलीका कारण प्रारम्भमा समायोजन गर्न कठिनाइ भयो। तथापि, समय बित्दै जाँदा ती स्वादहरु परिचित बन्दै गए। विभिन्न दक्षिण कोरियाली परिकारहरु स्वाद लिँदै जाँदा नयाँ सांस्कृतिक अनुभूति प्राप्त भयो। विशेष गरी कोरियनहरु एउटै टेबलमा बसेर भोजन गर्ने संस्कृतिले गहिरो प्रभाव पारेको छ। यहाँ भोजन केवल पोषणको साधन मात्र नभई, मानिसहरुबीच संवाद, आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रुपमा स्थापित रहेको पाइन्छ। यसबाट दक्षिण कोरियाली समाजको मानवीय न्यानोपन र सामाजिक एकतालाई नजिकबाट अनुभूत गर्न सकियो।

दक्षिण कोरियामा अध्ययनलाई निरन्तरता दिन आर्थिक पक्ष ठूलो चुनौतीको रुपमा उभियो। त्यस कारण कलास नभएको समय र सप्ताहन्तमा रेस्टुरेन्टमा काम गर्ने, उत्पादनमूलक उद्योगमा श्रम गर्ने तथा धार्मिक संस्थामा सेवा प्रदान गर्ने जस्ता विविध कार्यमा संलग्न हुनुपर्‍यो। यी अनुभवहरुले केवल आर्थिक सहायतामात्र प्रदान गरेनन्, बरु दक्षिण कोरियाली समाजभित्र प्रवेश गरी त्यसको कार्यसंस्कृति र सामाजिक संरचना बुझ्ने अवसर पनि प्रदान गरे।

यसै क्रममा विदेशी कल्याण केन्द्रमा परामर्शदाताको भूमिकामा कार्य गर्ने अवसर प्राप्त भयो। उक्त कार्यले आप्रवासीहरुले सामना गर्ने तलबसम्बन्धी समस्या, सेवानिवृत्ति लाभको अन्योल, औद्योगिक दुर्घटनाबाट उत्पन्न पीडा जस्ता यथार्थ अवस्थाहरु नजिकबाट बुझ्न मद्दत गर्‍यो। ती अनुभवहरुले म स्वयंले भोगेको परदेशी जीवनको संघर्षलाई पुनः स्मरण गराए। प्रवासीहरुलाई दक्षिण कोरियाली समाजमा थप सहज र सुरक्षित रुपमा समायोजन गर्न सहयोग गर्न सक्नु अत्यन्तै अर्थपूर्ण र सन्तोषदायी अनुभूति रह्यो।

व्यक्तिगत जीवनमा भने भिसा विस्तार तथा स्थायी निवास अनुमति प्राप्त गर्ने प्रक्रिया अत्यन्त जटिल र मानसिक रुपमा बोझिलो रह्यो। आवश्यक कागजातहरुको तयारी, प्रशासनिक प्रक्रिया र अनिश्चित भविष्यप्रतिको चिन्ताले धेरै चुनौतीहरु उत्पन्न गर्‍यो। तथापि, वरपरका सद्भावपूर्ण व्यक्तिहरुको सहयोग र प्रोत्साहनका कारण ती सबै प्रक्रियाहरु सफलतापूर्वक सम्पन्न गर्न सकियो। यस अनुभवले भविष्यमा आइपर्ने चुनौतीहरुलाई सकारात्मक दृष्टिले ग्रहण गर्ने मानसिक दृढता विकास गर्‍यो।

स्थायी निवास अनुमति प्राप्त गरेपछि जीवनमा स्थिरता मात्र होइन, सामाजिक उत्तरदायित्वको अनुभूति पनि थप गहिरो भयो। अब मेरो दृष्टि व्यक्तिगत सुरक्षामा सीमित नरही, प्रवासी समुदाय र उनीहरुको परिवारप्रति दीर्घकालीन योगदान दिने दिशामा केन्द्रित हुन थालेको छ। ठूला योजना निर्माण गर्दै, प्रवासी समाजको सशक्तीकरणमा भूमिका निर्वाह गर्ने लक्ष्य स्पष्ट बन्दै गएको छ।

