यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

परदेशको जाडो

— दक्षिण कोरियामा प्रवासी जीवनको अनुभूति

दक्षिण कोरियामा पहिलो पटक पाइला टेक्दा, नेपालमा कहिल्यै अनुभूत नगरेको चिसो हावा र कठ्याङ्ग्रिने जाडोले मलाई स्वागत गर्‍यो। मोटो लुगा लगाउँदा पनि शरीरभित्रसम्म चिसो पसिरहेको अनुभूति हुन्थ्यो। त्यो जाडो केवल मौसमसँग सीमित थिएन; नयाँ देश, नयाँ भाषा र अपरिचित जीवनसँग जोडिएको मानसिक चिसोपन पनि त्यत्तिकै गहिरो थियो।

तर समयको क्रमसँगै तातो कफी र दक्षिण कोरियाली घरको ओन्डोल प्रणालीले शरीर मात्र होइन, मन पनि न्यानो बनाउँदै लग्यो। जाडोसँग संघर्ष गर्नुभन्दा त्यसलाई बुझ्दै स्वीकार गर्ने जीवनशैली मैले यहीँ सिकेँ। यस प्रक्रियामा दक्षिण कोरियाली समाजले मौसमअनुसार अपनाउने व्यावहारिक जीवन पद्धतिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो।

दक्षिण कोरियाली खानासँगको पहिलो भेट पनि सहज थिएन। अपरिचित सामग्री, फरक स्वाद र अनौठो पाकशैलीका कारण प्रारम्भमा समायोजन गर्न कठिनाइ भयो। तथापि, समय बित्दै जाँदा ती स्वादहरु परिचित बन्दै गए। विभिन्न दक्षिण कोरियाली परिकारहरु स्वाद लिँदै जाँदा नयाँ सांस्कृतिक अनुभूति प्राप्त भयो। विशेष गरी कोरियनहरु एउटै टेबलमा बसेर भोजन गर्ने संस्कृतिले गहिरो प्रभाव पारेको छ। यहाँ भोजन केवल पोषणको साधन मात्र नभई, मानिसहरुबीच संवाद, आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रुपमा स्थापित रहेको पाइन्छ। यसबाट दक्षिण कोरियाली समाजको मानवीय न्यानोपन र सामाजिक एकतालाई नजिकबाट अनुभूत गर्न सकियो।

दक्षिण कोरियामा अध्ययनलाई निरन्तरता दिन आर्थिक पक्ष ठूलो चुनौतीको रुपमा उभियो। त्यस कारण कलास नभएको समय र सप्ताहन्तमा रेस्टुरेन्टमा काम गर्ने, उत्पादनमूलक उद्योगमा श्रम गर्ने तथा धार्मिक संस्थामा सेवा प्रदान गर्ने जस्ता विविध कार्यमा संलग्न हुनुपर्‍यो। यी अनुभवहरुले केवल आर्थिक सहायतामात्र प्रदान गरेनन्, बरु दक्षिण कोरियाली समाजभित्र प्रवेश गरी त्यसको कार्यसंस्कृति र सामाजिक संरचना बुझ्ने अवसर पनि प्रदान गरे।

यसै क्रममा विदेशी कल्याण केन्द्रमा परामर्शदाताको भूमिकामा कार्य गर्ने अवसर प्राप्त भयो। उक्त कार्यले आप्रवासीहरुले सामना गर्ने तलबसम्बन्धी समस्या, सेवानिवृत्ति लाभको अन्योल, औद्योगिक दुर्घटनाबाट उत्पन्न पीडा जस्ता यथार्थ अवस्थाहरु नजिकबाट बुझ्न मद्दत गर्‍यो। ती अनुभवहरुले म स्वयंले भोगेको परदेशी जीवनको संघर्षलाई पुनः स्मरण गराए। प्रवासीहरुलाई दक्षिण कोरियाली समाजमा थप सहज र सुरक्षित रुपमा समायोजन गर्न सहयोग गर्न सक्नु अत्यन्तै अर्थपूर्ण र सन्तोषदायी अनुभूति रह्यो।

व्यक्तिगत जीवनमा भने भिसा विस्तार तथा स्थायी निवास अनुमति प्राप्त गर्ने प्रक्रिया अत्यन्त जटिल र मानसिक रुपमा बोझिलो रह्यो। आवश्यक कागजातहरुको तयारी, प्रशासनिक प्रक्रिया र अनिश्चित भविष्यप्रतिको चिन्ताले धेरै चुनौतीहरु उत्पन्न गर्‍यो। तथापि, वरपरका सद्भावपूर्ण व्यक्तिहरुको सहयोग र प्रोत्साहनका कारण ती सबै प्रक्रियाहरु सफलतापूर्वक सम्पन्न गर्न सकियो। यस अनुभवले भविष्यमा आइपर्ने चुनौतीहरुलाई सकारात्मक दृष्टिले ग्रहण गर्ने मानसिक दृढता विकास गर्‍यो।

