यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Thursday, May 26, 2022

मैले टेकेका ती पाईला (ג'יימס בן חכמה)


मैले टेकेका ती पाईलाहरु धेरै पैले

काँडेतारका बाटाहरुमा,
किताबमा,किताबमा,फेरि पनि किताबमा
चश्मा धेरी किन्ने पैसा नहुँदा
एक्लो अवस्थामा वैँश रुँदा,
आँखा पुछ्दै आँखा गाड्दै
अमूल्य अक्षरका गाडधनहरुमा
घण्टौँ घोरिएर सिकेका अल्प ज्ञानहरुको
लौरो टेकेर ,होमर झैँ छामछुम गर्दै
एक्लै,बिल्कुल एक्लै, विरानो संसारमा
विचरण गर्दै छु!
न मेरा बाजेले,न त मेरा बराजुले
कहिल्यै टेक्न नपाएका भूभागहरुमा
तिनै गाडधनहरु खर्चँदै
आकाशमा उड्ने पँक्षी झैँ
बेला बेला यो गोलार्धदेखि
त्यो गोलार्धसम्म उडिरहेको छु
बराजुले बोकेका ढाकर र तोक्माहरुलाई
विधिपूर्वक अगेनामा जलाई
एक्लै, अँ ,एक्लै, ढल्दै उठ्दै अघि बढिरहेको छु।
हो, चश्मा बिना अब म अक्षरका मोतीहरु
ज्ञानमालामा उन्न नसक्ने भएको छु
तै पनि सिक्ने र सिकाउने जीजिविशाको आलोकमा
भर्भराउँदो भर्खरको तन्नेरी भएको छु!