आज म नेपाल र दक्षिण कोरिया बीचको एउटा सांस्कृतिक साँघुको भूमिकामा उभिएको अनुभूति गर्दछु। दुई समाज र दुई संस्कृतिको बीचमा रहेर प्रवासी जीवनलाई बुझ्ने, सम्मान गर्ने र जोड्ने यात्रामा निरन्तर अग्रसर छु। यो यात्रा सरल थिएन, तर प्रत्येक कठिन क्षणले मलाई अझ सबल बनायो। अब यही मार्गमा अघि बढ्दै, अझ धेरै मानिसहरुको जीवनमा आशा, विश्वास र मानवीय न्यानोपन फैलाउने उद्देश्यका साथ जीवन यापन गर्ने संकल्प लिएको छु।


Thursday, January 29, 2026

मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

 मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन।
जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, चोरी–डकैती, प्राकृतिक विपत्तिजस्ता असंख्य परिस्थितिहरु अचानक आइपर्छन्। यस्ता क्षणहरुमा मनभित्र थुप्रिएका पीडामध्ये धेरै कुरा बाहिर पोख्न सकिँदैन, र मानिस मौन भएर आफ्नै पीडासँग बाँच्न बाध्य हुन्छ।

कहिलेकाहीँ समस्या व्यक्त गर्ने सामर्थ्य हुँदैन, त कहिले आर्थिक अभावकै कारण समस्या हुँदा साथी–संगी र परिवारका सदस्यहरु समेत टाढा जान्छन्। सम्बन्धहरु कमजोर बन्छन्, सम्पर्क टुट्छ, र विश्वास हराउँदै जान्छ। वरिपरि यस्ता मानिसहरु पनि हुन्छन्, जसमा न अरुलाई भरोसा गर्न सकिन्छ, न त आफैँलाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ। अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ परिवारभित्रै—पति–पत्नी, छोरा–छोरी, बुवा–आमा, इष्टमित्रहरुबीच—समेत विश्वास कमजोर हुन्छ, सम्बन्ध चिसिन्छ, र दूरी बढ्दै जान्छ। यस्ता अवस्थाहरुले मानिसलाई गहिरो एक्लोपन र असहायपनको अँध्यारो खाडलमा धकेलिदिन्छ।

यस्तै एक घटनाले केही समयअघि मलाई अत्यन्तै स्तब्ध बनायो। नेपालबाट आएको एउटा खबरले मन भारी बनायो। करिब १८ वर्षदेखि नै परिवारसँग सम्पर्कविहीन रहनुभएका एक जना नेपालीको अवस्था अत्यन्तै दयनीय रहेको थाहा भयो। परिवारका कुनै सदस्यले कोरिया तथा नेपाल बाहिरको देशबाट फेसबुकमार्फत ती भाइ कोरियाको एक अस्पतालमा भर्ना भएको र खुट्टा काट्नुपर्ने गम्भीर अवस्थामा पुगिसकेको जानकारी पाउनुभएछ।

नेपालबाट एक जना दाजु मसँग सम्पर्कमा आउनुभयो र भारी मनले भन्नुभयो,
“कृपया कोरियाको अस्पतालमा बुझिदिनुस्।”

म काममा अलि व्यस्त भएकाले एक दिनपछि मात्र अस्पतालमा सम्पर्क गर्न सकेँ। तर ती भाइसँग कुनै प्रत्यक्ष सम्पर्क माध्यम थिएन—न फेसबुक, न फोन नम्बर। अस्पतालमा बुझ्न जन्ममिति वा कोरियन नाम चाहिन्थ्यो, तर अस्पतालको नामबाहेक अरु कुनै विवरण थिएन। सुरुमा अस्पतालले जानकारी दिन असमर्थता जनायो। ती भाइ नेपाली नागरिक भएको, भिसा पनि नहुन सक्ने अवस्था भएको, र पछि अस्पताल खर्चसम्बन्धी समस्या आउन सक्ने सम्भावना हुन सक्ने बताए पछि मात्र थप समन्वय गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न सकियो।