स्थायी निवास अनुमति प्राप्त गरेपछि जीवनमा स्थिरता मात्र होइन, सामाजिक उत्तरदायित्वको अनुभूति पनि थप गहिरो भयो। अब मेरो दृष्टि व्यक्तिगत सुरक्षामा सीमित नरही, प्रवासी समुदाय र उनीहरुको परिवारप्रति दीर्घकालीन योगदान दिने दिशामा केन्द्रित हुन थालेको छ। ठूला योजना निर्माण गर्दै, प्रवासी समाजको सशक्तीकरणमा भूमिका निर्वाह गर्ने लक्ष्य स्पष्ट बन्दै गएको छ।

आज म नेपाल र दक्षिण कोरिया बीचको एउटा सांस्कृतिक साँघुको भूमिकामा उभिएको अनुभूति गर्दछु। दुई समाज र दुई संस्कृतिको बीचमा रहेर प्रवासी जीवनलाई बुझ्ने, सम्मान गर्ने र जोड्ने यात्रामा निरन्तर अग्रसर छु। यो यात्रा सरल थिएन, तर प्रत्येक कठिन क्षणले मलाई अझ सबल बनायो। अब यही मार्गमा अघि बढ्दै, अझ धेरै मानिसहरुको जीवनमा आशा, विश्वास र मानवीय न्यानोपन फैलाउने उद्देश्यका साथ जीवन यापन गर्ने संकल्प लिएको छु।


मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

 मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन।
जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, चोरी–डकैती, प्राकृतिक विपत्तिजस्ता असंख्य परिस्थितिहरु अचानक आइपर्छन्। यस्ता क्षणहरुमा मनभित्र थुप्रिएका पीडामध्ये धेरै कुरा बाहिर पोख्न सकिँदैन, र मानिस मौन भएर आफ्नै पीडासँग बाँच्न बाध्य हुन्छ।

कहिलेकाहीँ समस्या व्यक्त गर्ने सामर्थ्य हुँदैन, त कहिले आर्थिक अभावकै कारण समस्या हुँदा साथी–संगी र परिवारका सदस्यहरु समेत टाढा जान्छन्। सम्बन्धहरु कमजोर बन्छन्, सम्पर्क टुट्छ, र विश्वास हराउँदै जान्छ। वरिपरि यस्ता मानिसहरु पनि हुन्छन्, जसमा न अरुलाई भरोसा गर्न सकिन्छ, न त आफैँलाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ। अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ परिवारभित्रै—पति–पत्नी, छोरा–छोरी, बुवा–आमा, इष्टमित्रहरुबीच—समेत विश्वास कमजोर हुन्छ, सम्बन्ध चिसिन्छ, र दूरी बढ्दै जान्छ। यस्ता अवस्थाहरुले मानिसलाई गहिरो एक्लोपन र असहायपनको अँध्यारो खाडलमा धकेलिदिन्छ।

यस्तै एक घटनाले केही समयअघि मलाई अत्यन्तै स्तब्ध बनायो। नेपालबाट आएको एउटा खबरले मन भारी बनायो। करिब १८ वर्षदेखि नै परिवारसँग सम्पर्कविहीन रहनुभएका एक जना नेपालीको अवस्था अत्यन्तै दयनीय रहेको थाहा भयो। परिवारका कुनै सदस्यले कोरिया तथा नेपाल बाहिरको देशबाट फेसबुकमार्फत ती भाइ कोरियाको एक अस्पतालमा भर्ना भएको र खुट्टा काट्नुपर्ने गम्भीर अवस्थामा पुगिसकेको जानकारी पाउनुभएछ।

नेपालबाट एक जना दाजु मसँग सम्पर्कमा आउनुभयो र भारी मनले भन्नुभयो,
“कृपया कोरियाको अस्पतालमा बुझिदिनुस्।”

म काममा अलि व्यस्त भएकाले एक दिनपछि मात्र अस्पतालमा सम्पर्क गर्न सकेँ। तर ती भाइसँग कुनै प्रत्यक्ष सम्पर्क माध्यम थिएन—न फेसबुक, न फोन नम्बर। अस्पतालमा बुझ्न जन्ममिति वा कोरियन नाम चाहिन्थ्यो, तर अस्पतालको नामबाहेक अरु कुनै विवरण थिएन। सुरुमा अस्पतालले जानकारी दिन असमर्थता जनायो। ती भाइ नेपाली नागरिक भएको, भिसा पनि नहुन सक्ने अवस्था भएको, र पछि अस्पताल खर्चसम्बन्धी समस्या आउन सक्ने सम्भावना हुन सक्ने बताए पछि मात्र थप समन्वय गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न सकियो।