पछि ती भाइलाई हेरचाह गर्ने नर्ससँग सम्पर्क भयो र बेलुका काम सकेपछि भेट्न सकिने व्यवस्था मिलाइयो। म बेलुका करिब ८ बजे अस्पताल पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले मन चिरियो। ती भाइको अवस्था अत्यन्तै नाजुक थियो। उहाँ सन् २००८ मा E-9 भिसामा कोरिया आउनुभएको रहेछ। त्यसपछि भिसासम्बन्धी समस्या आएपछि, विभिन्न कारणले परिवारसँग सम्पर्क टुटेको जस्तो मेरो बुझाइ भयो। उहाँले सबै कुरा खुलाउनु भएन, तर उहाँको मौनताले नै धेरै पीडाका कथा बोलिरहेको थियो।

सुगर रोग र कठ्यांग्रिने जाडोको असरले उनको शरीरका २० औँलामध्ये ७ वटा औँला काट्नुपर्ने अवस्थासम्म पुगेको रहेछ। २०२६ जनवरी २९ तारिख बिहान ९ बजे शल्यक्रिया तय गरिएको छ। उनीसँग न भिसा छ, न पासपोर्ट, न बस्ने निश्चित ठाउँ, न त चिनजानका नेपाली साथीहरु नै। जीवनले उनलाई सडकसम्म ल्याइपुर्‍याएको रहेछ।

सुगर भएको कुरा आफैँलाई पनि थाहा नभएकै कारण औँलामा समस्या बढ्दै गएको रहेछ। पीडा हुँदाहुँदै पनि उपचार गराउने पैसा नै थिएन। काम थिएन, बोलाउने र बोल्ने कोही थिएन, र आर्थिक अभावले गर्दा खाना खाने पैसा समेत नहुँदा सडकमै बस्नुपर्ने बाध्यता आइपरेको रहेछ। कोरियामा सडकमा बस्ने व्यक्तिहरुका लागि वितरण गरिने खाना उनले कोरियनकै रुपमा वर्षौं गुजारा गर्नुभएको जस्तो लाग्यो। कठ्यांग्रिने जाडोले हात–खुट्टाका औँला जमेको थाहा नै नपाई अवस्था झन् बिग्रँदै गयो। चिसोले औंला कालो भएर अन्ततः काट्नुपर्ने अवस्थामा पुगेको कुरा डाक्टरले बताउनुभयो।
डाक्टरको एउटा वाक्यले झन् मन पोल्यो—
“एक दिन मात्र अगाडि आउनुभएको भए, औँलाहरु बचाउन सकिन्थ्यो।”

पछि थाहा भयो कि अस्पताल खर्च कोरियाका विभिन्न कोरियन संस्थाहरु र अस्पतालकै सहयोगबाट मिलाउन सक्ने सम्भावना भएको छ, यद्यपि अझ विस्तृत जानकारी अझै बुझ्न बाँकी नै छ।

यस्तो कठिन अवस्थामा ती कोरियन व्यक्तिहरु, जसले उनलाई त्यो हिड्नै नसक्ने अवस्थामा पनि अस्पताल पुर्‍याए, र ती नेपाली दाजु, जसले मलाई सम्पर्क गर्नुभयो—यी सबै मानिसहरु हाम्रो जीवनमा कहिलेकाहीँ स्वर्गदूतझैँ आएर हात थामिदिने सहारा हुन् जस्तो लाग्यो। जब हामी पूर्ण रुपमा भत्किन्छौँ, तब परमेश्वरले यिनै मानिसहरु पठाएर हामीलाई उठ्न, बाँच्न र फेरि आशा गर्न सक्ने शक्ति दिनुहुन्छ।

ती भाइ किन परिवारसँग सम्पर्कविहीन हुनुभयो भन्ने कुरा अझै पूर्ण रुपमा खुल्न सकेको छैन। तर यो पीडा केवल उनको मात्र होइन, सायद उनको परिवारको जीवनमा पनि गहिरा घाउ र नबोलेका कथाहरु लुकेका छन्। हरेक टुटेको सम्बन्धको पछाडि नदेखिने पीडा हुन्छ—जसलाई बुझ्न धैर्य, करुणा र निस्वार्थ प्रेम अत्यावश्यक हुन्छ।