पछि ती भाइलाई हेरचाह गर्ने नर्ससँग सम्पर्क भयो र बेलुका काम सकेपछि भेट्न सकिने व्यवस्था मिलाइयो। म बेलुका करिब ८ बजे अस्पताल पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले मन चिरियो। ती भाइको अवस्था अत्यन्तै नाजुक थियो। उहाँ सन् २००८ मा E-9 भिसामा कोरिया आउनुभएको रहेछ। त्यसपछि भिसासम्बन्धी समस्या आएपछि, विभिन्न कारणले परिवारसँग सम्पर्क टुटेको जस्तो मेरो बुझाइ भयो। उहाँले सबै कुरा खुलाउनु भएन, तर उहाँको मौनताले नै धेरै पीडाका कथा बोलिरहेको थियो।

सुगर रोग र कठ्यांग्रिने जाडोको असरले उनको शरीरका २० औँलामध्ये ७ वटा औँला काट्नुपर्ने अवस्थासम्म पुगेको रहेछ। २०२६ जनवरी २९ तारिख बिहान ९ बजे शल्यक्रिया तय गरिएको छ। उनीसँग न भिसा छ, न पासपोर्ट, न बस्ने निश्चित ठाउँ, न त चिनजानका नेपाली साथीहरु नै। जीवनले उनलाई सडकसम्म ल्याइपुर्‍याएको रहेछ।

सुगर भएको कुरा आफैँलाई पनि थाहा नभएकै कारण औँलामा समस्या बढ्दै गएको रहेछ। पीडा हुँदाहुँदै पनि उपचार गराउने पैसा नै थिएन। काम थिएन, बोलाउने र बोल्ने कोही थिएन, र आर्थिक अभावले गर्दा खाना खाने पैसा समेत नहुँदा सडकमै बस्नुपर्ने बाध्यता आइपरेको रहेछ। कोरियामा सडकमा बस्ने व्यक्तिहरुका लागि वितरण गरिने खाना उनले कोरियनकै रुपमा वर्षौं गुजारा गर्नुभएको जस्तो लाग्यो। कठ्यांग्रिने जाडोले हात–खुट्टाका औँला जमेको थाहा नै नपाई अवस्था झन् बिग्रँदै गयो। चिसोले औंला कालो भएर अन्ततः काट्नुपर्ने अवस्थामा पुगेको कुरा डाक्टरले बताउनुभयो।
डाक्टरको एउटा वाक्यले झन् मन पोल्यो—
“एक दिन मात्र अगाडि आउनुभएको भए, औँलाहरु बचाउन सकिन्थ्यो।”

पछि थाहा भयो कि अस्पताल खर्च कोरियाका विभिन्न कोरियन संस्थाहरु र अस्पतालकै सहयोगबाट मिलाउन सक्ने सम्भावना भएको छ, यद्यपि अझ विस्तृत जानकारी अझै बुझ्न बाँकी नै छ।

यस्तो कठिन अवस्थामा ती कोरियन व्यक्तिहरु, जसले उनलाई त्यो हिड्नै नसक्ने अवस्थामा पनि अस्पताल पुर्‍याए, र ती नेपाली दाजु, जसले मलाई सम्पर्क गर्नुभयो—यी सबै मानिसहरु हाम्रो जीवनमा कहिलेकाहीँ स्वर्गदूतझैँ आएर हात थामिदिने सहारा हुन् जस्तो लाग्यो। जब हामी पूर्ण रुपमा भत्किन्छौँ, तब परमेश्वरले यिनै मानिसहरु पठाएर हामीलाई उठ्न, बाँच्न र फेरि आशा गर्न सक्ने शक्ति दिनुहुन्छ।

ती भाइ किन परिवारसँग सम्पर्कविहीन हुनुभयो भन्ने कुरा अझै पूर्ण रुपमा खुल्न सकेको छैन। तर यो पीडा केवल उनको मात्र होइन, सायद उनको परिवारको जीवनमा पनि गहिरा घाउ र नबोलेका कथाहरु लुकेका छन्। हरेक टुटेको सम्बन्धको पछाडि नदेखिने पीडा हुन्छ—जसलाई बुझ्न धैर्य, करुणा र निस्वार्थ प्रेम अत्यावश्यक हुन्छ।